OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
डिल्लीप्रसाद तिवारीआश्विन २४, २०७८जुम्ला
२८२५ पटक

२४ असोज २०७८, आईतबार

केही वर्ष अघिदेखि सिँजा सभ्यताको विषयमा कुरा उठ्न थालेका छन् । कहिले देउडा खेल र जात्रामा सिँजा सभ्यताका विषय उठ्छन् त कहिले आमासभा र कार्यक्रमहरुमा । कतै सिँजा सभ्यताका नाममा संस्था दर्ता भएका छन् भने संग्रहालय स्थापनाका लागि कामहरु थालनी भएका छन् । स्थानीय चुनाव पछि सिँजा क्षेत्रमा राष्ट्रियस्तरका उच्च राजनितिक तथा पदाधिकारी नेतृत्वहरुबाट भ्रमणहरु भएका छन् । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, त्यसबेलाका एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिँजा गाउँपालिकाबाट र उपराष्ट्रपति नन्दबहादुर पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कनकासुन्दरी गाउँपालिकाबाट सिँजा सभ्यताको संरक्षण र विकासका विषयमा बोलेका छन् ।

जुम्लाका संघीय सांसदसँग राष्ट्रिय सभाका विषयगत समितिका दश जनाको टोली पनि सिँजा क्षेत्रमा आएर अन्तरक्रिया गरेको छ । कर्णाली प्रदेशका पूर्व कानुनमन्त्रीले सिँजा सभ्यताको संरक्षण तथा विकासको विषयमा प्रदेश सभामा विधेयक दर्ता गराएका छन् । एकातिर सिँजा सभ्यताका विषयमा यसरी राष्ट्रिय, प्रदेश स्तरीय र स्थानीय तहबाट आवाजहरु उठिरहेका छन् । तर हामी सिँजा क्षेत्र तथा सिँजा सभ्यतालाई माया गर्नेहरुबाट परिणाममुखी कार्यको लागि पहल भएको देखिदैन । सिँजा क्षेत्रको अपनत्व लिने हिमा, सिँजा, र कनकासुन्दरी गाउँपालिकाहरुले आफ्नो कार्यकाल सकिनै लाग्दा पनि आपसी समन्वय र विकासको पहल गर्न सकेनन् ।

सिँजा सभ्यताको संरक्षण र विकासका विषयमा सिङ्गो देश तातिरहेका बेला हाम्रा स्थानीय तहहरु बाटो खन्न र कुलो बनाउनमा मात्र सिमित हुनुले यो महत्वपूर्ण अवसर गुम्ने खतरा पैदा भएको छ । आखिर हाम्रा स्थानीय तहहरु किन उदासिन भएका छन् ? मेरो विचारमा कि त स्थानीय तहहरुलाई सिँजा सभ्यताको महत्वलाई कम आँकेका छन् या त यिनीहरुमा सीमित आफ्नो पेरिफेरी नै सिँजा सभ्यता हो भन्ने भ्रम छ । सम्पूर्ण नेपाली भाषीको जनजीवनसँग गाँसिएको सिँजा सभ्यताका विषयमा कम जानकारी भएर महत्व नबुझिनु पनि राम्रो मानिदैन । किनभने समय निकै घर्किसकेको छ ।

सिँजा सभ्यतालाई एउटा गाउँको सीमित भूगोलमा कैद गर्न खोजिनु पुरानो सिँजाली मल्ल राजाको दरवार ठड्याउन खोज्नु हो । हामीलाई धाडो परेर एक रातमा एक गाउँ नै लुटी दरबारमा लगेर मासुभात खाने त्यो पिडक र आततायी दरबार ब्युताउन खोज्नु हाम्रा लुटिएका पुर्खाको अपमान हो । यो कुनै पनि हालतमा राम्रो होइन । हामीलाई सिँजा सभ्यता चाहिएको हो । सिँजा सभ्यता भित्र शासक आउन सक्छ । तर भूमिकामा सिँजा सभ्यताको विकासमा योगदान दिएका हाम्रा समग्र पुर्खाहरु अटाउनु पर्दछ ।

