OnlinePana

आज : २०८३ साउन ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ४, २०८३काठमाडौं
२३ पटक

४ साउन २०८३, सोमबार

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको ग्राफ बर्सेनि बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ भन्दा आव. २०८१÷०८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको उल्लेख छ ।

त्यस्तै, आव.२०८१÷०८२ भन्दा आव.२०८२÷०८३ सालमा एक दशमवल १५ प्रतिशतले अपराध संख्या बढेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका इलाका प्रहरी कार्यालयहरुको पछिल्लो तीन आर्थिक वर्षको अवधिमा यहाँ कुल दुई हजार ६०३ वटा अपराधजन्य मुद्दा दर्ता भएका छन् । यो परिणामले समाजमा अपराधिक प्रवृति बढ्दै गएको देखाउँछ ।

कर्णाली प्रदेशको सबैभन्दा विकसित मानिने राजधानीको जिल्ला सुर्खेतको मुद्दा संख्यालाई नियाल्दा आव.०८०÷८१ मा ८२०, ०८१÷८२ मा ८३४ र ०८२÷८३ मा ९४९ दर्ता भएको देखिन्छ । जसमा लागुऔषध, जघन्य अपराध (जबरजस्तीकरणी) र आत्महत्यासँग सम्बन्धित घटनाहरु अन्य भन्दा बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार लागुऔषधसँग सम्बन्धित घटनामा त पछिल्लो समय बालबालिका पनि संलग्न भएको पाइएको छ । आव. ०८०÷८१ मा लागुऔषधसँग सम्बन्धित १९२ मुद्दा दर्ता हुँदा त्यसमा चार बालक संलग्न थिए । ०८१÷८२ मा ३०६ मुद्दा दर्ता हुँदा एक बालक र आव ०८२÷०८३ मा ४२१ मुद्दा दर्ता हुँदा सात बालक र दुई बालिका संलग्न रहेको पाइएको छ ।

जघन्य अपराध मानिने जबरजस्तीकरणीका घटनाहरु पनि सुर्खेतमा बढ्दो अवस्था रहेको पाइएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । “आव.०८०÷८१ मा ८२०, ०८१÷८२ मा ८३४ र ०८२÷८३ मा ८५, ६८ र ९१ गरी कुल २४४ वटा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता भए,” उहाँले भन्नुभयो, “आव ०८०÷८१ देखि ०८२–८३ सम्म १९ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भए । जसको संख्या पनि बढ्दो देखिन्छ ।”

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीन आर्थिक वर्षमा घरेलु हिंसाका एक हजार ३८२, सामाजिक हिंसासम्बन्धी एक हजार ३५७ मुद्दा दर्ता भएका थिए । आव.०८२÷०८३) मा विद्युतीय ठगी, सामाजिक सञ्जाल फेसबुक ह्याक र मोबाइल चोरीलगायतका ७९१ मुद्दा दर्ता भएका गरिएको थियो ।

आत्महत्याको अवस्था डरलाग्दो

पछिल्लो समयमा सुर्खेतमा आत्महत्या गर्नेहरुको संख्या वृद्धि हुने अवस्था निकै डरलाग्दो र चुनौतिपूर्ण बन्दै गएको छ । प्रहरी उपरीक्षक पोखरेलका अनुसार सुर्खेतमा वार्षिक सरदर ११० जनाले आत्महत्या गरेको तथ्याङ्क छ । जसअनुसार आव ०८०÷८१ मा १११ जना, ०८१÷८२ मा ११४ जना र ०८२÷८३ मा १०७ गरी कुल ३३२ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गरेका ३३२ मध्ये २९५ जना (८९ प्रतिशत)ले झुण्डिएर आत्महत्या गरेको उहाँले बताउनुभयो ।

संगठित तथा आर्थिक अपराध पनि सुर्खेतमा त्यत्तिकै बढ्दै गएको गएको छ । तीन आर्थिक वर्षमा क्रमश १३, १९ र १८ ठगीका र सवारी अपराधलाई हेर्दा सवारी ज्यानसम्बन्धी १९, २५ र ३१ घटना दर्ता भएको प्रहरी तथ्याङ्क छ ।

यसरी विभिन्न खाले अपराधजन्य घटना वृद्धि हुनुका मुख्य कारणहरुमा बढ्दो सहरीकरण, बेरोजगारी, सामाजिक सञ्जालको नकरात्मक प्रभाव, सहरिया जीवनशैलीको देखासिकी र असावधानीपना भएको उहाँले बताउनुभयो । समाजमा घट्ने विभिन्न खाले सामाजिक अपराधका घटना न्यूनीकरणमा प्रहरी एक्लैको प्रयासले हुन नसक्ने भन्दै प्रहरी उपरीक्षक पोखेरेलले तीन तहका सरकारहरुको आपसी समन्वय एवं सहकार्य र राज्यका सबै अंगहरुको उत्तिकै दायित्व रहेको जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्