OnlinePana

आज : २०८३ साउन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २०, २०८३काठमाडौं
८३ पटक

२० असार २०८३, शनिबार

सुर्खेतः कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा ‘नेपाल लेजेन्ड्स र कर्णाली लेजेन्ड्स’बीच प्रतिस्पर्धा हुने भएको छ ।

ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा यही असार २७ गते शनिबारका दिन नेपालका पूर्व राष्ट्रिय खेलाडीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सञ्चालन गर्न तयारी भएको एकेडेमीका अध्यक्ष शशी केसीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्कालगायत चर्चित खेलाडीहरुको सहभागिता हुने उहाँले बताउनुभयो । अध्यक्ष केसीका अनुसार कर्णाली प्रदेशमै पहिलो पटक पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागितामा राष्ट्रियस्तरमा खेल आयोजना गर्न लागिएको हो ।

कर्णालीमा फुटबलप्रतिको आकर्षण बढाउने, स्थानीय प्रतिभालाई पहिचान गर्ने तथा पूर्व खेलाडीहरुको सम्मान तथा कर्णालीले पनि राष्ट्रियस्तरको खेल सञ्चालन गर्न सक्छ भन्ने विश्वास दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँको जनाउनुभयो । प्रतियोगिताले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न थप उर्जा र दबाब सिर्जना गर्ने विश्वास लिइएको छ ।

त्यसैगरी, कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायतका खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् ।

उहाँका अनुसार प्रतियोगितामा विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीलाई समाजसेवी÷शिक्षाविद् स्व.खड्कबहादुर बस्नेतको नाममा ‘म्यान अफ द म्याच’, शिक्षाविद् स्व.विष्णुप्रसाद गौतमको नाममा ‘बेस्ट प्लेयर’, समाजसेवी स्व.डीबी समदर्शीको नाममा ‘बेस्ट गोलकिपर’, शिक्षाप्रेमी÷समाजसेवी स्व.डा.सञ्जु खाती (खड्का)को नाममा ‘बेस्ट डिफेन्डर’ र समाजसेवी स्व.डा.हरि सापकोटाको नाममा ‘बेस्ट स्कोरर’ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको अनुमानित लागत करिब रु.२५ लाख रहेको बताउँदै उहाँले कर्णाली प्रदेश खेलकुद विकास परिषद्बाट रु.एक लाख जतिको सहयोग मिल्ने अपेक्षा भएपनि त्यसको सबै रकम एकेडेमीले व्यवस्थापन गर्ने अध्यक्ष केसीले जनाउनुभयो । खेल हेर्न विद्यार्थी र अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क प्रवेश र अन्यलाई २००, ३००, ५०० र एक हजार दरको टिकटको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस्