OnlinePana

आज : २०८१ फागुन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष १४, २०७९
७८३ पटक

१४ पुस २०७९, बिहीबार

पीडाको चित्कार कम हुन नसकेपछि पुस १३ गते राति ३ः०० बजे मेरो बाबालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगे । आकस्मिक कक्ष पुर्याउने बित्तिकै मैले चिन्न नभ्याएकी एक जना सिस्टर (संभवतः नर्स)ले मेरो बाबाको चित्कार क्षण भङ्गुरमै समाप्त पार्नुभयो । उहाँको सत्प्रयासले बाबा होस्मा आउनुभयो । त्यसले मलाई हलुङ्गो बनायो पनि ।

बाबाको उपचारसँगै जेठो छोरालाई पनि उपचार गर्नुपर्ने भयो । उसलाई पनि आज दिनभरि समय लगाएर विभिन्न प्रक्रिया र चरणहरु पार गर्दै सिटी स्क्यान गराइयो । परिवारका सदस्य बिरामी हुँदा गरिने उपचारका प्रयास जो कोहीका निम्ति साधारण कार्य हुन् । ती दुवै काम गरिरहँदा भने एका बिहानै मलाई निकै तीतो अनुभूतिको भोगाई भयो ।

महिला भन्ने बित्तिकै मेरो दिमागले भन्छ, एकाद बाहेक हरेक प्रत्येक महिला आमा हो । आमा भनेकै ममत्वले भरिएको प्रेमको प्रतीक हो । सुन्दर सृष्टि हो, विशाल दृष्टि हाे। माया र प्रेरणाको खानी हो । मानव जीवनसँग जोडिएको श्रेष्ठ जिन्दगानी हो । तर एकाद महिलामा त्यो भने लागु नहुँदो रहेछ ।

कर्णाली प्रदेश अस्पतालको बिहान ५ः०० बजे पछिको ड्यूटीमा रहने महिला डक्टरको नाम के हो ? उहाँ कहाँको हो र कुन विषयको डक्टर हुन् ? म त्यति राम्रोसँग चिन्दिन । तर उनले ओकेलेको तुच्छ र घृणालायक वाक्य आज दिनभर मेरो कानमा गुञ्जिरह्यो जुन वाक्य निकै क्रुर, निर्दयी र पूर्णरुपले मानवीय संवेदना गुमाएको थियो ।

घटना खासमा यस्तो थियोः राष्ट्रिय मानव अधिकार आयाेग कर्णाली प्रदेश सम्पर्क कार्यालय सुर्खेतमा कार्यरत कर्मचारी जीवन महतले आज अँध्यारो बिहानीमै अत्यन्तै गम्भीर अवस्थामा पुगेकी आफ्नी धर्मपत्नी ३० वर्षीय लक्ष्मी थापा महतलाई उपचारका लागि प्रदेश अस्पतालको आकस्मिक कक्षमा पुर्याए । बाबाको उपचारको क्रममा म त्यही थिए । अस्पताल पुग्दा उनी पीडाले निकै छटपटाई रहेकी थिइन् । अरु भन्दा मेरो बाबालाई शीघ्र शीघ्राती उपचारमा सघाउने तिनै नाम नचिनेकी सिस्टर अलि बढी लक्ष्मीको उपचारका सक्रिय देखिन्थिन् ।

लक्ष्मीको उपचार हुँदै गरेपनि उनको पीडाले चरमसीमा नाघेको थियो । उनका लागि यो संसार धुमील भइसकेको थियो । यता जीवन र लक्ष्मीको आमा भने संभवतः उपचारपछि घर फर्कने आशामा थिए । उता भने लक्ष्मी अस्थायीकालीन् भौतिक संसारको स्पर्श गर्न छोड्दै थिइन् । जब लक्ष्मीको बोली रोकिन खोज्छ, उनको आमा मुखमा पानी हाल्न कोशिस गर्छिन् । तर उपचाररत महिला डक्टर र सिस्टरहरुले पानी हाल्न दिँदैनन् बरु मुखबाट प्राणवायु दिने यान्त्रिक पाइप फोक्सोसम्म पु¥याएर पम्पिङ गर्छन् ।

