OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही बैशाख २५, २०७७सुर्खेत
५७५ पटक

सुर्खेत, २५ बैशाख २०७७ : भेरीगंगा नगरपालिका ४ सुर्खेतका किसानहरुले गहुँबाली भित्र्याउन नपाउँदै बारीमा कुहिएको छ । लगतारको वर्षात्ले उनीहरुको गहुँबाली बारीमै नष्ट भएको हो ।
भेरीगंगा ४ सुर्खेतका हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल, अमलसेनी, खोर्रे, मुरली गाउँका १६२ घरधुरी किसानहरुको गहुँबाली नष्ट भएको सोही वडाका स्थानीय किसान हेमन्तप्रकाश ओलीले जानकारी दिनुभयो । “हाम्रो ४६२ रोपनी क्षेत्रफलमा लगाएको गहुँबाली भित्र्याउन नपाएर बारीमै कुहिएको छ,” पीडा पोख्दै किसान ओलीले भन्नुभयो, “यसबाट ७५१ क्वीन्टल (७५ मेट्रिक टन) क्षति भएको छ ।”
मुखमा हाल्ने बेलाको गास नै खोसिँदा यहाँका किसानहरु पुर्पुरोमा हात लगाउनुपर्ने बाध्यता आईलागेको उहाँले बताउनुभयो । एकातिर गहुँबाली नष्ट भएर भोकमरी हुने र अर्कोतिर अर्को बालीका लागि संकलन गर्ने बीउसमेत नहुने भन्दै ओलीले कोरोना भाइरसको महामारीले भन्दा भोकमरीले मर्ने डर भएको उब्जिएको दुखेसो गर्नुभयो । यसबाट गहुँबालीमा निर्भर यहाँका करिब एक हजार जनसंख्या प्रभावित हुने उहाँको भनाई थियो ।
त्यस्तै अर्का कृषक झकबहादुर खत्रीले गहुँबाली पाकेर भित्र्याउने समयमा निरन्तर वर्षात् भएपछि स्याहार्न नसकिएको बताउनुभयो । “पानी आएपछि गहुँ बारीमै ढल्यो, कुहियो र त्यही कुहिएको बालोबाट पुन गहुँ उम्रन थाल्यो । तर भित्र्याउने कुनै सीप भएन,” खत्रीले भन्नुभयो । कोरोनाको महामारीका साथै लकडाउनले अबको उत्पादनमा कमी आउने उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले क्षतिको विवरण संकलन गर्न त्यहाँका किसानहरुलाई सुझाउनुभएको छ । किसानहरुको वास्तविक समस्यालाई बुझेर सक्दो राहत सहयोग गर्ने मन्त्री केसीले बताउनुभएको छ । उहाँले स्थानीय किसानहरुलाई वर्षे बाली उत्पादनमा जोड दिन आग्रह गर्दै उत्पादित कृषि उपज बजारीकरण हुन नसके सरकारले सहजीकरण गर्ने जनाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्