OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जसकाे घर नै बलिउड

बलिउडले यो साता दुई दिनमा दुई जना लोकप्रिय कलाकार गुमायो।

कोरपाटी संवाददाताबैशाख २०, २०७७काठमाडौं
१३८० पटक

 

 

इरफान खान बितेको चौबीस घन्टा नबित्दै सत्तरी-असी दशकका ‘लभर ब्वाई’ ऋषि कपुर ६७ वर्ष उमेरमा बिहीबार आफ्नो जिन्दगीबाट बिदा भए।

इरफान र ऋषि भनेका बलिउडका दुई ध्रुव हुन्। जयपुरको टोंक गाउँमा जन्मिएका इरफानको जिन्दगीको मकसद नै बलिउडमा प्रवेश गर्नु थियो। संवादरहित एक दृश्यको भूमिकाबाट बलिउडको मूलधारमा पाइला जमाउन उनले संघर्षको लामो कालखण्ड पार गरे।

यसको ठिक विपरीत, ऋषि कपुर भनेकै बलिउड हुन् — पारिवारिक रूपमा पनि र उनले खेल्ने फिल्मका आधारमा पनि।

लाखौं मान्छे जुन बलिउडको सपना देख्दै हुर्किन्छन्, ऋषिको जन्म त्यही बलिउडको मूलधारमा भयो। हजुरबासहित उनका बुबा, काका–काकी, दाजुभाइ लगायत सिंगो परिवार, सरसंगत, हुर्काइबढाइ नै बलिउड हो।

बलिउड यस्तो ठाउँ हो, जहाँ स्टारपुत्रहरूले सहजै प्रवेश त पाउँछन्, तर खासै फाप्दैन। उनीहरूको कामलाई सधैं ‘महान’ आमाबाबुको विगतसँग दाँजिन्छ। राम्रो गर्‍यो भने त्यसको जस आमाबाबुले नै लैजान्छन्, नराम्रो गर्‍यो भने ‘फलानोको छोरा भएर यस्तो झूर काम गर्‍यो’ भन्दै उल्याउँछन्।

ऋषि कपुर बलिउडका त्यस्ता कम स्टारपुत्रमा पर्छन्, जसले आफ्नो करिअरमा बाबुको सेप लाग्न दिएनन्। उनको नाउँसँग सिंगो ‘कपुर खानदान’ को विरासत जोडिएको थियो, जसको चौथो पुस्ताले समेत बलिउडमा धूम मच्चाउँदै छ।

दुई वर्षदेखि रगतको क्यान्सरसँग जुधिरहेका ऋषिले करिब एक वर्ष न्यूयोर्कमा उपचार गराए। उनी गत सेप्टेम्बरमा मुम्बई फर्किएका हुन्। केही दिनअघि सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

बिहीबार उनको निधनपछि दुईवटा ‘कमब्याक’ फिल्म अधुरो रहेका छन्। उनले ‘शर्माजी नमकिन’ भन्ने कमेडी फिल्मका केही दृश्य गत फेब्रुअरीमा सुटिङ गरेका थिए। हलिउड कमेडी ‘द इन्टर्न’ को हिन्दी संस्करणमा पनि उनले काम गर्ने पक्कापक्की थियो।

ऋषिको जन्म १९५२ सेप्टेम्बर ४ मा भएको थियो। उनी राज र कृष्णा कपुरका पाँच सन्तानमध्ये तेस्रा हुन्।

उनका हजुरबुबा पृथ्वीराज कपुरले १९२० दशकदेखि नाटक र फिल्ममा काम गरेका थिए। उनका पिता राज कपुर यस्ता हस्ती हुन्, जसलाई आज पनि बलिउडको ‘शोम्यान’ का रूपमा याद गरिन्छ।

अभिनेताका रूपमा करिअर सुरू गरेका राज कपुरले पछि फिल्म निर्माण र निर्देशन गरे। उनले बनाएका ‘आवारा’, ‘श्री ४२०’, ‘सत्यम् शिवम् सुन्दरम्’, ‘मेरा नाम जोकर’, ‘राम तेरी गंगा मैली’, ‘बबी’ लगायत सिनेमा स्मरणीय छन्।

राज कपुरका दुई भाइ शशि र शम्मी बलिउडका चर्चित अभिनेता हुन्। यी दुवैले आफ्नो समयका चर्चित अभिनेत्रीसँग विवाह गरेका थिए। शशिको जेनिफर केन्डलसँग र शम्मीको गीता बालीसँग विवाह भएको थियो।

