OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
डिल्ली प्रसाद तिवारीकार्तिक ७, २०७८सिञ्जा जुम्ला,
६८३ पटक

गत हप्ता तीन दिनको लगातारको बेमौसमी बर्षाले देशभरी ठूलो धनजनको क्षति भएको छ । किसानहरुको पाकेको धानबाली नष्ट भएको छ । यो क्षतिबाट जुम्लाका किसानहरु पनि अछुतो रहन सकेनन् । बर्षाले जुम्लाको मार्सीधानको बालीमा निकै ठूलो असर गरेको छ । कतै खेतहरु बगर बनेका छन् त कतै पाकेका धानका खेतमा बालुवा भरिएको छ । काटेका धानका खेतमा पानी जमेर पनि धानबाली नोक्सान भएको छ ।

जुम्ली मार्सीधानको जतिचर्चा नेपाली बजारमा छ त्यो भन्दा बढि यसको साँस्कृतिक महत्व छ । जुम्ली किसानहरु र मार्सीधानको सम्वन्ध करिव सात सय बर्ष पुरानो छ । साताै शताब्दी देखिको किसानहरुको अनुभवलाई संगालेर जुम्लामा मार्सीधानको खेती भइरहेको छ । जलवायू परिवर्तन र किसानहरुको लापरबाही अथवा बेवास्ताका कारण मार्सीधान उत्पादन कार्यतालिकामा फेरबदलले मार्सी संस्कृति मासिने खतरा बढेर गएको छ । गुरु चन्दननाथको नाम बिनाको जुम्लीमार्सी संस्कृतिको विषय अपुरो रहन्छ । चन्दननाथ र लाछु जिउलो जुम्ली मार्सीधान संस्कृतिका मुख्य विषय हुन ।

को हुन् चन्दननाथ ?
मार्सीधान संस्कृतिको चर्चा गर्नुपूर्व संक्षिप्तमा यसको इतिहाँस खोतल्नुपर्ने हुन सक्छ । सिँजा साम्राज्यका पालामा सिँजा राज्यमा मार्सीधान उत्पादनको चलन थियो वा थिएन यो बारे सोधखोज हुनबाँकी छ । सूर्यमणी अधिकारीद्धारा लिखित पुस्तक खस साम्राज्यका ईतिहासको पेज ७६ मा उल्लेखित सिँजा साम्राज्यका राजा यक्षमल्ल निसन्तान भएपछि कल्यालवंशी राउलो बलिराजलाई राजा बनाइयो ।

सिँजा राज्य सन् १४०४ तिर बाईस राज्यमा बिभाजन भयो । बलिराजले सिँजा राजधानी हालको तातोपानी सुनारगाउँ (स्वर्णग्राम) मा सारे । त्यस पछि मार्सीधानको बीउ सुनारगाउँको नजिकै रहेको लाछु जिउलाको सानो खेत (फोक्टो) मापरिक्षण गरिएको मानिन्छ । रत्नाकर देवकोटाद्धारा लिखित पुस्तक कर्णालीकाे अथईतिमा मानसरोवर तीर्थाटन गर्न आएका योगी चन्दननाथले धानको बीउ कास्मीरबाट लिएर आएका थिए । अहिले पनि धानको न्वागी गर्दाका दिन अनिवार्य चन्दननाथलाई सम्झेर नयाँ चामलमा थिदियो बाल्ने चलन छ । गुरु चन्दननाथ कहाँका थिए भन्ने कुरा पत्ता लागेको छै्न ।

देवकोटाको किताबमा मार्सीधानको खेती गर्ने तरीकाको गीत परेको छ जसमा मार्सीधानलाई तुलसा भनेर सम्बोधन गरिएको छ । जुम्लामा मार्सीधानको नाम तुलसा राखिनु, भक्तपुरमा तुलजा वा तलेजु भवानीको मन्दिर भारतको राजस्थानका राजा हरिहरदेव सिंहले स्थापना गर्न लगाउनु र भारतको राजस्थानमा तुलजा भवानीको पुरानो भव्य मन्दिर रहनुले कतै चन्दननाथले धानको नाम आफ्नो कुल देवीको नामबाट त राखेनन् ? कतै गुरु चन्दननाथका पूर्खा राजस्थानका त थिएनन् भन्ने शंकागर्ने ठाउँ पनि राखेकाले भबिष्यमा चाख हुनेहरुकालागि यो खोजीको विषय हुनसक्छ ।

