४ बैशाख २०८१, मंगलबार
चन्दननाथ नगरपालिका ५ जुम्ला कालेखोलीस्थित एशिया ईन्टरनेश्नल मोडेल ईङ्ग्लिस स्कुलले आधारभूत तहसम्म सूचना र प्रविधि (आईटी)को अध्यययन अध्यापन गर्दै आएको छ । उक्त स्कुलले बिगत एक वर्षदेखि आईटी पढाई सञ्चालनमा ल्याएको हो ।
आईटी पढाई हुन थालेपछि यहाँ अध्ययनरत छात्रछात्राहरु उत्साहित भएका छ्न । सूचना तथा प्रविधिको चरम विकास भईरहेको यो समयमा आईटी पढाई सुरु गरेर सो स्कुलले युगमा एक उदाहरणीय पहलकदमी लिएको छ । युगले मागेको जीवनउपयोगी सीप र क्षमताको विकासका लागि सूचना र प्रविधिसम्बन्धीको ज्ञान धेरै आवश्यक रहेको उक्त विद्यालयका सञ्चालक मनोज बुढाथोकी मगरले जानकारी दिनुभयो ।
“सो स्कुलका एक कक्षादेखि ८ सम्मका विद्यार्थीहरूको कम्युटर सम्बन्धी सीप र ज्ञान हेर्दा कुनै विकसित र सेवासुविधा सम्पन्न क्षेत्रको सूकल भन्दा कम देखिदैन,” उहाँले भन्नुभयो, “जुम्ला भर्खरै विकासको क्षेत्रमा बामे सर्दैछ । यसले सूचना तथा प्रविधिको क्षेत्रमा बालबालिकाहरूलाई यसरी सीप र ज्ञान दिनु भनेको समग्र समाज विकासका लागि ठूलो टेवा पु¥याउनु हो ।”
सामान्यतया दैनिक जीवनमै कम्युटर शिक्षाविना मानिसहरूले यो बदलिदो समय अनुसार चुस्त र दुरूस्त सेवा सुविधा प्राप्त गर्न नसकिरहेको भन्दै सञ्चालक बुढाथोकीले भन्नुभयो, “यस्तो सामाजिक चेतना र अवस्था रहेको बेला यसरी एक नीजि विद्यालयले विद्यार्थीहरुलाई निःशुल्क कम्युटर आईटी शिक्षा र सीप दिनुलाई सामान्य मान्न सकिदैन । जुन कुरा यस विद्यालयले निर्माण गरेको सूचना तथा प्रविधि सम्बन्धी ज्ञान सिकाउने ल्यावमा पुग्दा प्रष्टरुपमा देख्न सकिन्छ ।”
उहाँका अनुसार संसारका विकसित मुलुकहरुले उत्कृष्ट मानव मस्तिष्कहरुमा लगानी गरिरहेका छन भने हाम्रो समाज यस्तो प्रकारको सोच र दुनियाँबाट अझै पर छ । कक्षा एकदेखि नौसम्म सञ्चालित एशिया स्कुलले सूचना तथा प्रविधि र आविष्कारको युग अनुसार काम गर्न र आफ्ना सपनालाई साकार पार्न पहल गरिरहेको छ ।
चन्दनाथ नगरपालिका २ जुम्ला भण्डारीबाडा गाउँनिवासी बरिष्ठ पत्रकार कर्णबहादुर भण्डारीले एशिया स्कुल जुम्लाले निर्माण गरेको आईटी ल्यावलाई हेर्दा यतिसम्म सुविधा सम्पन्न र व्यवस्था भएको स्कुल अहिलेसम्म नदेखेको बताउनुभयो । उहाँले यस्तो प्रकारको सेवा सुविधाबाट यहाँका बालबालिकाहरुले भविश्यमा विश्व बजारसम्म प्रतिस्पर्धा गर्न सक्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “किताबी ज्ञान मात्र सर्वथोक होईन । बाहिरी ज्ञान र सीपले बालबालिकाहरुमा फरक प्रकारको क्षमता वृद्धि भई किताबी ज्ञानप्रतिको रूचि अभिवृद्धि गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।” यसले प्राविधिक विषयको आवश्यकतालाई समेत क्रमश विकास गर्दै लेजाने उहाँले बताउनुभयो ।