त्यतिबेलासम्म लक्ष्मी कहिल्यै नउठ्ने गरी चीर निद्रामा परिसकेकी हुन्छिन् । छोरी अब रहिनन् भनेर लक्ष्मीको आमा चाल पाउँछिन् र महिला डक्टरलाई छोरीको मुखमा अन्तिममा भएपनि हिरन (अन्तिम सास जाँदा मुखमा हालिने पानी) हाल्न नदिएको पीडा पोख्दै छाती फुटाउँदे रुन्छिन् । र लक्ष्मीको पति जीवनको पनि भक्कानो फुट्छ । रुँदै उनले मेरो श्रीमती आफ्नै कालगतिले मरेको हो भन्ने अस्पतालले गराएको कागजमा अन्धाधुन्दा हस्ताक्षर गर्छन् र ल्याप्छे लगाउँछन् ।

जुम्ला छाेडेपछि परदेश न हाे, लक्ष्मीले सँधैका लागि निदाएपछि त्यहाँ जीवन र आमा बाहेक दु:खमा साथ दिने उनीहरुसँग अर्काे काेही थिएन । उनीहरुकाे पीडा सुन्नेहरुका लागि असह्य थियाे । दुवै रुँदा मेराे पनि आँखाबाट बररर आँसु झर्याे । मैले आफ्नाे आँखाकाे आँसु लुकाउँदै उनीहरुलाई सम्झाउन थालें । त्यति बेलासम्म लक्ष्मी काे हुन् मैले चिनेकाे थिइन् । रुँदै आमाले मेराे छाेरा घनश्यामलाई फाेन गर्देउ बाबु  भनेर मलाई भनेपछि मात्र मेराे विद्यार्थी कालकाे जिस्क्याई रहने साथी घनश्याम थापा रहेछन् भन्ने थाहा बुझें ।

मन निकै अमिलाे भयाे । पछि आफैले घनश्याम जीलाई फाेन गरें । एकाबिहानै बहिनीकाे देहवासनकाे खबरले थापाजीलाई नराम्राे झस्का दिएकाे थियाे हाेला । दुखद् खबर सुनाउँदा म आफै दु:खी थिएँ । यद्यपि घनश्यामजीले अविचलित नभई भाईहरुलाई छिट्टै त्यहाँ पठाउँछु भन्नुभयाे । अब आमाले जुम्ला ल्याउने वा त्यही अन्त्यष्टि गर्ने के भन्नुहुन्छ त्यही अनुसारकाे व्यवस्थाका लागि सहयाेग गर्नुहाेला सिंह सर भनेर फाेन राख्नुभयाे ।

आफ्नै अघि छोरीको मृत्युले लक्ष्मीको आमालाई धर्ती फाटे झैं लाग्छ । यद्यपि सहनुकाे विकल्प थिएन । त्यतिबेला मलाई डा.नवराज केसीले लेखेको ‘शून्यको मूल्य’ साहस, सास र स्नेहको कथाको एउटा पंक्ति स्मरण भयो कि ‘आमा मरेको खबर छोरीले सुनोस् तर छोरीको मृत्युको खबर आमालाई कहिल्यै सुन्न नपरोस् ।’ बिडम्बना ! त्यही दुःखद् घटनाको सामना लक्ष्मीको आमाले गर्दै थिइन् । उनी छोरीलाई एक घुट्को पानी खुवाउन नपाएको गुनासो डक्टरसँग व्यक्त गरेर छाती पिटिपिटि रुँदै थिइन् ।