सभ्यता भन्नाले निश्चित समूदाय वा भूगोलमा छरिएर रहेका मानिसहरुको प्रभावकारी र विकसित जीवनशैलीलाई बुझाउछ । तुलनात्मक रुपमा उच्च साँस्कृतिक र प्राविधिक विकास भएको अवस्थालाई सभ्यता भनिन्छ । विश्वका प्राचीन तर प्रसिद्ध दशवटा सभ्यताहरु जसले मानव समाजलाई तुलनात्मकरुपमा विकसित र गुणस्तरीय बनाउन मद्दत गरेका थिए । टर्की, ग्रीस र सिरियाको बीचमा विकसित भएको मेसोपोटानियाको सभ्यता, पाकिस्तान, अफगानिस्तान र हिन्दुस्तानको बीचमा विकसित भएको सिन्धु घाँटी वा इन्दुजको सभ्यता, इजिप्टको सभ्यता, ग्वाटेमाला र साल्भाडोरको माया सभ्यता, पँहेलो नदीको आसपासबाट विकसित भएको चिनिया सभ्यता, ग्रीक र पर्सियन सभ्यता, रोमन सभ्यता, मेक्सिकोको अजटेक सभ्यता र पेरुको इनकान सभ्यताहरुले छरिएर रहेका मानव बस्तीहरुलाई व्यवस्थित र तुलनात्मकरुपमा उच्च बनाएका थिए ।

एघारौ शताब्दीमा खारी प्रदेशबाट आएका नागराजले सिँजामा राज्य स्थापना गरेपछि सिँजा सभ्यताको पृष्ठभूमि तयार भएको मानिन्छ । इतिहासकार बालकृष्ण पोखरेलले खस राज्यको इतिहास भन्ने पुस्तकमा मुसलमानको आक्रमणबाट बच्न भारतको करतारपुरबाट भागेर खारीका राजाको शरणमा आएका करतारपुरे राजाहरुले राजकुमारीलाई भेटी चढाएपछि नागराज र करतारपुरे राजाहरु सिँजा उपत्यकामा आई राज्य स्थापना गरेको कुरा उल्लेख गरेका छन् । सिँजा राज्यमा चल्ल र मल्लहरुले राज्य गरिरहँदा सिन्धु सभ्यता बोकेर आएका करतारपुरे र पहेलो नदीको चिनियाँ सभ्यता बोकेर आएका नागराजले संयुक्तरुपमा राज्य सञ्चालन गरी मिश्रित सँस्कृतिको विकास गरेको देखिन्छ ।

इन्दुज सभ्यताले दिएका महत्वपूर्ण उपलब्धिहरु मध्ये गहनाहरु, कुवा, पिङ, धारा, ढल निकास, कटन उद्योग, रंगहरु, ढुङ्गा र ईटाहरु, मैदान वा रंगशालाहरु, पत्थरहरु, खाने तेल, पश्मिना आदि महत्वपूर्ण मानिन्छन् । त्यसैगरी चिनियाँ सभ्यताले कागज, चङ्गा, सियो, रक्सी, रेशम, रेशममार्ग, कम्पास, फलाम, स्टिल, बारुद, पाङ्ग्रा, पानी घट्ट, ग्रेटवाल, सिस्मोग्राफ, हलो, इनार, माटाका भाँडाहरु आदिको आविस्कार गरेर जनजीवन सहज बनाएको देखिन्छ ।

सिँजा सभ्यता सिन्धुघाँटी वा इन्दुज सभ्यता र चिनिया सभ्यताको प्रभावका बीच विकसित भएको सभ्यता हुँदा पनि सिँजा सभ्यतालाई सिँजाको माटोको सभ्यता, पानीको सभ्यता र सिँजाको बिरुवाको सभ्यताबाट खोजी गर्नुपर्ने हुन्छ ।

सिँजा र माटोको सभ्यता

पृथ्वीको माथिल्लो तह माटो हो । माटोलाई मुख्यतया प्रकृति र कृषिसँग जोडेर हेर्ने गरिएको पाइन्छ । कृषि माटोले संस्कृति, सभ्यता र जनजीवनलाई जन्माउछ । यसैबाट सिर्जना, प्रविधि र साहित्यको विकास हुन्छ । वास्तवमा संस्कृति माटोमा गरिने खेती हो । बीउको तयारी देखि रोपाई, गोडाई, कटाई, सुकाई, चुटाई, कुटाई, पिसाईसम्मका क्रियाकलापहरु, बास र कपासका लागि प्रयोग गरिने प्रविधि, ज्ञान, कला, सीप, आदि माटोसँग जोडिएका छन् ।

मानिसको प्रभावकारी जीवनशैली पनि उत्पादन, प्रविधि, अवसर र अधिकारमा सीमित हुन्छ । जुन अन्त्यमा माटोसँग जोडिन्छ । माटोसँग आत्मादर्शन, धर्म, भाषा, साहित्य, स्वास्थ्य र नैतिकता जोडिएको हुन्छ । माटोको नष्टतासँगै उत्पादन प्रणाली अवरुद्ध हुन्छ । सभ्यताको विनास हुन्छ । सिँजा सभ्यता माटोसँग जोडिएको सभ्यता हो । गाँस, बास र कपासबाहेक जन्म, विवाह, मृत्यू लाई पनि माटोसँग जोडेर सिँजा सभ्यताको खोजी गरिनुपर्छ ।

