कात्तिक २५ गतेदेखि नै जनजणना गर्न छाङरु र तिंकर जाने योजनामा थियौं। भारतसँग पास माग्ने कुरा भइरहेको थियो। भारतले आज हुन्छ, भोलि हुन्छ भनेर पास दिन आनाकानी गर्यो। भारतले पास नदिने निश्चत भएपछि हामीले मंसिर २ गते नेपालकै भूमि प्रयोग गरेर जाने योजना बनायौ’ ३ गते खलंगाबाट हिडेर ४ दिनको पैदल यात्रापछि छाङरु र तिंकर पुगेका दार्चुलाका सहायक जिल्ला जनगणना अधिकृत खगेन्द्र कार्कीले आफ्नो यात्रा अनुभाव सुनाउनुभयो ।
प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना यही मंसिर ९ गते सकिएको छ। कात्तिकमा सूचिकृत भएका परिवारको कात्तिककै २५ गतेदेखि मंसिर ९ गतेसम्म गणना भएको हो। राष्ट्रिय तथ्यांक विभागका अनुसार अहिले अतिक्रमित भूमि बाहेक देशका सबै ठाउँमा गणना भइसकेको छ। सुदूरपश्चिम प्रदेशको हकमा समेत गणनाको काम सकिएर अन्तिम विवरण सार्वजनिक गर्ने काम भइरहेको छ। तर सुदूरपश्चिमकै दार्चुलामा पर्ने दुई बस्ती छाङरु र तिंकरमा भने जनजणना गर्न ज्यान नै जोखिममा राख्नुपर्ने बाध्यता सिर्जना भयो। दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने ती बस्तीको गणना गर्न गणकले ज्यान हातमा राखेका थिए। भारतसँग सीमा नजिक पर्ने छाङरु र तिंकर नेपालसँगको सम्बन्ध बिच्छेदमा छन्। उक्त बस्तीमा पुग्नका लागि नेपालतर्फबाट गोरेटो बाटो समेत छैन। छाङरु र तिंकरका स्थानीय जिल्ला सदरमुकाम आउनलाई भारतको भूमि प्रयोग गर्दै आएका छन्। जनगणनाको टोलीले समेत भारतको बाटो भएर उक्त बस्तीमा जाने योजना बनाएको थियो। तर भारतलाई पटक–पटक आग्रह गर्दा पनि अनुमति नदिएको दार्चुलाका सहायक जिल्ला जनगणना अधिकृत कार्कीले बताउनुभयो। ‘मंसिर २ गते भारतले पास नदिने निश्चत भयो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि हामीले पनि आफ्नो देशको भूमिलाई जनगणनामा अटाउनुपर्छ भनेर पैदलै जाने योजना बनायौँ।’
मंसिर ३ गते दार्चुलाका सहायक जिल्ला जनगणना अधिकृत कार्कीसहितको टोली गणनाका लागि पैदलै जान तयार भयो। उनको टोलीमा एक जना गणक र जनगणना कार्यलयकै सहयोगी लोकेन्द्र टेर पनि थिए। तर गणकले भने पैदल जान सम्भव छैन भन्दै उक्त टोलीबाट बाहिरिएका थिए। बाँकी सहायक जिल्ला जनगणना अधिकृत कार्की र कार्यालय सहयोगी मंसिर ३ गते बिहान छाङरु र तिंकरका लागि पैदल निस्किए। भारतले अनुमति नदिएपछि विकल्प हवाई यात्राको पनि थियो। तर प्रतिकूल मौसमका कारण हवाई यात्रा सम्भव भएन। अन्तिम विकल्प भनेको पैदल नै हो भनेर उक्त टोली बाटोमा आवश्यक पर्ने सामानसहित हिँडेको थियो।
मंसिर ६ गते छाङरु पुगेको उक्त टोलीले ४ दिनको पैदल यात्रामा विभिन्न अप्ठ्योको सामना गर्नुपर्यो। गोरेटो बाटो समेत नभएको उक्त स्थानमा सडक सुविधा हुने त कुरै भएन। विगतमा उक्त बस्तीका स्थानीय आउजाउ गर्ने बाटो पनि पहिरोले छेदविच्छेद गरेको थियो। अहिले स्थानीयले पनि उक्त बाटो हिँड्न छाडेको धेरै भयो। त्यसकारण बाटो पत्ता लगाउन निकै मुस्किल भएको सहायक जिल्ला जनगणना अधिकृत कार्की बताउँछन्। ‘पुरानो बाटोको नाम निशान नै छैन। सबै पहिरोले लगेको छ,’ उहाँले भन्नुभयो, ‘तल महाकाली, माथि भिरको बाटो हिड्नुपर्ने।’
२ जनाको टोलीलाई बाटो देखाउने एक जना स्थानीय पनि थिए। उक्त भूगोलको बारेमा जानकार लेकमा बाख्रा पाल्ने स्थानीयसँग उनीहरुले सहयोग मागेका थिए। स्थानीय देखाएको बाटो पनि सहज थिएन। भिरमा हिड्नुपर्ने बाध्यता छ। गाज्यौँ (घाँस) को सहारामा हिँड्नु परेको कार्कीले बताउनुभयो। ‘त्यताबाट खसेपछि सिधै महाकाली पुगिन्छ,’ उहाँले भन्नुभयो, हाम्रो एक रात दुब्लिङ्गको एक होटलमा रात बिताएको थियो भने बाँकी दुई रात बाटोमा पर्ने खर्कमा बितेको थियो। मंसिर ६ गते छाङरु पुगेको टोलीले जनगणनाको काम पुरा गर्यो। ९ गते तिंकरमा समेत गणना गरेर सोही दिन हवाइै यात्रामार्फत उक्त टोलीले सदरमुकाम खलंगा फर्कियो। उक्त दुई बस्तीमा एक सय १४ घरधुरी रहेको छ। जनगणनाको टोलीसँग उक्त क्षेत्रका स्थानीयले हिँड्ने बाटो मात्रै भए सहज हुने गुनासो सुनाएका थिए। जिल्लामा अहिले जनगणनाको काम लगभग सकिएको जनगणना अधिकृत पदमराज पाण्डेले बताउनुभयो।
खलंगाबाट पहिलो दिन ब्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ, दोस्रो दिन थी र तेस्रो दिन बुदीमा बास बसेको र चौथो दिन छाङरु पुगेको कार्कीले बताउनुभयो। बाटो अधिकाशं क्षेत्रमा भत्किएकोले बुट्यानका मुना समात्दै केही ठाउँमा पहाड चढेर र कुनै ठाउँमा बाटो बनाएर यात्रा गरी छाङरुसम्म पुगेको कार्कीको भनाई छ । दुम्लिङभन्दा माथिल्लो क्षेत्रको मानवबस्ती छाङरुमा मात्र छ । दुई दिन राति भेडी गोठहरूमा बसेको कार्कीले बताउनुभयो । ‘थी’ र ‘बुदी’मा भेडी खर्कमा बसेको उहाँको भनाइ छ । जादाँ जोखिमपुर्ण यात्रा गरी चार दिन हिँडेर गएका थियौँ, आउँदा विभागले हेलिकोप्टरको व्यवस्था गरिदिएर २० मिनेटमै सदरमुकाम पुर्याइएको कार्कीले बताउनुभयो ।
लोकादर्पण अनलाईनबाट