OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
संजीव गाउँलेआषाढ २६, २०७७जुम्ला
१३७५ पटक

यो कस्तो पहाड !

आकाश गड्किरहेछ
मानौं सदनमा ताली पड्किरहेछ
मौसम सक्रिय छ क्यार !
जताततै बादलले ढपक्क ढाक्दा
केही छोपिएको छ
केही ढाकिएको छ
वर्षाको वरदानले
अझै रङ्गिन बनेको छ
संसार सामु , सर्वनग्न यो पहाड !

पहाड !
मानौं अभिमानको प्रतीक हो ,
आडम्बरीहरूको लागि एक बिम्ब हो
सधैं गजधम्म परेर
मनमनै सोच्दो हो !
कसैले छुन सक्दैन ,
प्रतिरोधी त हुनै सक्दैन,
अटल !
अनल !
पानीदेखि खानीसम्म आफैभित्र छ
हेरन ? कैयौं अनमोल अनि विचित्र छ ।
आँधीले हल्लाउन सक्दैन
बाढीले गलाउन सक्दैन
सृष्टिको समाप्ति बाहेक
कसैले चलाउ नै सक्दैन
सायद यस्तै यस्तै सोच्दो हो, यो पहाड !
साँच्चै यो कस्तो पहाडरु

आफूभित्रको गडबडी
आफैलाई पत्तो छैन
र त ! आफ्नै तालुबाट ज्वालामुखी फुट्न पनि सक्छ
भुकम्पले कैयौं करङ टुट्न पनि सक्छ
तर पनि स्वभावमा टसमस हुँदैन
शुभेच्छा, सुझावले छुँदैन
मानौं अहङकारले अग्लिएको छ यो पहाड !
साँच्चै यो कस्तो पहाड !

बादलका हुल देखेर
बाढी आउन सक्ने,
पहिरो जान सक्ने
चट्याङले ज्यान लान सक्ने
विद्वानहरूको खबरदारीलाई
हावादारी बनाइदिन्छ र त !
चट्याङले पारेका घाउको प्रवाह गर्दैन
आफ्नै छाती चिरेर खसेको पहिरोले
आफैलाई कति जीर्ण बनायो
कति क्षीण बनायो
कति कुरूप बनायो
कुनै हेक्का नराखी
चिच्याहट र कोलाहलको पार्शव ध्वनिमा
असिना झार्न सक्ने ,
झरी पार्न सक्ने
ती बादलका हुलहरूलाई
उपहासको एक नजरले डस्दैछ
अझै यो पहाड !
साँच्चै यो कस्तो पहाड !

रणबहादुर रावत (संजीव गाउँले)

प्रतिकृया दिनुहोस्