सिँजा क्षेत्रमा अन्न उत्पादन र प्रयोग गर्दाका प्रविधि, सिप, कला, ज्ञान र समन्वयले सभ्यता तथा भाषाको उत्पति र साहित्यको प्रारम्भ भएको हो । त्यसैले सिँजाली भाषिका वा हालको नेपाली भाषा र सभ्यताको विकास समग्र सिँजा राज्यमा भएको हो । त्यसबेलाको सिँजा राज्यको राजधानी सिँजा र दुल्लुमा भएकाले लिखित प्रमाणका रुपमा शिलालेखहरु सिँजा र दुल्लु क्षेत्रमा भेटिएका मात्र हुन् । त्यसैले सिँजा सभ्यता जस्तो वृहत विषयवस्तुलाई कुनै सिमित घेरामा राखेर खोजे यसको सही नतिजा निस्किने छैन । सिँजा सभ्यतालाई जति फराकिलो गरी हर्ने प्रयास गरिन्छ त्यति नजिक पुग्न सकिन्छ ।

सिँजा र पानीको सभ्यता

जसरी पानी बिना जीवन संभव छैन त्यसरी नै जीवन बिना सभ्यताको कल्पना गर्न सकिदैन । सभ्यता माटोबाट टुसाउछ । माटो पनि कृषि कार्यबाट रंगिएर जीवनका रंगहरुमा परिणत हुन्छ । कृषिको निर्भरता पानीमा रहने भएकाले सिँजा सभ्यताको खोजी पानीको सभ्यताबाट खोजिनुपर्छ । सिँजा सभ्यताको जलप्रवाह प्रणाली, जलचरको शिकार प्रणाली, जलको प्रयोगबाट भएको प्रविधिको विकास र जीवनस्तरमा पारेको प्रभाव, जलबाट उत्पन्न प्रकोप नियन्त्रणका उपायहरु, जल पारवहनका लागि गरिएका उपायहरु, जलसँग जोडिएका आस्था र धर्म तथा विश्वास आदि खोजीको विषय हुनुपर्छ ।

सिँजा र बिरुवा सभ्यता

सिँजा सभ्यताको खोजीको अर्को पाटो बिरुवा सभ्यता हो । यो सिँजा सभ्यताले परम्परादेखि पर्यावरणीय सन्तुलन तथा पारिस्थितिक प्रणालीलाई बचाउन गरिएका उपायहरुको खोजीबाट गरिनुपर्छ ।

मानिस मरेपछि पिपल रोप्नु, थानहरु र मन्दिरहरुमा देवदार, खरी, चन्दन, ओखर आदिका रुख रोप्नु, चौतारामा वरपिपल रोप्नु र पानीको धारा बनाउनु, बिरुवा सभ्यताका उदाहणहरु हुन् । माटो सुहाउदो अन्नबाली, दालबाली, तेलबाली, फलफूल आदिका बिरुवा तथा बीउ ल्याउने र खेती सिकाउने व्यक्तिलाई पूजा गर्नु र देवतासमान कदर गर्नु सिँजाका बिरुवा सभ्यताका केही उदाहरणहरु हुनसक्छन् ।

हामीले सिँजा सभ्यताले शताब्दीऔंै अघिदेखि छोडेर गएका कला, ज्ञान, सीप, प्रविधिको समय अनुसार नवीकरण, परिमार्जन र सुधार गर्न सकेनौं । मौलिक र स्तरीय नौलोपन दिन सकेनौं । अर्को तिर त्यसैलाई पनि जोगाएर राख्न सकेनौं । कसैका आयतित कला, सीप, प्रविधि र ज्ञानको उपयोगले माटो सुहाउदो आशातीत परिणाम आउन सकेन । त्यसर्थ, समग्र सिँजा सभ्यताको विशेष प्रभाव क्षेत्र कर्णाली प्रदेश परनिर्भर र आर्थिक, सामाजिक, बौद्घिक तथा स्वास्थ्यका दृष्टिकोणबाट झन्झन् कमजोर हुदै गइरहेको परिप्रेक्ष्यमा यसको संरक्षण र विकास गर्न ढिलो गर्न हुँदैन ।

फोटो स्रोतः कर्णाली पिपुल्स एण्ड प्लेस २०२० र विभिन्न सामाजिक सञ्जालबाट ।

 

 

 

 

प्रतिकृया दिनुहोस्