OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १५, २०७६काठमाडौं
१४१६ पटक

१५ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार दिउँसो ट्वीट गरे, ‘स्वास्थ्य मन्त्रालयको अर्डरअनुसार अत्यावश्यक स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको आरए ४१७१ विमान चीनको ग्वान्जाउ उडेको छ । रााति १ बजेसम्म नेपालमा ती सामान लिएर आइसक्छ ।’

ट्वीटर र फेसबुकबाट एकसाथ यो जानकारी दिँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थिए । देशभर करीव १ लाख ३० हजार मानिस राख्न मिल्ने क्वारेन्टाइन बनाउने समितिको नेतृत्व गरेका भट्टराईको दिनचर्या क्वारेन्टाइनस्थल, विमानस्थल र उच्चस्तरीय समन्वय समितिको बैठकमा बित्ने गरेको छ ।

लकडाउनका कारण देशका विभिन्न स्थानमा अड्किएका पर्यटकलाई सम्बन्धित देशको खर्चमा स्वदेश फर्काउँदा व्यवस्थापनमा कुनै कमजोरी नहोस् भनेर उनी शनिबार विमानस्थल पुगेका थिए । शनिबारै कतार एयरको विमान आएर युरोपेली पर्यटक लिएर गयो । उनले विमानस्थलमै बसेर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पर्यटकको सबै परीक्षण गरे नगरेको रिपोर्ट लिए । विमानभित्रका कोही पनि बाहिर आएनन्, पर्यटक विमानभित्र पसे ।

चिकित्सकहरुका लागि पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) सहितका स्वास्थ्य सामाग्री ल्याउने तयारी भइरहेका मन्त्री भट्टराईले नेपाल एयरलाइन्सका विमान स्टाण्डबाइ राख्न भनिसकेका थिए । निजी कम्पनीले पनि अत्यावश्यक सामाग्री ल्याउन नेपाल एयरलाइन्ससँग विमान बुकिङ मागिरहेका थिए ।

मन्त्री भट्टराई पछिल्लो २४ घण्टा विमानको अनुमति लिनेदेखि कुटनीतिक र प्राविधिक काममा समेत आफैं खटिए ।

सामान्यतः अन्तर्राष्ट्रिय उडानको आकाश अनुमतिका लागि ७२ घण्टा समय लाग्र्छ । राष्ट्रपतिको भ्रमणको बेला चार्टर विमानले समेत अनुमतिका लागि ७२ घण्टा पर्खिनुपर्छ । यसपटक नेपाल सरकारसँग त्यो ७२ घण्टाको सुविधा पनि थिएन ।

मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई परिचालित गरे । औपचारिक अनौपचारिक संयन्त्रहरु प्रयोग भए । परराष्ट्र मन्त्रालयले पनि कूटनीतिक पहल गर्‍यो । र भारत, बंगलादेश, म्यानमार र चीनबाट १२ घण्टामै नेपाल एयरलाइन्सको चार्टर विमानले ‘रुट परमिट’ पायो ।

जबकी ७२ घण्टाको परमिट पर्खिनुपरेको भए भए अत्यावश्यक मेडिकल सामाग्री नेपाल आइपुग्न अरु चार दिन लाग्ने थियो । त्यसपछि नेपाल एयरलाइन्सले चार्टर विमानको भाडा बापत १ लाख ५३ हजार अमेरिकी डलरको बिल स्वास्थ्य मन्त्रालयमा पठायो ।

तर स्वास्थ्य मन्त्रालयले अहिले यो रकम तिर्न पैसा नभएको बतायो । त्यसपछि पर्यटनमन्त्री भट्टराई आफैं जमानी बस्न अघि सरे । उनले निगम व्यवस्थापनलाई स्वास्थ्य मन्त्रालयबाट विमान चार्टरको रकम भुक्तानी लिइदिने जिम्मा लिएपछि विमान उड्यो ।

अहिलेलाई इन्धन, ग्राउण्ड ह्याण्डलिङ, स्पेसलगायत सबै खर्च निगमले नै व्यहोर्ने भएको छ । स्वास्थ्यमन्त्री भानभुक्त ढकालसँग कुराकानीपछि मन्त्री भट्टराईले स्वास्थ्यबाट भुक्तानी लिने जिम्मा आफूले लिएको मन्त्रालय स्रोतले बताएको छ ।

मेडिकल सामग्रीहरु ल्याउन निजी क्षेत्रले पनि सरकारसँग अनुमित लिएर नेपाल एयरलाइन्सको विमान चार्टर गर्न खोजेका छन् ।

निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘आज स्वास्थ्य मन्त्रालयले चार्टर्ड गरेको हो । आजको उडानपछि हामी जहाज उपलब्ध गराउन तयार छौं तर आगामी दिनमा कुन निकायलाई कहिले जहाज चाहिन्छ भन्ने विवरण आइसकेको छैन ।’

पर्यटनमन्त्री भट्टराईले पनि रुट परमिट लगायतमा सरकारको तर्फबाट पहल गर्ने आश्वासन दिएका छन् ।

प्रतिकृया दिनुहोस्