OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २२, २०७९काठमाडौं
४०७ पटक

२१ असार २०७९ बुधबार
माध्यामिक तह परीक्षा (एसईई) का सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका जम्मा भइसकेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका मंगलबार मात्रै एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएकोले नतिजा प्रकाशनमा केही ढिलाई हुनसक्ने परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बताए ।

उनले भने, ‘अहिले धमाधम इन्ट्रीको काम भईरहेको छ । आज मात्रै उत्तरपुस्तिका आईपुगेकाले नतिजामा ढिलाई हुनसक्छ ।’ जम्मा भएको उत्तरपुस्तिका इन्ट्री गर्नै कम्तिमा 10 दिन लाग्ने जानकारी दिए ।

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षण भइसकेको उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा जम्मा गरेको हो । जेठ ५ गतेबाट उत्तरपुस्तिका परीक्षण थालिएको थियो । असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी अनुसार प्रयास भइरहेको रायमाझीले जानकारी दिए ।

प्रदेशबाट विद्यार्थीको प्राप्ताङ्क अपडेट गर्ने सम्भावना कम हुँदै

बोर्डले यो वर्ष प्रदेश परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रका मापदण्डहरु निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण, अंक चढाउन सक्ने अधिकार दिएको छ ।

त्यही अनुसार प्रदेशगत परीक्षण भए अनुसार विद्यार्थीको प्राप्तांकलाई परीक्षा नियन्त्रण कार्यलयले रुजु गरेर नतिजा प्रकाशित गर्ने तयारी गरेको थियो । त्यसका लागि बोर्डले प्रत्येक प्रदेशमा विद्यार्थीको प्राप्ताङ्क चढाउनको लागि विशेष सफ्टवेयर जडान गरिरहेको छ । तर, अझै पनि सफ्टवेयर जडान भईनसकेकोले प्रदेशबाट विद्यार्थीको प्राप्ताङ्क चढाएर केन्द्रले रुजु गर्ने सम्भावना कम हुँदै गएको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बताए ।

उनले भने ‘हामीले प्रदेशबाट सफ्टवेयर मार्फत प्राप्त भएको विद्यार्थीको प्राप्ताङ्कलाई रुजु गर्ने भनेका थियौं तर, अहिलेसम्म सफ्टवेयर नै जडान भईनसकेकाले सम्भावना कम हुँदै गएको छ ।’

सफ्टवेयर जडान भएपछि विद्यार्थीको प्राप्ताङ्क चढाउनको लागि कर्मचारीलाई तालिम दिने काम पनि बाँकी नै रहेकोले त्यसरी गर्न सम्भावना कम हुँदै गएको उनको भनाई छ । उनी भन्छन् ‘प्रदेशले चढाएको नतिजा रुजु गर्दा झन ढिलाई हुनसक्ने भएकाले केन्द्रकृत रुपमा नै प्राप्ताङ्क चढाउनुपर्ने स्थिति बनिरहेको छ ।’

कोरोना संक्रमणको अवस्था कम भइसकेपछि पहिलो पटक भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरिएको थियो । देशभरिका दुई हजार सात परीक्षा केन्द्रमा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी एसईईमा सम्मिलित भएका थिए । अनलाइन खबरबाट ।

प्रतिकृया दिनुहोस्