OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही बैशाख २३, २०७७ सुर्खेत
१०३६ पटक

सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले यहाँका किसानहरुलाई ६० थान हाते ट्रयाक्टर हस्तान्तरण गनुभएको छ ।
कृषिमन्त्री केसीले आज सुर्खेत भेरीगंगा र गुर्भाकोट नगरपालिकाका किसानहरुलाई ६० थान हाते ट्रयाक्टरसहित आवश्यक कृषि सामग्री वितरण गर्नुभएको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस(कोभिड–१९)का कारण भएको बन्दाबन्दीमा पनि कृषि कार्य रोक्न नहुने भन्दै किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गरिएको कृषिमन्त्री केसीले बताउनुभयो ।
“वास्तवमा अब हामी (विशेषगरी) कर्णालीवासी रोगले भन्दापनि भोकले मर्ने संभावित जोखिम बढिरहेको छ,” उहाँले भन्नुभयो,“ रोगसँगै भोकसँग लड्ने योजनाका साथ कृषि कर्ममा जुट्नु नै हाम्रा लागि हितकर छ ।” कृषि कर्म गर्दा भने भौतिक दूरी कायमका लागि नितान्त ख्याल गर्न किसानहरुलाई मन्त्री केसीले आग्रह गर्नुभयो ।
उहाँले यो किसानको बाली लगाउने सिजन (मौसम) भएकोले लकडाउनको पालना गर्दै किसानका आवश्यकतालाई परिपूर्ति गरिएको भन्दै जतिसक्दो उत्पादन बढाउन र बाँझो जमीन उपयोगमा ल्याउनसमेत सबै सहकारी तथा किसानहरुलाई अनुरोध गर्नुभयो । उत्पादनको बजारीकरणका लागि किसानहरुलाई चिन्ता नलिन सुझाउँदै मन्त्री केसीले त्यसको सहजीकरण सरकारले गर्ने विश्वास दिनुभयो ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायल ५० प्रतिशत निर्देशनालयको अनुदान सहयोग र ५० प्रतिशत किसानहरुको लागत सहभागितामा हाते ट्रयाक्टर (मिनि ट्रिलर) विभिन्न कृषक समुह र सहकारीलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । “लकडाउनमा किसानहरु प्रभावित नहुन् भन्ने हेतुले यही अवधिमा हामी कृषि सामग्री हस्तान्तरण गरेका छौं,” निर्देशक रोकायले भन्नुभयो, “सामग्री पाउँदा उनीहरुमा खुशी भएका छन् । यसबाट किसानहरुको खेती कार्यमा सहयोग पुग्नेछ ।”
उहाँका अनुसार भेरीगंगा ४ सुर्खेतको हर्रेस्थित कालिका तरकारी पकेट, गुर्भाकोट नगरपालिकाको ७ सुर्खेतको मेहलकुनास्थित गंगामाला तरकारी ब्लक, वडा नं.९ चिसापानीस्थित माझखण्ड तरकारी पकेट, वडा.नं.५ थग्लेनीस्थित प्रगतिशील तरकारी पकेट समितिलाई हाते ट्रयाक्टर, प्लाष्टिक टनेल, स्प्रे, हजारी, पाईप, पानी ट्याङ्की, बीउबिजन सहयोग गरिएको छ ।
कालिका तरकारी पकेट समितिका संयोजक हेमन्तप्रकाश ओलीले यान्त्रिकरणको साहयताले अब थोरै समयमा धेरै काम गर्न सकिने बताउनुभयो । ओलीले भन्नुभयो, “हिँजो गोरु र मान्छेले काम गर्दा ढिलो हुँन्थ्यो । अब समयको पनि बचत हुनेछ । यसबाट उत्पादनमा समेत वृद्धि आउने आशा गरेका छौं ।” निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोग र किसानको ५० प्रतिशत लागत सहभागिता गरी करिब रु.९० लाख बराबरको कृषि सामग्री तथा बीउबिजन किसानहरुलाई हस्तान्तरण गरिएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्