OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शााहीमाघ १, २०७८सुर्खेत
५७१ पटक

 १ माघ २०७८, शनिबार

यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ । संघ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भिड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज मानिसहरु खचाखच भएको दृश्य देखियो ।

वीरेन्द्रनगर नगरपालिकाको दक्षिण अर्थात् अत्याधुनिक रंगशाला निर्माणधिनस्थलको उत्तरपट्टिको चौरमा एकाएक मान्छेहरु जम्मा भए र गोलो घेरा बनाएर देउडा खेल्न शुरु गरे । ती सबै साविक कर्णालीवासीहरु थिए । घरमा हुँदा देवदारका ठूला मुढा बाल्दै रातभरि जाग्राम बस्ने, एकाबिहानै चिसो पानीले नुहाइधुआई गर्ने, आलु पोल्ने, फर्सी, पिडालु, भट्याउला (कन्दमूल) पकाउने र सेल रोटीसहितका मिठामिठा परिकार खाएर माघे संक्रान्ति मनाउने उनीहरुले सुर्खेतमा देउडा खेलेरै यो पर्व मनाएका हुन् ।

खासगरी थारु समुदायले माघी अर्थात नयाँ वर्ष, मगर समुदायले मकर सकरातीका रुपमा मनाउँदा साविकको कर्णालीवासीले माघे संक्रान्तिका रुपमा मनाउँदै आएका छन् । आज पर्वको अवसर भएपनि अक्सर यहाँका नागरिकहरुले हरेक महिनाको १ र १५ गते देउडा खेल्ने गर्दछन् । कोरोना महामारीको बढ्दो संक्रमणका विषयमा थाहा भएपनि देउडाबाट आफ्ना बिरह, दुःख, गुनासाका पोख्नुका साथै भलाकुसारी गर्न पाउँदा त्यसैमा उनीहरुले बढी सन्तुष्टि लिएका छन् ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार डिल्लीप्रसाद तिवारीले देउडा खेल मात्र नभएर यहाँको साँस्कृतिक र मौलिक पहिचान भएको बताउनुभयो । “देउडाले यहाँको धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षलाई राम्रोसँग उजागर गर्दछ,” तिवारीले भन्नुभयो, “यो हाम्रो आपसी सम्बन्ध र सद्भावको संगम पनि हो । समग्रतामा देउडा कर्णालीको सम्पति हो ।” यसको संरक्षण र सम्वद्र्धनमा राज्यले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

तातोपानी गाउँपालिका जुम्लाका स्थानीय ज्येष्ठ महिला खुम्बिरा शाहीले देउडालाई कर्णालीको जीवनको संज्ञा दिँदै भन्नुभयो, “हामी देउडामै वेदना पोख्छौ, यसमै हाँस्छौं, यसमै रुन्छौ र यसबाटै समाजलाई सचेत बनाउछौं ।” यसले मनोरञ्जन दिनुका साथै आफन्त, दाजुभाई, दिदीबहिनीहरु बीच मिलन गराउने उहाँले बताउनुभयो ।

त्यस्तै, तिला गाउँपालिका जुम्लाका स्थानीय महिला कालिका भट्टराईले देउडा हामी भित्रका दुःख–सुख, समस्या, संघर्षका सबै कुरा बिसाउन सरल, सहज र मौलिक माध्यम भएको बताउनुभयो । उहाँका अनुसार आज परेको माघे संक्रान्ति पर्व देउडा खेलेरै रमाइलो गरिएको छ ।

माघे संक्रान्तिका कारण आज राजधानीको मुख्य शहरमा भिड भएपनि भोलिदेखि नहुने गरी आज राती १२ बजेबाट स्मार्ट लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासनले आज जारी गरेको १२ बुँदे निर्देशन रहेर जनस्वास्थ्यको मापदण्ड पालनका लागि मानवीय गतिविधि सञ्चालन गर्न आइतबारदेखि प्रहरी परिचालन गरिनेछ ।

प्रतिकृया दिनुहोस्