OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ३, २०७७
३८३ पटक

दाना शाही सुर्खेत, ३ बैशाख ।

सुर्खेतका ख्रिष्टियनहरुको छाता संगठन ईसाई समाज सुर्खेतले यहाँका स्थानीय सरकारलाई रु.पाँच लाख ३० हजार ४०० सहयोग गरेको छ । नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा परेकाहरुको राहत तथा उपचारका लागि भनेर समाजले यहाँका सातवटा स्थानीय तहमा सहयोग गरेको हो ।

ईसाई समाजका सुर्खेतका अध्यक्ष रेभ पाष्टर पदम गैरे नेतृत्वको टोलीले नगरपालिकाको विपद् कोषमा जम्मा गरेको रु.दुई लाख १० हजार ५०० रकम भौचर आज वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरेको छ । सो भौचर ग्रहण गर्दै कार्यवाहक प्रमुख ढकालले संकट बेला सरकारको सहयात्री भएर हिड्ने समाजको नेतृत्वप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभयो । “यो हाम्रा लागि अमूल्य सहयोग हो । यसको उचित उपयोग, व्यवस्थापन तथा परिचालन गरिनेछ,” उहाँले भन्नुभयो, “वीरेन्द्रनगर नगरपालिकाले पनि यो अकल्पनीय संकटको समाधानका लागि विभिन्न योजना बनाएर अघि बढेको छ ।” त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले चर्च, मन्दिर, मस्जिदलगायतका धार्मिकस्थलमा भएका भोका, समस्या परेकाहरु भए तिनको विवरण दिएर सहयोग पुर्याउन समाजलाई अनुरोध गर्नुभयो ।

उक्त विवरणका लागि सरकारलाई सहयोग गर्ने भन्दै समाजका अध्यक्ष गैरेले चर्चले विपन्न, गरिब, समस्यामा परेका र केही अपाङ्गता भएका नागरिकहरुलाई चर्चहरुले सहयोग गर्दै आएको बताउनुभयो । त्यस्तै, समाजले सु्र्खेतका अन्य स्थानीय सरकारहरुमा लेकबेसी नगरपालिकालाई रु.६८ हजार, गुर्भाकोट नगरपालिकालाई रु. ६५ हजार ९००, भेरीगंगा नगरपालिकालाई रु.६० हजार र पञ्चपुरी नगरपालिकालाई रु.५१ हजार सहयोग उहाँले जनाउनुभयो । त्यसैगरी, बराहताल गाउँपालिकालाई रु.५० हजार र चौकुने गाउँपालिकालाई रु.२५ हजार सहयोग गरिएको उहाँको भनाई थियो । अध्यक्ष गैरेका अनुसार मानवीयता बचाउन र सामाजिक दायित्व पुरागर्ने ध्येयले सरकारलाई यहाँका ३१ चर्चको सामुहिक सहयोग भएको हो ।

प्रतिकृया दिनुहोस्