के हो मार्सी संस्कृति ?
संस्कृति पूर्खाका अनुभवबाट सिर्जित व्यवहारिक जीवन शैली हो । संस्कृतिमा पूर्खा देखिका चलन, व्यवहार तथा थितिहरु मिसिएका हुन्छन् । दशकौं सम्मको परिक्षण पछि मात्र मार्सीधान जुम्लामा उमार्ने, छर्ने, रोप्ने, गोड्ने, काट्ने, दिनहरु निश्चित गरिएका हुन् । यसमा पूर्खाका ती किसानहरुको ठूलो समय, मेहनत र अनुभव मिसिएको छ । जुम्ला जिल्ला भरीका किसानहरुको मार्सीधानको उत्पादन कार्यतालिका एउटै छ । यो हुनुमा यस क्षेत्रको हावापानी, जमीनको उचाईृ, धानको प्रकृति, ब्यवस्थित सिँचाई आदि कारण प्रमुख हुन सक्छन् ।

जुम्लामा चैत्र १२ गते धानको बिउ केलाएर पानीमा भिजाउने गरिन्छ । चैत्र १६ गते बिउ पानीबाट निकालेर घाममा सुकाउने चलन छ । दिनभरी सुकाएको बीउ साँझ अगेनाको नजिक सल्लाका डालीहरुले ढाकेर कपडाले छोपिन्छ । दियो बालेर बिउको पूजा गरिन्छ । छिमेकीहरुमा चिउरा बाडेर खुशियाली मनाइन्छ । चार दिन सम्म बिहान बेलुकी सफा पानी बिउमा छरेपछि चैत्र २० गते तयार गरेको खेतमा छरिन्छ । यो दिनमा सबैले बिउ छरेको उपलक्ष्यमा भव्य रुपमा तिहार मनाउछन् । जसलाई बिच्छति भनिन्छ । नयाँ बर्षको दिन महिलाहरुको तागा लगाउने र बेर्ना पुज्ने दिनहो । जसलाई तागा संक्राति र भूम्यापूजा भनिन्छ ।

सामान्यतःजौं पाकेपछि जेष्ठको दोस्रो हप्ताबाट रोपाई गर्ने कृषि तालिका हो । असार १५ पछि गोडाई, साउन १५ पछि पुन गोडाई गर्ने गरिन्छ । भदौमा खेतमा भएको तातोपानी काटेर फाली चिसो पानी सिँचाई गर्ने चलन छ । त्यसपछि कार्तिक ६ गते महिलाहरुले नयाँ बर्षमा लगाएको तागानदीमा सेलाउने, नुहाइधुवाइ गरेर मिठा परिकार तयार गरी परिवारका सबैजना बसेर खाने, रमाइलो गर्ने र बेलुकातिर धानथुपार्ने खलो तयार गरेपछि भोलीपल्ट देखि धान काट्न शुरु गर्ने मार्सीधानको कार्यतालिका हो । धान काटिसके पछि दाँई हालेर धान भकारीमा हाल्ने र बिस्कुन सुकाएर ओखलमा कुट्ने बेला सम्मका गति बिधिमार्सी संस्कृति हुन । समग्रमा मार्सीधानको उत्पादन कार्यतालिका किसानका गतिविधिमार्सी संस्कृति हो ।