ऋषिका मामाहरू प्रेमनाथ, राजेन्द्रनाथ र नरेन्द्रनाथ पनि बलिउड कलाकार हुन्। ‘खतरनाक’ खलनायक प्रेम चोपडासँग पनि उनको नाता पर्छ।

यति मात्र होइन, ऋषिका दाजु रणधीर र भाइ राजीव कपुरले थुप्रै फिल्म खेलेका छन्। ऋषिले बलिउड अभिनेत्री नीतू सिंहसँग विवाह गरेका थिए। अहिले चौथो पुस्तामा आएर ऋषि-नीतूका छोरा रणवीर र दुई जना भतिजी करिश्मा र करिना बलिउडमा जमेका छन्।

कपुर खानदानका यी तेस्रो पुस्ताका अभिनेतालाई चिन्न उनको पारिवारिक सम्बन्ध भने केलाउनु पर्दैन। बाबु र काकाहरूको छायाबाट हटेर बलिउडमा बेग्लै पहिचान बनाउने अपवाद हुन्, ऋषि।

राज कपुरको ‘मेरा नाम जोकर’ मा एउटा गीत छ– ‘जिना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ।’

यही फिल्मबाट बाल कलाकारका रूपमा ‘डेब्यू’ गरेका ऋषिको जिन्दगी यो गीतसँग मिल्दोजुल्दो छ। उनले मीना ऐयरसँगको सहकार्यमा लेखेको संस्मरण ‘खुल्लम खुल्ला’ मा भनेका छन्, ‘मेरो रगतमै अभिनय छ, म यसबाट भागेर कहीँ जान सक्दिनँ। म बाँच्ने यसैमा हो, मर्ने यसैमा।’

उनी अगाडि लेख्छन्, ‘मेरो बाल्यकाल सपनाजस्तै थियो। स्कुलका साथीभाइ ठूलो भएपछि जुन जिन्दगी बाँच्ने कल्पना गर्थे, त्यो जिन्दगी म त्यही बेला बिताइरहेको थिएँ। मेरो घरमा हरेक दिन मेला लागेजस्तो हुन्थ्यो। सामान्य मान्छे जिन्दगीभरि जुन कलाकारलाई एकचोटि हेर्ने आकांक्षा पालेर बसेको हुन्छ, ती महान् कलाकारहरू मेरो घरमा हरेक दिन आउजाउ गर्थे।’

उनले यो पनि लेखेका छन्, ‘कपुर खानदानका लागि सिनेमा भनेको रोजीरोटी मात्र थिएन, जिन्दगी बाँच्ने अन्दाज थियो। मेरो परिवारमा सिनेमालाई उच्च दर्जा दिइन्थ्यो। यसमा काम गर्नेहरूलाई सम्मानका साथ हेरिन्थ्यो। हामीकहाँ कसैलाई पनि अरू काम नगरेर फिल्म खेलेकोमा पछुतो वा लघुताभाष थिएन।’

ऋषिका लागि सिनेमा वा सुटिङ भनेको त्यस्तो थियो, जस्तो अरू केटाकेटीलाई फुटबल खेल्ने मैदान। उनी फुर्सत् पायो कि सेटमा पुग्थे। सन् १९५५ मा राज कपुरको ‘श्री ४२०’ मा उनले आफ्ना दाजु रणधीर र दिदी रितुसँग ‘प्यार हुआ इकरार हुआ है, प्यार से फिर क्यूँ डरता है दिल’ मा सानो भूमिका गरेका छन्।

उनको ‘डेब्यू’ फिल्म भने ‘मेरा नाम जोकर’ (१९७०) लाई नै मानिन्छ। सन् १९६८ मा यो फिल्म सुटिङ हुँदा ऋषि १६ वर्षका थिए। उनले यसमा राज कपुरको बाल भूमिका (राजु) गरेका छन्, जो सर्कसका जोकर हुन्छन्।

स्कुलमै पढ्दै गरेका राजु आफ्नी शिक्षिका म्यारी (सिमी गेरावाल) तर्फ आकर्षित हुन्छन्। पहिलो फिल्मबाटै ऋषिले उत्कृष्ट बाल कलाकारको राष्ट्रिय पुरस्कार पाए।
‘मेरा नाम जोकर’ मा ऋषि कपुर।

होचो कद, चम्किलो आँखा, चिल्लो अनुहार र त्यो अनुहारमा सधैं नाचिरहने मुस्कान ऋषिको पहिचान हो। दर्शकहरू उनको अभिनयमा बालापनको चञ्चलता र मायालुपनको आभाष पाउँछन्।

