Skip Add

OnlinePana

आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
शुरबहादुर सिहं बैशाख ३०, २०७७सुर्खेत
१९४ पटक

सुर्खेत, ३० बैशाख २०७७ : समय बदलिएको छ । मानव सोच, अवधारणा र ईच्छाहरु पनि बदलिएका छन् । हिँजो शहर जान चाहने मानिसहरु आज त्यही शहर क्षणभर छोड्न तयार छन् । विश्वव्यापी महामारीकारुपमा फैलिँदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण जारी भएको लकडाउनले शहरमा बस्ने धेरैको गास, बास र कपास खोसिएको छ । आयआर्जनको अवसर प्राप्तिको थलो ठानेर शहर पसेकाहरुलाई अहिले यसबाट निकै सास्ती भएको छ । केही कमाउने आशा र रहरले शहर छिरेका तमाम् ग्रामीण भेकका नागरिकहरुलाई यतिबेलाको कोरोना कहरले अलपत्र पारेको छ ।

लकडाउनले हिजो युरोप, अमेरिका आकर्षित हुने मानव सोच आज विकर्षित भएको छ । अकालमा मृत्यु अति विकसित देशमा पनि हुँदोरहेछ भन्ने बुझाई भएको छ । सम्पन्नताले मात्र मानव जीवन सुरक्षित हुन्न रहेछ भन्ने स्पष्ट भएको छ । अमेरिका, बेलायत, जर्मनी, ईटाली, फ्रान्स, स्पेन, अस्ट्रेलिया, फिलिपिन्स पुगेका नेपालीहरु आफ्नो मातृभूमि आउन आतुर छन् ।

आजभोलि नै भारतबाट करिब ८० हजार मान्छेहरु नेपाल आउने तयारीमा छन् । विभिन्न देशबाट स्वदेश फर्किन पाउँ भन्दै प्रवासी नेपालीहरुले राजदूतावासमार्फत नेपाल सरकारलाई आग्रह गरिरहेका छन् । खाडी मुलुक त नेपालीहरुको झनै रोजगारीका लागि बाध्यकारी बसाई बन्दै गएको छ ।
स्वदेश तथा विदेशमा जब कोरोना भाइरसका बारेमा नागरिकहरुले बुझ्दै गए तब उनीहरुको गाउँ फर्कने क्रम शुरु भयो । गाउँ नै जीवन सुरक्षाको उपयुक्त भूमि हो भन्ने उनीहरुलाई लागेको छ । शहरको जीवन बन्धक जस्तो लागेको छ, धेरैलाई । लकडाउनमा भारत तथा तेस्रो मुलुकबाटै संकटपूर्ण यात्रा गरेर भएपनि गाउ भित्रिनेको क्रम छुटेको छैन । लामो समयदेखि गाउँ छोडेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरु यो महामारीबाट बच्न आफ्नै गाउँठाउँ सम्झँना थालेका छन् ।

बन्दाबन्दीको अवधि दुई महिना पुग्दैछ । विकसित देशमा उत्तम जीवन जीउने सपना बोकेर प्रवासमा गएका नेपालीहरु नेपाल फर्कने योजनामा छन् । सिङ्गो विश्व बन्दाबन्दीले गर्दा नेपाल फर्कने उनीहरुको योजना बन्धकमा परेको छ । धेरै नेपालीहरुले सामाजिक सञ्जालमार्फत नेपाल फर्कने ईच्छा व्यक्त गरेका छन् । स्वदेशमा रहेका धेरैले पनि आफ्नो गाउँ जान पाएका छैनन् ।

बन्दाबन्दीको समयमा घर जान हिडेका तर अलपत्रका परेकाहरुलाई सबै तहका सरकारहरुको सहयोगमा गाउँ पुर्याईएको छ । गाउँमा पुग्नेहरुले यतिबेला निकै सुरक्षित भएको महसुस गरिरहेका छन् । शहरमा बस्नेहरु बन्द कोठाको बसाईलाई बन्दीगृह ठानिरहेका छन् । पट्यार लाग्दो बसाईबाट उत्पादनका धेरै कामहरु बन्द भएका छन् ।
नेपालको पूर्वी भेकका शहर तथा बजारमा व्यापार गर्न हिडेका तिला गाउँपालिका ४ जुम्लाका नन्द सुनारले कोरोनाबाट बच्ने सुरक्षित ठाउँ नै गाउँ ठानेर निकै दुःख कष्टका साथ मातृभूमि फर्केको बताउनुभयो । कोरोनका कारण भएको लकडाउनले सहजै घर पुग्न नपाएर सुनार जस्तै हजारौं मान्छेले कष्ट भोगिरहेका छन् । तरपनि स्वदेशका विभिन्न भूभागबाट फर्केर कर्णालीका गाउँ फर्कने मान्छेहरुको क्रम निरन्तर छ ।