त्यही बीचमा एउटा महिला डाक्टरले लक्ष्मीको आमालाई कागको झैं रुखो स्वरमा हकार्दै भनिन्, ‘मर्न तपाईको मान्छे म¥यो, मलाई प्वाइन्ट आउट गरेर (टिक्याएर) किन गाली गर्ने ।’ म डक्टर हो । डक्टरलाई गाली गर्न पाइन्छ । किन गाली गर्ने ? निकै शोकमग्न र कसैले जीवन अस्तित्व गुमाएको असाधारण क्षणमा भगवानरुपी डक्टर ठान्ने नागरिक (बिरामीका आफन्त) लाई ती महिला डक्टरले दिएको अभिव्यक्ति निकै खेदजनक थियो ।

मृत्युले शोकमा डुबेकी लक्ष्मीको आमाप्रति उनको व्यवहार पूर्णरुपले मानवीयता गुमाएको जस्तै थियो । उनले डक्टर महिलालाई छोरी मर्ने बेला एक घुट्को मुखमा पानी हाल्न दिएनौं भन्ने गुनासोलाई गालीका रुपमा बुझ्ने डक्टरले पढेको र सिकेको शिक्षा हाम्री आमाले दिलाएको ज्ञान भन्दा करोड गुणा कम थियो । नैतिकता र भावना हराएको शिक्षा र संस्कारले संभवत उनैको व्यक्तित्वलाई समेत नराम्ररी गिज्याईरहेको थियो ।

सदाका लागि यो धर्ती छोडेर विदाई भएकी लक्ष्मीको दिवंगत आत्मालाई चीर शान्तिको कामना त ती महिला डक्टरले गरिनन् गरिनन् । जीवन संगिनी गुमाएर शोकमा डुबेको जीवन महत र लक्ष्मीको आमाप्रति एक शब्द समवेदनाको भाव प्रकट गर्नसमेत उनले सकिनन् । बरु उनले आफ्नै रवाफ बेला बेलामा देखाइ रहिन् । जहाँ शोकमा पनि सहानुभूति प्रकट हुन सकेन ती महिला चिकित्सककाे मन र मष्तिष्कबाट ।

उपचारको क्रममा अस्पतालमा मर्ने लक्ष्मी पहिलो पात्र होइनन् । खैर केही छैन । मै हुँ भन्ने बादशाह, आणे वा पाखण्डी र सामान्य व्यक्ति, जो कोहीले यो भौतिक संसार एकदिन छोड्नै पर्नेछ । आज जीवन र लक्ष्मीको आमालाई परेको शोक एक दिन सबैले भोग्नै पर्नेछ र उनले पनि चाहेर वा नचाहेर सामना गर्ने दिन आउने छ । फुर्ति गर या आडम्बर देखाउ वा शेखी झार, सबै झर्नेछन् एकदिन फेरी नपलाउने गरी ।

अन्त्यमा, मैले तिम्रो दुःखद् निधनमा सुनेको नाम लक्ष्मी जहाँ तिमीले सास फेर्दासम्म मैले बोलाउनलाई चिन्न सकेन । माफी चाहान्छु बैनी लक्ष्मी । त्यसले मलाई निकै विव्हेलित बनाएको छ । तिम्रो मृत्युले पतझर झैं बनाएको जीवन भाईको जीवन र पूज्य आमाको वात्सल्य प्रेमको सागर रित्तिएको छ । तिमी सिद्धिएकी छौं । बाल बच्चामा तिम्रो मायाको खडेरी सुरु भएको छ । आफन्तजनको मिलन सदाका लागि विछोडमा परिणत भएको छ ।

यस दुःखद् परिघटनाले मलाई निकै मर्माहित एवं स्तब्द बनाएको छ । पूजनीय आमा, जीवन भाई अनि नानीहरुसहित शोकाकुल परिवार तथा आफन्तजनहरुमा गहिरो समवेदना । दिवंगत आत्माप्रति चीर शान्तिको कामना गर्दै बहिनी लक्ष्मीकाे पार्थिव शरीरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

अलविदा लक्ष्मी !

प्रतिकृया दिनुहोस्