पहिलो फिल्मदेखि आखिरीसम्म अधिकांशमा लगभग यही चञ्चलता र मायालुपन झल्काएका ऋषिलाई करिअरभरि ‘लभर ब्वाई’ का रूपमा दर्शकले स्वीकारे।

‘हिन्दी सिनेमामा ऋषिको आगमन यस्तो प्रेमीका रूपमा भयो, जो आफ्नी प्रेमिकालाई लिएर कहिल्यै आक्रोशित वा उत्तेजित हुँदैन। ऊ आत्मादेखि माया गर्छ। उसको हृदयमा रिस छैन, माया नै माया भरिएको छ,’ मधु जैनले कपुर खानदानको आत्मवृत्तान्त ‘द कपुर्स’ मा लेखकी छन्।

त्यो समय ऋषिमा हरेक प्रेमीले आफ्नै झझल्को पाए। प्रेमको नशा चढेपछि हरेकलाई नाच्न मन लाग्छ। यहाँ ताल मिलाएर नाच्न जान्ने त कति होलान् र? ती सबैले ऋषिको नाचमा आफूलाई देखे।

उनमा राजेश खन्ना, अमिताभ बच्चनजस्तो ‘स्टार’ को चमक थिएन, तर उनलाई दर्शकले कहिल्यै अस्ताउन दिएनन्।

उनी यस कारण ‘स्टार’ बनेनन्, किनभने दर्शकको निम्ति उनी पराया थिएनन्। आफूमध्येकै एक थिए, जो आफूजस्तै हाँस्छन्, आफूजस्तै बोल्छन् र आफूजस्तै प्रेममा चुर्लुम्म डुब्छन्।

उनको यो ‘लभर ब्वाई’ छविको सुरूआत राज कपुरकै ‘बबी’ (१९७३) बाट भयो।

राज कपुरले आफ्नो अघिल्लो फिल्म ‘मेरा नाम जोकर’ फ्लप भएपछि जुन आर्थिक संकट बेहोरेका थिए, त्यसबाट त्राण पाउन ‘बबी’ जस्तो कमर्सियल प्रेम कहानीमा हात हाले।
‘बबी’ फिल्ममा ऋषि कपुर।

यति बेलासम्म ऋषिको ओठमा जुँगाको रेखी बसिसकेको थियो। काँध अलि फराकिलो भएको थियो। आँखाको चमक र अनुहारको चञ्चलता भने उस्तै थियो।

मान्छेको अन्तर्यमा लुकेको खुबी केलाएर उसभित्र कलाकार खोतल्ने खुबी भएका ‘शोम्यान’ राज कपुरले आफ्ना छोराको गुण नपर्गेल्ने कुरै थिएन। उनले ऋषिलाई ‘नायक’ का रूपमा बलिउडमा पहिलो ‘ब्रेक’ दिए। फिल्ममा नायिकाका रूपमा ‘डेब्यू’ गर्दै थिइन्, डिप्पल कपाडिया।

ठूलो बिजनेस परिवारमा जन्मिएका ऋषि र क्याथोलिक माझी परिवारकी डिम्पलको प्रेमकथामा आधारित ‘बबी’ ले त्यो समय असामान्य व्यापार गर्‍यो। यो फिल्म राज कपुरलाई पुरानो ऋणबाट मुक्त गर्न मात्र होइन, उनको एउटा छोरालाई बलिउडमा स्थापित गर्न पनि कोशेढुंगा साबित भयो।

ऋषिका दुवै दाजुभाइ रणधीर र राजीवले होम–प्रोडक्सनबाटै बलिउडमा ‘डेब्यू’ गरे पनि उनीहरू खासै जम्न सकेनन्।

ऋषिको सुरूआत जति दमदार थियो, त्यसपछिको चरण भने सहज भएन। ‘बबी’ लगत्तै रिलिज ‘जहरिला इन्सान’ (१९७५) नराम्ररी फ्लप भयो। त्यसै वर्ष रिलिज ‘रफू चक्कर’ ले राम्रै व्यापार गरे पनि ऋषिको करिअरमा नयाँ इँटा थपिएन।

हलिउड कमेडी ‘सम लाइक इट हट’ मा आधारित यो फिल्मको अधिकांश दृश्यमा ऋषि केटी बनेका थिए। पहिलो फिल्ममा प्रेमिकाको निम्ति परिवारसँग विद्रोह गरेर ऋषिले सबैको मन जितेका थिए। उनलाई नयाँ भूमिकामा दर्शकले स्वीकारेनन्। फिल्म चले पनि उनलाई खासै लाभ भएन।