शहरहरु बिस्तारै रित्तिदै गएका छन् । गाउँमा भने मान्छे भरिभराउ छन् । हिडेर वा अन्य कुनै माध्यमबाट शहरबाट गाउँ छिर्ने नागरिकहरुको कमि छैन । हजारौंको संख्यामा मानिसहरु गाउँ पसिसकेका छन् । जसले गर्दा गाउँमा मानिसहरुको भीड छ । यसको प्रमुख कारण नै नोबेल कोरोना भाईरस (कोभिड–१९) को विश्वव्यापी महामारीको त्रास हो ।
विशेषगरी नेपाल गाउँ नै गाउँले बनेको देश भएका कारण यहाँ शहर भन्दा गाउँमा मान्छेको चाप बढेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत बताउनुहन्छ । “यो विपत्तिले धेरैको शहर पुग्ने रहर कोरोना कहरमा परिणत भएको छ,” उहाँ भन्नुहुन्छ, “शहरबाट फर्कनेले कोरोना भाइरसको गलत कोशेली नल्याए गाउँ सुरक्षित नै छन् ।”

नेपाल सरकारले गत चैत्र ११ गते लकडाउन गर्नु पूर्व र त्यसभन्दा पछि नेपालका प्रमुख शहरहरु, काठमाडौं, पोखरा, बीरगञ्ज, विराटनगर, बुटवल, दाङ्, नेपालगञ्ज, सुर्खेतबाट हजारौं नागरिकहरु गाउँ घर फर्के । कर्णाली प्रदेश सरकारले चैत्र ८ गते नै स्वदेश तथा विदेशमा रहेका कर्णालीवासीलाई मातृभूमि फर्कन आह्वान ग¥यो । सोही आह्वान बमोजिम नेपालका विभिन्न शहरहरुमा काम गर्ने, भारतलगायत तेस्रो मुलुकमा गएका यहाँका नागरिकहरुको कर्णाली फर्कने क्रम ह्वात्तै बढ्यो ।

नोबेल कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनले धेरैको रोजीरोटी खोसेको छ । दैनिकी असहज बन्दै गएको छ । स्वदेश तथा विदेशमा धेरै नागरिकहरु अलपत्र अवस्थामा छन् । उद्योगधन्दा, कलकारखाना, विभिन्न आयोजना, होटेल, पसलमा काम गर्ने नागरिकहरु रोजगारविहिन भएका छन् ।

सबै क्षेत्रको कामधन्दा तथा व्यापार व्यवसाय बन्द हुँदा अर्थतन्त्र चौपट बन्दै गएको छ । शहरहरु यतिबेला दिउसै सुतेको भान हुन्छ । अत्यावश्यक वस्तु उपभोगका लागि सरकारले तोकेको समयमा नागरिकहरुको सामान्य आवतजावत बाहेक बाँकी पुरै समय शहर सुनसान देखिन्छ ।
लकडाउनपूर्व मान्छेको भीड र कोलहालपूर्ण शहरहरु यतिबेला रित्तो छन् । सडकमा गाडीको घ्याँ–घ्याँ र घुँ–घँु आवाज सुन्न छोडेको छ । यसको छेउछाउ नजिकका रुखहरुमा कोईलीको कुहुँ..कुहँु र केही चराहरुको चिरबिर आवाज भने राम्रैसँग सुन्न पाईन्छ । फाँटहरु हरियाली बन्दै गएका छन् ।

