OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १९, २०७८
९१७ पटक

१९ असोज २०७८, मंगलबार

आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर ६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समाथि छापा हानेको छ ।

कर छलेको समान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजश्व कार्यालयले मंगलबार साँझ सप्लायर्समा छापा हानेको हो । कार्यालयले कर छलेर ल्याएको २६१ प्याकेट झुम्का सुपर पावर सुर्ती फेला पारेको थियो । यस्तै, १४८ प्याकेट बल्ब छाप भएको सुर्तीसमेत बरामद गरेको छ ।

कर छली गरी अवैध बाटोबाट सुर्खेत भित्र्याईएको ४०९ प्याकेट सुर्तीजन्य बरामद गरिएको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले जानकारी दिनुभयो । “विशेष सूचनाका आधारमा सप्लायर्समा छापा हान्दा हामीले राजश्वको स्टिकर टाँसेको भेटेनौं,’ कर अधिकृत खत्रीले भन्नुभयो, “नियन्त्रणमा लिएको समान बमोजिम आवश्यक कानूनी कारवाहीका प्रक्रिया अघि बढाउँछौं ।” उहाँका अनुसार बरामद सामानको अनुसन्धान गर्नुको साथै थप छानबीनका लागि सञ्चालक लक्ष्मीप्रसाद भुसाललाइ बुधबार कार्यालयमा उपस्थित हुन निर्देशन दिईएको छ ।”

उक्त पसलमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत छापा हानेको थियो । छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरेको प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताउनुभयो । राजश्व कार्यालयले दोस्रो चरणको निषेधाज्ञामा समेत सप्लायर्सले अवैध सुर्ती बिक्री गरेको भेटिएपछि मुद्दा नै चलाइएको जनाएको छ ।

आन्तरिक राजश्व कार्यालयका अनुसार नेपाल प्रहरीको सहयोगमा गत आर्थिक वर्ष अवैध सुर्ती जफतबाट झण्डै रु.६० लाख राजश्व संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्