OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०७७सुर्खेत,
७५० पटक

 ११ असार २०७७, बिहीबार

तीन महिनादेखि व्यवसाय बन्द भएको भन्दै होटल व्यवसायी सङ्घ सुर्खेतले ब्याज मिनाह दिन सरकारसँग माग गरेको छ ।

कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैंकको ब्याज मिनाह गर्न सरकारसँग माग गरेको हो । ब्याज मिनाहसँगै सङ्घले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सङ्घले व्यवसायीहरुले घर भाडा र बैंकको ब्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको दुखेसो गरेको छ ।

सङ्घका अध्यक्ष गोरख रावतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भएको छ, “सुर्खेत जिल्लामा मात्रै एक हजार २५० भन्दा बढी होटलहरु छन् । यसमा करिब छ हजार बढी जनशक्तिले रोजगारी पाईरहेको अवस्था छ । बन्दाबन्दीका कारण होटल व्यवसाय बन्द हुँदा नागरिकको रोजगारी मात्रै गुमेको छैन्, अर्बौैंको नोक्सानी भएको छ ।”

सङ्घले होटल व्यवसायीहरु सबैभन्दा बढी घरभाडाको मारमा परेकाले लकडाउन अवधिभरको घरभाडा पूर्णरुपमा र संक्रमणकाल रहुञ्जेलसम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न सरोकारवालाहरुसँग आग्रह गरेको छ । अध्यक्ष रावतले छुटका लागि घरधनीहरुलाई समेत राहत पुग्ने गरी विशेष कोषमार्फत सम्बोधन गर्न सरकारसँग माग गरिएको जनाउँदै अहिलेकै अवस्थामा घर भाडा तिर्न नसकिने बताउनुभयो ।

सङ्घद्वारा होटल व्यवसाय अरु व्यवसाय जस्तो लकडाउन खुल्नासाथ पहिलेको अवस्थामा नै सुचारु भई सामान्य अवस्थामा आउने संभावना नभएकाले संक्रमण अवधिभर बिजुली पानीको महसुल कम्तिमा एक वर्षका लागि छुट र टेलिफोन, इन्टरनेटलगायतका महसुलमा विशेष सहुलियतको व्यवस्था गर्न माग गरिएको छ ।

सङ्घका महासचिव जनकबहादुर सिंहले एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिन सरकारसँग माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “होटल व्यवसायमा संलग्न व्यवसायीहरुले बैंक र वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य स्रोत यही व्यवसाय मात्र हो । जुनसुकै शीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयावधि कम्तिमा दुई वर्ष थप गरी उक्त अवधिभरको ब्याजमा सहुलियत दर कायम गराई साँवामा गाभिदिने व्यवस्था गर्न सरकारसँग माग गर्दछौं ।”

उहाँले अहिलेसम्म कुनै पनि किसिमको व्यवसायिक सुविधा नपाएकाले तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मूल्याङ्कन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन सरकासँग आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्