OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २३, २०७९सुर्खेत
६४३ पटक

२३ बैशाख २०७९, शुक्रबार

कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु.४८ लाख राजश्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुबाट रु.४८ लाख १३ हजार ५७० राजश्व संकलन भएको हो ।

यहाँका पर्यटकीयस्थलहरु मध्ये कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिकहरु घुम्न आएका छन् । विसं.२०७८ बैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्ने एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाह्यक पर्यटकहरुबाट रु.२१ लाख ७१ हजार ७५० राजश्व संकलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीले बताउनुभयो ।

त्यस्तै, विसं.२०७८ बैशाख–पुससम्म काक्रेबिहार घुम्न आउने एकलाख ७४ हजार ३६९ आन्तरिक र १२ बाह्य पर्यटकहरुबाट रु.छ लाख १८ हजार ७७० राजश्व संकलन भएको शाखा प्रमुख शाहीले बताउनुभयो । उहाँका अनुसार सुर्खेत वीरेन्द्रनगरस्थित प्रादेशिक सहिदपार्क पर्यटकीयस्थल घुम्न आउने १६ हजार २०० आन्तरिक पर्यटकहरुबाट रु.चार लाख ५० हजार राजश्व संकलन भएको छ ।

“गत चैतसम्म अपर कर्णालीको मुगु रारातालमा १३ हजार ११३ आन्तरिक, ६६ बाह्य र ५ सार्क राष्ट्रका पर्यटकहरुले दृश्यावलोकन गर्दा उनीहरुबाट रु.नौ लाख ३३ हजार ९०० राजश्व संकलन भएको छ ” उहाँले भन्नुभयो, “गत माघसम्म डोल्पाको शे–फोक्सुण्डो घुम्न आउने तीन हजार ४३८ आन्तरिक र ६१ बाह्य पर्यटकहरुबाट रु.तीन लाख ३१ हजार ८०० राजश्व संकलन भएको छ ।”

साउन–मंसिरसम्म दैलेखको गुराँस गाउँपालिकाको गुराँसे भ्यूटावर हेर्ने आउने छ हजार १४९ आन्तरिक पर्यटकहरुबाट रु.तीन लाख ७ हजार ४५० राजश्व संकलन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले प्राप्त तथ्याङ्क मोटामोटी भएको बताउँदै १० जिल्लाका पर्यटकीयस्थलहरुको विवरण सघनरुपले आउन नसकेको बताउनुभयो ।

“अब आगामी वर्ष ०७९÷०८० मा बाह्य पर्यटकहरु आकर्षणका लागि ‘एक जिल्ला, एक पर्यटकीय उपज’ नीति लिएर पर्यटन प्रवद्र्धन र पूर्वाधारमा जोड दिएका योजना तथा कार्यक्रम बनाउँदैछौं,” सचिव जोशीले भन्नुभयो, “पाँच ‘प’ पहुँच, प्रवद्र्धन, प्रचार, पूर्वाधार र पर्यावरणलाई पनि हामीले मियो बनाउने योजना छ ।” कर्णाली घुम्न आउने ६० वर्षमाथि उमेरलाई हवाई उडानमा रु.एक हजार छुट दिनेबारे पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ् डम्डुल (कार्चेन) लामाले कर्णालीको पर्यटन विकास र आर्थिक समृद्धिका लागि नियमित हवाई उडान, कर्णाली र भेरी करिडरको पूर्वाधार विकास भएको बताउँदै यसमा प्रदेश सरकारले आफ्नो अधिकार रहेर काम गर्नुका साथै संघीय सरकारसँग पनि पहल भइरहेको बताउनुभयो । प्रदेश सरकारले आगामी आव.०७९÷०८० मा ती क्षेत्रको विकास गर्ने र कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउने योजना बनाउन गरी अगाडि बढेको मन्त्री लामाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्