OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सञ्जीव गाउँले आषाढ २४, २०७७जुम्ला
९०३ पटक

 

‘आउनुहोस् राष्ट्रवादको कुरा गरौँ’

राष्ट्रवादी बन्न केही गर्नु पर्दैन,
असम्भव जंघार तर्नु पर्दैन,
परिवर्तनको कुनै शिखर चढ्नु पर्दैन,
माटोको निम्ति मर्नु पर्दैन,
राष्ट्रवादी बन्न केही गर्नु पर्दैन,
आउनुहोस् राष्ट्रवादको कुरा गरौँ ।

कहिले उत्तरतिर धारेहात लाए पुग्छ,
कहिले दक्षिणतिर धारेहात लाए पुग्छ,
कहिले पर पश्चिमतिर धारेहात लाए पुग्छ,
राष्ट्रवादी बन्नु क्षद्मभेषमा पारङगत हुने कला जस्तै हो,
मौसम अनुसार रङ फेर्न आए पुग्छ,
समय आउँदा धारेहात लाए पुग्छ,
आउनुहोस् राष्ट्रवादको कुरा गरौँ ।।

मिचिएको सिमानामा,
मुक्तिको कसमले बनेका क्रान्तिकारी बम समेत पड्किन डराउँछन्<
चोक र चौतारामा घन्किने राष्ट्रवादका नारा खै कता पो हराउँछन् ?
त्यसैले अरूले सीमा मिचे फरक परेको छैन,
आफैले देश बेचे फरक परेको छैन,
कसैले आमाको गला थिचे फरक परेको छैन,
त्यसैले आउनुहोस् राष्ट्रवादको कुरा गरौँ ।।।

परिवर्तनको आशा,
विकासको परिभाषा,
कोशी ,गण्डकी र महाकालीमा बगाउँदै
आत्मरतिको प्याला पिएर,
समृद्धिको सपना सजाउँछौँ,
अनि बन्दैनौँ स्वावलम्बी,
स्वाभिमान घोक्न थालेर
इतिहास बिर्सन्छौँ,
पहिचान खोज्न थालेर
गासको जोहो ,
बासको बन्दोबस्त गर्न
दुस्मनको दैलो चहार्दै
अभाव र गरिबीले चाउरिएका , दाउरिएका,
झिना शरीर लघार्दै,
आउनुहोस् राष्ट्रवादको कुरा गरौँ ।।।।

देश बेचेपनि राष्ट्रवादी बन्न सकिन्छ
दानसँग अस्मिता सुम्पदा पनि स्वाभिमानी भन्न सकिन्छ
गोरखकाली जस्तै,
तमाम उद्योगहरू बन्द हुन् या धरासायी हुन् ,
राष्ट्रलाई कर छल्ने,
स्वास्थ्यदेखि शैक्षिक उद्योग खोल्ने,
चाहे आफ्नै ठूला व्यवसायी हुन्
यहाँ पेटभरि खान नपाएर,
पैसाविना बिरामी अस्पताल जान नपाएर,
कोही जहान पाल्न नसकेर,
भत्किएको छानो टाल्न नसकेर,
भएको रिन फाल्न नसकेर,
गरिब किसानहरू अकालमै परलोक भएपनि
भिमसेनको अन्त्य गर्न उद्दत रहेको,
जंगेको उदय कसरी भएको रु
केही नबुझी ताली ठोक्नेहरूको संसार छ,
रावणलाई नि राम मानेर बोक्नेहरूको संसार छ,
त्यसैले आउनुहोस राष्ट्रवादको कुरा गरौँ ।।।।।

रणबहादुर रावत (संजीव गाउँले)

प्रतिकृया दिनुहोस्