OnlinePana

आज : २०८३ साउन ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ४, २०८३काठमाडौं
१६ पटक

४ साउन २०८३, सोमबार

सुर्खेतः कर्णाली प्रदेशको सडक सञ्जाल, भौतिक संरचना तथा पूर्वाधार विकास अवस्थाको स्थलगत अनुगमन तथा निरीक्षणका लागि करिब एक साताको प्याकेजसहित स्थलमार्गबाट यात्रा तय गर्नुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आज हुम्लाको सदरमुकाम सिमकोट पुग्नुभएको छ ।

मन्त्री लम्साल कर्णाली राजमार्गअन्तरगत सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लाको अनुगमन यात्रा सकेर मुगुहुँदै आज हुम्ला पुग्नुभएको हो । यात्राका क्रममा कर्णाली राजमार्गलगायत सहायक मार्गहरु, कृषि सडक, पुल, खानेपानी, सिंचाई आयोजना तथा विद्यालयका संरचनाहरुको मन्त्री लम्सालले अनुगमन गर्नुभएको छ ।

मुगु जिल्लाको सडक अवलोकन गर्दै हुम्ला पुग्नुभएका उहाँले स्थलगत अनुगमन तथा निरीक्षणको क्रममा सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सडक कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, निर्माण व्यवसायी र नागरिकसँग छलफल, अन्तरक्रिया गरी उनीहरुका आवश्यकता, माग र सुझाव संकलन गरिएको राससलाई बताउनुभयो ।

मन्त्री लम्सालले भन्नुभयो, “स्थलगत अनुगमन तथा निरीक्षणको क्रममा कर्णालीबासीमा मैले जिज्ञासा राखे कि तपाईहरु कर्णालीको विकासका लागि सरकारले केके गरिदेओस् भन्ने चाहानुहुन्छ । तत्काल तपाईका समस्या र खाँचो के हुन् जुन सरकारले चाँडै गरिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ? यी यस्तै जिज्ञासा र प्रश्न गर्दै कर्णालीका जनताहरुको वास्तविक समस्या र राखेका मागहरुलाई नोट गर्ने काम भयो । धेरै सुझावहरु संकलन गरिएको छ ।”

मूलतः सरकारले यो ठाउँको विकासका निम्ति के के गर्देओस् भन्ने चाहानुहुन्छ ? भन्ने जिज्ञासामा कर्णालीबासीले दुई लेनको कर्णाली राजमार्ग, सडक सञ्जाल जोड्नुपर्ने, पुल, खानेपानी, सञ्चार, सिंचाई, विद्यालय निर्माण गर्नुपर्ने लगायतका आवश्यकता समेटिएका माग राखेको मन्त्री लम्सालले बताउनुभयो ।

कर्णालीका नागरिकहरुले यहाँका सडकलगायतका पूर्वाधारको अवस्था र नागरिकहरुको समस्या तथा आवश्यकता नजिकबाट बुझेर त्यसको प्राथमिकीकरण गरी तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानको योजना बनाउने उद्देश्य राखेर कर्णाली यात्रामा हिडेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रीका स्वकीय निर्मल ज्ञावलीले बजेट विनियोजन गरिएका सडक, कामको अवस्था थपघट गर्नुपर्ने विषयमा अध्ययन गरिएको बताउनुभयो । यसअघि खारेज गरिएको जुम्लामा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पुनः सञ्चालन प्रतिबद्धता मन्त्री लम्सालले गर्नुभएको उहाँले जनाउनुभयो ।

नेपालकै विशाल र प्राकृतिक सुन्दरता बोकेको मुगुको राराताल, पर्यटकीय सम्भावना बोकेको जुम्लाको गुठीचौर क्षेत्र, चन्दननाथ बाबाको मन्दिर समेत अवलोकन गर्नुभएको थियो । मन्त्री सचिवालयका अनुसार कर्णाली राजमार्गको वास्तविक समस्या नजिकबाट बुझेर सडक निर्माणको खाका तयार गर्ने हेतुले मन्त्री लम्सालले आफैँ सवारी चलाएर स्थलगत निरीक्षणमा सहभागी हुनुभएको हो ।

 

प्रतिकृया दिनुहोस्