उक्त स्कुलमा करिब सातसय छात्रछात्रा अध्यनरत रहेको प्रिन्सिपल चन्द्रबहादुर महतले जानकारी दिनुभयो । कम्प्युटर शिक्षा सम्बन्धी व्यवहारिक सिकाईले शैक्षिक गुणस्तरमा वृद्धि गर्ने भूमिका खेलेकै कारण बालबालिकाहरुको मनोवल वढदै गएको महतले बताउनुभयो । यसको प्रयोगवाट नयाँ घटना, सूचनाहरु संकलन गर्न तथा महत्वपूर्ण कामहरु छिटोछरितो रुपमा सम्पन्न गर्न सहज भएको प्रिन्सिपल महतको भनाई थियो ।
कम्प्युटर शिक्षाको पढाइले कम्प्युटर सम्बन्धी धेरै कुरा सिक्ने अवसर मिलेकोमा विद्यार्थीहरु बताउछन् । सामान्यतः सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीहरु कम्प्युटर शिक्षामा अगाडि रहेको देखिन्छ । सरकारले सामुदायिक विद्यालयमा निःशुल्क कम्प्युटर शिक्षा पाठ्यक्रममा राखेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।
अहिलेको समयमा प्रविधिमैत्री क्षमता भएको विद्यार्थी उत्पादन गर्न तल्लो तहबाट नै कम्प्युटर विषय समावेश गरिएको स्कुलले बताएको छ । आधारभूत तहका सबै बालबालिकाहरुलाई कम्प्युटर विषयको पढाई गर्दै आएको एशिया स्कुलले विद्यार्थीमा जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले निःशुल्क कम्प्यूटर शिक्षा सञ्चालन गरेको हो ।
स्कुलले सैद्धान्तिक र प्रयोगात्मक दुवै किसिमका कक्षा सञ्चालन गर्न स्तरीय ल्याब र दक्ष शिक्षकको प्रबन्ध गरेको छ । उनीहरुले एम एस अफिस ग्रुप, वेब पेज डिजाईन, डेटाबेस म्यानेजमेन्ट, मल्टिमिडिया र ग्राफिक्स डिजाईन जस्ता विषय ल्याबमा बालबालिकाहरुलाई सिकाउँदै आएको शिक्षक बिराज विकले जानकारी दिनुभयो ।
यस बाहेक कम्प्युटरसँग सम्बन्धित व्यक्ति, घटना आदि पनि विद्यार्थीलाई पढाइने गरेको उहाँको भनाई छ । “कम्प्युटर विषयमा सैद्धान्तिक बाहेक प्रयोगात्मक कक्षा पनि छ,” उहाँले भनुभयो, “त्यसले विद्यार्थीको सीप पनि विकास हुने गर्छ । यसै कारण अध्ययन पछि कामको अवसर पनि रहेको छ ।”
आधारभूत तहका कम्प्यूटर सीप नसिकेका विद्यार्थीले माध्यमिक तहमा कम्प्युटर अध्ययन पछि सामान्य काम गर्न सक्ने कम्प्युटर शिक्षक बिक बताउँनुहुन्छ । “विद्यार्थीले फोटोकपी गर्ने, सामान्य फोटोशपको काम गर्ने, टाइपिङ गर्ने जस्ता काम गर्न सक्छन्,” उहाँले भनुभयो “तर उद्देश्य काम गर्ने जनशक्ति उत्पादन गर्ने भन्दा पनि उनीहरुमा आधारभूत सीप विकास गर्नु हो ।”