सन् १९७५ मै आयो, ‘खेल खेल मेँ’, जसमा फेरि एकचोटि ऋषिले आफ्नो ‘लभर ब्वाई’ को छवि स्थापित गरे। यो फिल्ममा उनको जोडी बनेकी थिइन्, नीतू सिंह, जोसँग पछि उनको विवाह भयो।
‘कभी कभी’ मा ऋषि कपुर।

त्यसपछिका केही वर्ष ऋषिले एकल अभिनेताका रूपमा थुप्रै ‘हिट’ फिल्म दिए भने अमिताभ बच्चन र विनोद खन्नासँगको उनको जोडीलाई पनि दर्शकले खुबै रुचाए।

बलिउडमा कमर्सियल फिल्मका ‘महान’ हस्ती मानिने मनमोहन देसाईले १९७७ मा अमिताभ, विनोद र ऋषिलाई एकैचोटि पर्दामा उतारे, ‘अमर अकबर एन्थोनी’ मा। यसमा अमिताभ र विनोदसँग स्क्रिन सेयर गर्दा पनि कतिपय ठाउँमा दर्शकको ध्यान तान्न ऋषि सफल भए।

दाजुभाइको मिलन र विछोडमा आधारित मेलो–ड्रामा ‘अमर अकबर एन्थोनी’ बलिउडमा अत्यधिक रूचाइएको फिल्ममध्ये पर्छ। ऋषिले एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई मनमोहन देसाईले अकबरको भूमिका अफर गर्दा सुरूमा त मैले अर्कै सोचेको थिएँ। टेलिफोन कनेक्सन बिग्रेकाले मैले उनको स्वर राम्ररी सुनेको थिइनँ। उनले नयाँ फिल्ममा अकबरको भूमिका छ भन्दा मलाई मुगल शासक अकबरको जीवनमाथि बन्ने फिल्म हो कि भन्ने लागेको थियो।’

ऋषि कपुर र मनमोहन देसाईले त्यसपछि ‘नसिब’ (१९८१) र ‘कुली’ (१९८३) सहित पाँचवटा सुपरहिट फिल्ममा सँगसँगै काम गरेका छन्।

देसाईका यी फिल्मबाट अमिताभ र ऋषिको जोडीलाई दर्शकले साँच्चिकै दाजुभाइजस्तो माया गरे। उनीहरूले फिल्ममा गाउने गीतले पनि यो सम्बन्ध झल्काउँछ। चाहे त्यो ‘नसिब’ को ‘चल मेरे भाइ तेरे हाथ जोड्ता हुँ’ होस् वा ‘कुली’ को ‘लम्बू जी लम्बू, बोलो टिंगूजी’ होस्।

ऋषिको जीवनमा सन् १९८० एक ‘टर्निङ प्वाइन्ट’ रह्यो।

यसै वर्ष जनवरी २२ मा उनले नीतूसँग विवाह गरे। त्यसको पाँच महिनापछि बलिउडका अर्का शोम्यान सुभाष घईको ‘कर्ज’ रिलिज भयो। पुनर्जन्मको कथामा बनेको यो फिल्मको लेखन, संगीत र निर्माण पक्ष सशक्त हुँदाहुँदै व्यावसायिक रूपले सफल भएन।

‘कर्ज’ को असफलताले ऋषिलाई नराम्रो चोट पुर्‍यायो। उनले त्यति बेलाको क्षण सम्झँदै एक अन्तर्वार्तामा भनेका छन्, ‘म यति हतोत्साही भएको थिएँ, मलाई लामो समय क्यामराको अगाडि पर्न हिच्किचाहट हुन्थ्यो।’

उनले अगाडि भने, ‘सुटिङ सेटमा जाँदा मेरो जीउ थरथर कामिरहेको हुन्थ्यो। म नर्भस हुन्थेँ। आत्मविश्वास पूरै गलेको थियो। सबभन्दा नराम्रो कुरा त, मैले यी सबैको दोष आफ्नो विवाहलाई दिएको थिएँ। फिल्ममा राम्ररी नजम्दै विवाह गरेकाले लोकप्रियता घट्यो भन्ने मेरो धारणा थियो।’

त्यो नकारात्मक ऊर्जाबाट पार पाउन नसकेको भए आफ्नो करिअर उति बेलै समाप्त भइसक्ने ऋषिले उक्त अन्तर्वार्तामा बताएका छन्।

