OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १९, २०७९सुर्खेत
५६९ पटक

१९ कात्तिक २०७९, शनिबार

नेपाली सेना नन्दाबक्स गण जुम्लाले यतिबेला ‘माइन जोखिमसम्बन्धी शिक्षा’मा जोड दिएको छ । जुम्लामा म्यादी प्रहरीसहित नागरिकलाई ‘माइन जोखिमसम्बन्धी शिक्षा’ दिँदै आएको नेपाली सेनाले यसलाई पालिकाका नागरिकस्तरमा पनि पुर्याएको छ ।

पातारासी, गुठिचौर र सिंजा गाउँपालिकाका नागरिकहरुलाई ‘माइन जोखिम सम्बन्धी शिक्षा’ दिएको सेनाले पछिल्लो समयमा यसलाई विद्यालयस्तरमा पुर्याइएको नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाले जानकारी दिनुभयो । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन र नागरिकको जीवन सुरक्षालाई केन्द्रमा राखेर हामीले उप–सेनानीको कमाण्डमा ‘माइन जोखिमसम्बन्धी शिक्षा’ दिँदै आएका छौं,” गणपति थापाले भन्नुभयो, “यसलाई विस्तारै हामी सबै पालिकाका नागरिक तहसम्मै पुर्याउँछौं ।”

उहाँले तत्कालीन् राज्य र विद्रोही पक्षबीचको द्वन्द्वका बेला छाडिएका र अहिले बेबारिसे अवस्थामा फेला पर्ने विष्फोटक पदार्थबारे नागरिकस्तरसम्म सचेतना होस् भन्ने हेतुले ‘माइन जोखिमसम्बन्धी शिक्षा’ दिन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिलागुफा नगरपालिका १० कालीकोटको रानावाडामा कार्तिक १२ गते भएको विस्फोटमा चार वर्षीय दुई बालिका झरना थापा र सरस्वतीले ज्यान गुमाए र तीन बालबालिकाका घाइते भए । यसको कारण भनेकै द्वन्द्वकालीन् विष्फोटक पदार्थका अवशेषहरु हुन् ।”

चुनावका बेलामा यस्ता खतराहरु अँझ बढी निम्तिने अवस्थालाई मध्य नजर गर्दै यो शिक्षालाई जुम्लाका ८४३ म्यादी प्रहरीसहित नागरिकस्तरमा पुर्याइएको उहाँले बताउनुभयो । उहाँका अनुसार पातारासी, चन्दननाथ, गुठिचौर तथा सिंजा गाउँपालिकाका नागरिकहरुलाई माइन जोखिम र शंकास्पद वस्तु भेटेमा के गर्ने भन्नेबारेमा जानकारी गराइएको छ ।

द्वन्द्वकालीन् अवशेषका रहेका विष्फोटक वस्तुले धेरैको ज्यान लिने खतरालाई ध्यानमा राखेर ‘माइन जोखिमसम्बन्धी शिक्षा’ दिने कार्यलाई अगाडि बढाइएको उक्त गणका उप–सेनानी सन्तोष केसीले जानकारी दिनुभयो । “हामीले यस शिक्षाअन्तरगत बम डिष्पोज कसरी गर्ने, शंकास्पद वस्तु भेटिएमा के गर्ने र आफू कसरी बच्नेबारे पहिलो चरणमा म्यादी प्रहरी र गुठिचौर गाउँपालिकाका ४५ नागरिकलाई ज्ञान दिएका छौं,” उहाँले भन्नुभयो, “अब भने यसलाई सबै पालिकास्तरसम्म पुग्ने गरी गतिविधिहरुलाई विस्तार गर्दै लान्छौं ।”

उप–सेनानी केसीले म्यादी प्रहरीलाई मतदानस्थल, सरकारी सवारी साधन, सार्वजनिकस्थल, घर परिसर, सुत्ने कोठाको खाट मुनि भेटिएमा आफैले नछोइ अन्यलाई समेत १५० मिटर टाढा बस्ने र यस विषयमा अरुलाई पनि सिकाउने गरी ज्ञान दिइएको जनाउनुभयो । उहाँले चन्दननाथ नमूना मावि जुम्लाका २९० जना छात्र छात्रालाई ‘माइन जोखिम सम्बन्धी शिक्षा’ दिइएको जनाउनुभयो ।

उक्त गणका हवल्दार हरि रानामगरले म्यादी प्रहरी पनि सुरक्षा फौंज नै भएकोले उनीहरुलाई सुतली, सकेट, कुकर, पाइप र बाल्टिन बमबारे जानकारी, ती वस्तुहरु बेबारिसे अवस्थामा भेटिएमा डिष्पोज कसरी गर्ने र शंकास्पद वस्तुबारे कसरी थाहा पाउने भन्नेबारे शिक्षा दिइएको बताउनुभयो । यो काम उच्च जोखिमयुक्त भएकोले प्रथमतः यससम्बन्धी शिक्षाबारे म्यादी प्रहरीलाई जानकारी गराइएको उहाँको भनाई छ ।

म्यादी प्रहरी हिमाल बुढाले ‘माइन जोखिमसम्बन्धी शिक्षा’ निकै महत्वको भएको बताउनुभयो । “जागीर आवधिक भएपनि ज्ञान दीर्घकालीनरुपमा पाएकोमा खुशी छु,” बुढाले भन्नुभयो, “देख्दा सामान्य लागेपनि यसले हाम्रो समाजका लागि धेरै ठूलो काम गर्ने औजारको रुपमा लिएको छु ।” यो ज्ञानलाई आफ्नो जीवनमा लागु गर्नुका साथै छरछिमेकलाई समेत सिकाउने उहाँको भनाई थियो ।

गणपति थापाले जुम्लामा अहिलेसम्म दुई हजार ५०० भन्दा बढीलाई यससम्बन्धी शिक्षा दिइएको बताउनुभयो । पछिल्लो समयमा नेपाली सेनाले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । विद्यालय निर्माण, विपद्मा उद्धार तथा राहत प्रदान, संकटमा परेका नागरिकलाई रक्तदान, स्वास्थ्य शिविर सञ्चालनलगायत नागरिकसँग प्रत्यक्ष जोडिने गतिविधिहरुले अहिले सेना र नागरिकबीच सुमधुर सम्बन्ध कायम हुँदै गएको नन्दाबक्स गण जुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्