लकडाउनले फोहोरमा कमी आउँदा नदी तथा खोलानलाहरु कञ्चन भएर बगेका छन् । न यहाँ ध्वनि प्रदुषण छ नत वायु प्रदुषण नै । ध्वनि, वायु, जल, जमीनलगायतका वातावरणीय प्रदुषण ७५ प्रतिशत भन्दा बढी घटेको मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकाय, वातावरण विज्ञानका उपप्रध्यापक खगेन्द्र रावलले जानकारी दिनुभयो ।
उपप्रध्यापक रावलले भन्नुभयो, “यो दुई महिनाको लकडाउनमा कार्बन तथा अन्य प्रदुषण उत्सर्जन शून्य जस्तै छ । औसतमा एक जनाले एकसय चुरोट खाएजत्तिकै सबै भन्दा बढी प्रदुषण हुने चीनसहित विश्वकै तापक्रम घट्दो अवस्थामा छ । सुर्खेत तथा काठमाडौंको तापक्रम र प्रदुषण निकै घटिरहेको छ । जलवायु सफा छ । पानी परेको छ । हराएको जैविक विविधतामा सुधार आएको छ । नेपालमा मात्र हैन, भारतकै नदीनाला पनि सफा भएका छन् ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा.मंगल रावलले मान्छेको चापले बढ्ने तापक्रम र मान्छेको सघन आवातजावतले कोरोना भाइरससहित सबैखाले सर्ने रोगको जोखिम बढ्ने बताउनुभयो । “यो समस्याबाट बच्नका लागि पहिलो लकडाउन, दोस्रो सामाजिक सचेतना र तेस्रो अस्पतालको शीघ्र तयारी हुनुपर्दछ,” निर्देशक रावलले भन्नुभयो, “यसलाई मध्यनजरगरी कोरोना भाइरसको व्यापक परीक्षण आवश्यक छ ।”

यता कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना दैनिकरुपमा घटिरहने सडक दुर्घटनाहरु लकडाउनमा कर्णाली प्रदेशमा अत्यन्तै न्यून अवस्थमा पुगेको बताउनुभयो । सूचना अधिकारी तिम्सिनाले भन्नुभयो, “शहर बजारमा अहिल ह्वात्तै अपराध घटेको छ । शान्ति सुरक्षाको अवस्थामा सुदृढीकरण भएको छ । लकडाउन अवधिभर ४० हजार भन्दा बढी नागरिकहरु कर्णाली भित्रिदा गाउँमा मान्छेको चाप भने बढेको छ ।”
गाउँमा मान्छेको चाप बढ्दै गएकोले कोभिड–१९ को प्रतिकार्य तथा रोकथामका साथै प्रदेशको शान्ति सुरक्षाका लागि तीन हजार ६५५ सुरक्षा जनशक्ति परिचालन गरेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गाउँमा मान्छेको चाप बढ्दै गएकोले कोरोना भाइरस परीक्षणको दायरा बढाउन प्रदेश सरकारले यही बैशाख २८ गते यो प्रदेशका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली एकैसाथ परिचालन गरेको बताउनुभयो । “हामीले ७९ स्थानीय तहका ७१८ वडापालिकामा प्रति वडाबाट १० जनाको नमूना स्वाब संकलन गरी जतिसक्दो छिटो परीक्षण गर्ने तयारी गरेका छौं,” उहाँले भन्नुभयो ।

मन्त्री रावलले ७१८ वडापालिकामा विदेश, विशेषतः प्रभावित देश तथा जिल्लाबाट आएका र क्वारेन्टाइनमा रहेकाहरुलाई प्राथमिकतामा राखेर १० दिनभित्र १० हजारको नमूना संकलन गर्ने र तीनभित्र परीक्षण गरिसक्ने बताउनुभयो । उहाँका अनुसार आरडिटी तथा पिसिआर परीक्षण, आइसोलेसनको बेड संख्या, स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सामग्रीलगायतका क्षेत्रमा कर्णाली औसतमा कमजोर नरहेको र अहिलेसम्म कोराना प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा सक्षम रहेको छ । यो अवस्थासम्म कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि यसको उच्च जोखिम छ नै ।

तसर्थ, कोरोनाको उच्च जोखिमबाट बच्न र कर्णालीलाई सुरक्षित प्रदेशका रुपमा कायम राख्न कर्णाली प्रदेश सरकारले कोरोना भाइरस प्रकोपको प्रतिकार्य, रोकथाम, नियन्त्रणका लागि भारतबाट सीमा नाकामा आउने नागरिकहरुको उचित व्यवस्थापन, जिल्ला समन्वय समितिसहित समग्र स्थानीय तहहरुसँगको सघन समन्वय, स्वास्थ्य सामग्रीहरुको आवश्यकीय व्यवस्था, चिकित्सक तथा सुरक्षा जनशक्तिको प्रभावकारी परिचालन, कोरोना सचेतना, लकडाउनको रुपान्तरित मोडेललगायतका रणनैतिक योजना अख्तियार गरेर अघि बढ्नुको विकल्प छैन ।

प्रतिकृया दिनुहोस्