OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ४, २०७८सुर्खेत
८६६ पटक

४ पुस २०७८, आईतबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले माओवादी केन्द्र जनताको माउ पार्टी भएको दावी गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) वीरेन्द्रनगर नगर समितिद्वारा आज सुर्खेतमा आयोजित घाइते, बेपत्ता तथा सहिद परिवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले माओवादी पार्टी नेतृत्वको क्रान्तिले मुलुकमा नयाँ व्यवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “गरिब, दलित, महिला, सीमान्तकृत, उत्पीडित, अल्पसंख्यक, आदिवासी÷जनजाति, उपेक्षित वर्ग, जाति, लिङ्ग, भाषाभाषी र धर्मावलम्बीहरुलाई मौलिक हक प्राप्त भएको छ । यो सहिद, बेपत्ता र घाइते योद्धाको त्याग तपस्या र बलिदान हो । माओवादी केन्द्रको उपलब्धि हो ।”

अहिले राज्यका विभिन्न निकायमा सबै वर्गको अपेक्षित सहभागिता हुनु र मुलुकमा नयाँ संविधान निर्माण भएर संघीय संरचना कार्यान्वयनमा आउनुमा पनि माओवादीको १० वर्षको संघर्षको उपज भएको अध्यक्ष केसीले जिकिर गर्नुभयो । उहाँले माओवादी संघर्षको क्रममा भएका घाइते, बेपत्ता र सहिद परिवारहरुको समस्या समाधानका लागि कार्य योजना निर्माण गरेर अघि बढ्ने र प्रदेश सरकारले निर्माण गर्ने वा गरेका ऐन, नियमावली द्वन्द्वपीडितमैत्री बनाउन पहल गर्ने बताउनुभयो ।

उहाँले घाइेत, बेपत्ता र सहिदहरुको योगदानले आज मानव भएर बाँच्ने अवसर प्राप्त भएकोले त्यसमा गौरव गर्नुपर्ने जनाउनुभयो । कर्णालीमा गुटको राजनीति गर्नेलाई निरुत्साहित गर्ने भन्दै पूर्वमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले माओवादी केन्द्र गुटविहिनको पार्टी बनाउने प्रयासमा निरन्तर अघि बढ्ने जनाउनुभयो ।

कार्यक्रममा सहिद चित्रबहादुर ओलीको छोरी वीरेन्द्रनगर निवासी रेखा ओलीले पार्टीको नीति, विचार, सिद्धान्त र आदर्श ठिक हुँदा पनि व्यक्तिका कारण सहिद, बेपत्ता तथा घाइते परिवारहरुका पीडा पार्टीले सम्बोधन गर्न नसकेको बताउनुभयो । त्यस्तै, नरहरिनाथ नगरपालिका कालीकोटका बेपत्ता परिवारका सीता विष्टले देखावटी सहयोग गरेको आरोप लगाउनुभयो । त्यस्तै, पञ्चपुर नगरपालिका निवासी घाईते चेत सिग्देलले पार्टीले आवश्यक व्यवस्थापन नगरे समस्या अँझै बढ्ने औंल्याउनुभयो ।

सहिद परिवार समाजका केन्द्रीय सदस्य शान्ति ढकालले तन, मन र शरीर दिएर निर्माण गरेको पार्टीको पछिल्लो अवस्थाले चिन्ता जन्माएको प्रतिक्रिया दिनुभयो । हिजो राजतन्त्र अन्त्य गर्न, नयाँ व्यवस्था ल्याउन र जनताको जीवन परिवर्तनका लागि अब्बल मष्तिष्कहरु गुमाउन परेको बताउँदै केन्द्रीय सदस्य ढकालले योगदानको कदर र नातावादका आधारमा अवसर दिईने प्रवृतिलाई पूर्णरुपले अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

तिला गाउँपालिका ८ जुम्लाकोट जुम्लाका द्वन्द्वपीडित हर्कबहादुर रावतले आफ्ना माग र समस्याका बारेमा पार्टी र सरकार कसैले सुनुवाई नगरेको दुखेसो गर्नुभयो । त्यस्तै, सोही गाउँपालिका ९ राँसागाउँ जुम्लाका कालीबहादुर रावतले पार्टीले आफुहरुलाई चिन्न छोडेको गुनासो गर्नुभयो । पार्टीले सहिद, बेपत्ता र घाइते परिवारको उचित व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव थियो ।

द्वन्द्वपीडित महिलाद्वय कल्पना शाही र मञ्जु केसी (धमला)ले घाईत भएका कारण पछि परिएको भन्दै जंगलको जीवनबाट पार्टी सरकारमा पुग्दा पनि आफूहरुको उचित व्यवस्थापन हुन नसकेको जनाउनुभयो । पञ्चपुरी नगरपालिका ८ सुर्खेत निवासी घाइते रणबहादुर महताराले द्वन्द्वपीडितहरुलाई सीपमूलक व्यवसायको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

माओवादी केन्द्र वीरेन्द्रनगर नगर समितिका अध्यक्ष रत्न गाहा मगरले द्वन्द्वपीडितहरुका समस्या बुझेर समाधान गर्ने योजनाका साथ अघि बढ्ने विश्वास दिलाउनुभयो । उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडितहरुसहित माओवादी केन्द्रका प्रदेशस्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्