उनले नकारात्मक ऊर्जालाई हाबी हुन दिएनन्। केही समय धर्मराए पनि फेरि नयाँ आत्मविश्वासका साथ ‘कमब्याक’ गरे। उनी यसलाई बलिउडमा आफ्नो ‘दोस्रो इनिङ’ मान्छन्।

सन् १९८० दशकको दोस्रो इनिङ अघिल्लोको तुलनामा राम्रो रह्यो, फिल्मको गुणस्तर र सफलता दुवै आधारमा।

यो चरणमा उनले खेलेका ‘सरगम’, ‘प्रेमरोग’, ‘नसिब’, ‘सागर’, ‘नगिना’ लगायत स्मरणीय छन्। राजिन्द्रसिंह बेदीको उपन्यासमा आधारित ‘एक चादर मैली सी’ (१९८६) जस्तो पृथक सिनेमामा उम्दा अभिनय प्रदर्शन गरेर उनी स्टारपुत्रबाट एक कदम अघि बढ्न सफल भए।

ऋषिले असी दशक अन्त्य गरे, यश चोपडाको सुपरहिट ‘चाँदनी’ बाट। श्रीदेवी र विनोद खन्नासँगको त्रिकोणात्मक प्रेममा आधारित यो फिल्मका गीत–संगीत आज पनि हिट छन्। यसअघि १९७६ मा उनले यश चोपडाको ‘कभी कभी’ मा नीतूसँगै काम गरेका थिए।

दोस्रो इनिङमा एकपछि अर्को हिट फिल्म दिएका ऋषिले नब्बे दशकको सुरूआत डेविड धवनको कमेडी ‘बोल राधा बोल’ (१९९२) बाट गरे। यसमा उनले उस्तै अनुहार भएका नायक र खलनायकको दोहोरो भूमिका गरेका थिए।

त्यसै वर्ष राज कन्वरको ‘दिवाना’ रिलिज भयो, जसबाट टेलिभिजन स्टार शाहरुख खानले बलिउडमा प्रवेश गरे।

यसबीच १९९१ मा उनका दुईवटा ‘होम–प्रोडक्सन’ फिल्म रिलिज भए। तीमध्ये काका शशि कपुर निर्देशित ‘अजुबा’ सुपर फ्लप भयो भने दाजु रणधीर कपुरको ‘हीना’ सुपरहिट भयो। ‘हीना’ राज कपुरले नै निर्देशन गर्ने भनी तयार गरिसकेका थिए। उनको निधनपछि सुटिङ नहुँदै रोकिएको फिल्म छोरा रणधीरले पूरा गरे।

नब्बे दशकमै रिलिज ‘दामिनी’ (१९९३) पनि उनको हिट फिल्ममा पर्छ। तर, यसमा उनको भूमिका मिनाक्षी शेषाद्री र सन्नी देओलका अगाडि ओझल परेको थियो।

ऋषिले नब्बे दशककै अन्त्यमा ‘आ अब लौट चलेँ’ (१९९९) निर्देशन गरे। अक्षय खन्ना र ऐश्वर्या राय अभिनीत यो फिल्म खासै चलेन।

सत्तरी दशकदेखि २०१९ सम्म उस्तै सक्रिय र थुप्रै हिट फिल्म दिएका ऋषिले बढ्दो उमेरका बाबजुद आफूभन्दा निकै कम उमेरका हिरोइनसँग पर्दामा रोमान्स गर्दा पनि दर्शकले अप्ठ्यारो मानेनन्। उनलाई दिव्या भारतीदेखि सोनम, रवीना टन्डन, जुही चावला र पूजा भट्टसँग रोमान्स गरेको दर्शकले स्वीकारे।

रोचक के भने, रवीना टन्डनका पिता रवि टन्डनले सत्तरी दशकमै बनेको ‘खेल खेल मेँ’ र ‘झूठा कहीँ का’ मा ऋषिलाई निर्देशन गरेका थिए।

यो विषय उठ्दा ऋषि ठट्टा गर्दै भन्थे, ‘कुनै दिन म डिम्पल (उनको पहिलो फिल्मकी हिरोइन) की छोरीसँग र मिल्यो भने तिनका पनि छोरीहरूसँग रोमान्स गर्नेछु।’

उनको यो सपना पूरा भएन। डिम्पलसँग भने ‘बबी’ पछि ‘प्यार मेँ ट्वीस्ट’ (२००५) मा अधवैंशे प्रेमी–प्रेमिकाको भूमिका गरे।
(यो अबिच्यूरी भारतीय अनलाइन ‘स्क्रोल डटइन’ बाट अनुवाद गरिएको हो।)

प्रतिकृया दिनुहोस्