“संस्कृति पूर्खाका अनुभवबाट सिर्जित व्यवहारिक जीवन शैली हो । संस्कृतिमा पूर्खा देखिका चलन, व्यवहार तथा थितिहरु मिसिएका हुन्छन् । दशकौं सम्मको परिक्षण पछि मात्र मार्सीधान जुम्लामा उमार्ने, छर्ने, रोप्ने, गोड्ने, काट्ने, दिनहरु निश्चित गरिएका हुन् । यसमा पूर्खाका ती किसानहरुको ठूलो समय, मेहनत र अनुभव मिसिएको छ । जुम्ला जिल्ला भरीका किसानहरुको मार्सीधानको उत्पादन कार्यतालिका एउटै छ । यो हुनुमा यस क्षेत्रको हावापानी, जमीनको उचाईृ, धानको प्रकृति, ब्यवस्थित सिँचाई आदि कारण प्रमुख हुन सक्छन् । ”

हतारो किन ?
पहिला पहिला कार्तिक ६ गतेलाई चैत्र २० गते जत्तिकै तिहारका रुपमा मनाउने चलन थियो । यो कार्यतालिकामा फेरबदल भए गाउँमा दण्डित हुनुपर्ने मार्सीधानको संस्कृति थियो । बिगत केहीबर्ष यता जुम्ली किसानहरुको कृषि कार्यतालिका हतारोको छ । जसले कमजोर किसानहरुले दु:ख पाएका छन् । जुम्ली किसानहरुमा हतारो किन छ ? यो कुरा बुझ्न सकिएको छैन । जुम्ली किसानहरु काँचो स्याउ टिप्न हतारिएका छन् । कतै नपाकेको मकै छोडाउन तयार रहेका छन् भने कतै हरियो सिमी टिपेर घरको छतमा सुकाउन राखेका छन । किन भनेर प्रश्न गरे आउने उत्तर निश्चित छन । पछि परिन्छ, बर्षाले विगार्छ, पशुचौपायाले खाइदिन्छन् । पछि पर्ने बर्षाले बिगार्ने र पशुचौपायाले खाने डरले किसानहरु नपाकेको बाली टिप्न बाध्यछन् ? किसानहरुका यी तीन डर भगाउने उपाय के छन् ? यी विषयलाई जुम्लाका कृषि विशेषज्ञ तथा सरोकारवालाहरुले मौसमका भरपर्दा सूचनाहरु र जनचेतना मार्फत सम्बोधन गर्न जरुरी छ ।

अन्त्यमा

जुम्ली किसानहरुको पटक पटकको उत्पादन परिक्षण पश्चात बनेको मार्सीधान उत्पादन कार्यतालिकामा बिगतका केही बर्ष देखि फेरबदल आएको छ । जलवायू परिवर्तनको प्रभाव मूल्याङ्कन पनि गरिएको छैन । हचुवा र हतारोमा जौं बाली नपाकेकै काटेर जेष्ठको पहिलो हप्ताबाट रोपाई गर्ने चलन बढेको छ । किसानलाई असोज २० पछि खेतका भिट्टा तिरका धान नपाकेकै अवस्थामा काटेर दाँई हाल्ने हतारो भएको छ । जसबाट एकातिर जौं बालीको उत्पादन घटेको छ भने अर्को तिर जुम्ली मार्सीधानले परम्परागत उत्पादन कार्यतालिका बमोजिम पूर्ण पाक्ने अवधि पूरा गरेको देखिदैन । धानको उत्पादन घटेर पलाटो बढ्ने भएको छ ।

परिपक्क रुपमा धान बाली नपाकेर मार्सीधानको गुणस्तर घट्ने संभावना बढेको छ । त्यसैगरी मौसमको प्रतिकुलताले दुख दिइरहेको छ । विशेष गरी जुम्लाका किसानको जाडो छल्न वा अन्य पेशाका लागि तराईतिर जाने हतारोका कारण बालीहरु पोटिलो भई पाक्न पाएको छैन । यो हतारोले मार्सीधान संस्कृति सँग जोडिएका हाम्रा मौलिक पर्वहरु तागा विसर्जन, खलो काट्ने र खेती संस्कृतिमा महिलाको योगदानको रुपमा रहेको चाड लोप हुदै जाने अवस्थामा पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्