OnlinePana

आज : २०७८ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मनऋषि धितालभाद्र ३१, २०७८ थवाङ,
१३७ पटक

३१ भाद्र २०७८, बिहीबार

यसपटकको आधार क्षेत्रहरुको भ्रमण विगतका भन्दा रमाईलो र थप शिक्षाप्रद भयो । विद्रोहीहरुका केही वरिष्ठ नेताहरुसंग यसपटक केही दिन संगसँगै यात्रा गर्नु प¥यो र साँझ बिहानको समय कुराकानी पनि भए । एक संवाददाताका लागि यो महत्वपूर्ण अवसर थियो– विद्रोही नेताहरुका स्वभाव अध्ययन गर्ने, उहाँहरुबाट सिक्ने । मैले यसपटकको आधार क्षेत्रको भ्रमणमा वरिष्ठ विद्रोही नेताहरु जनतासँगै हिलाम्य भएर काम गरिरहेका, निथ्रुक्कै भिजेर ठुङ्गा बोकिरहेका देखें । राजनीतिक बहस र छलफलमा ब्स्त रहँदा मध्य राति बितिसके पछि साँझको खाना खाइरहेका हुन्थे । यतिबेला खाना निकै चिसो भइसकेको हुन्थ्यो । कहिले काँही रातभर चिसो भूर्इमा बसेर धिपधिपे मैन बत्तीको उज्यालोमा भावी राजनैतिक र फौजी कार्यनीतिहरुको वृहत् छलफल गरिरहेका हुन्थे ।

सरकारले भ्रमपूर्ण प्रचार गरेजस्तो विद्रोही बरिष्ठ नेताहरु कसैको पनि सुविधा सम्पन्न जीवन थिएन । उहाँहरुका परिवारका सदस्यहरु प्राय जनयुद्धका विभिन्न मोर्चाहरुमा कार्यरत थिए । सरकारको भ्रमपूर्ण प्रचारलाई गलत सावित गर्नेगरी उहाँहरुका छोरा, छोरीहरु युद्धमै कठोर संघर्षमय जीवन बिताइरहेका थिए । कयौं बरिष्ठ नेताहरुका परिवारका सदस्यहरु लामो समयको अन्तरालपछि महत र थवाङमा पुनर्मिलन भएका थिए र छिट्टै नै आ–आफ्ना मोर्चा तर्फ फर्केका थिए ।

माओवादी पार्टीको स्थायी समितिका वरिष्ठ सदस्य तथा पश्चिम केन्द्रीय कमाण्डका इन्चार्ज दिवाकरको सरलता देखि हजारौं जनता प्रभावित भएका थिए । पहाडी भू–भागमा भेटिनु भएका क. दिवाकर मैला पोशाकमा हुनुहुन्थ्यो । उहाँको पाइण्ट फाटेको थियो । यो गाउँमा पाइण्ट सिलाउने कल नभेटिएकाले उहाँले लामो दुरीसम्म त्यही पाइण्टले यात्रा पुरा गर्नुभयो । स्वास्थ्य स्थिति उहाँको राम्रो छ । कतिपय युवाहरुलाई यात्राका क्रममा उहाँ उछिन्नु हुन्छ । उकालो, ओरालोले उहाँको यात्रालाई रोक्न सक्दैन । न त अँध्यारोले नै । उहाँ चिसो धेरै सहन सक्नु हुन्छ । तर, धुँवा सहन सक्नुहुन्न ।माओवादी प्रवक्ता कृष्णबहादुर महरा भने ठीक उल्टो । उहाँ जति सुकै धुँवा होस्, अगेना छेउ बसेर आगो तापिरहनु हुन्थ्यो । संकटकालमा चरम सैनिक दमन खेपेको दाङसँग जोडिएको एउटा रोल्पाको बस्तीमा एक साँझ कमरेड महराले आफ्ना अन्तरंग अनुभूति सुनाउनु भयो । उहाँले संसदीय चुनाव लड्दा देखि यहाँका जनताले उहाँलाई सहयोग गरेका थिए । अघिल्लो वार्ता भंग भए लगत्तै कयौं दिन उहाँहरु यही गाउँमा बस्नु भएको थियो । यो गाउँमा वृद्ध देखि बच्चाहरुले कमरेड महरालाई चिन्थे । सञ्चो वेसन्चो सोध्थे। खाना खान हरेकले आफ्ना घरमा निम्तो गर्थे । उहाँ राति अबेरसम्म जनतासँग कुरा गरिरहनु हुन्थ्यो । उहाँलाई समर्थक शुभचिन्तकहरुको नाम र घर समेत स्मरण छ ।

एक साँझ धेरै जना एउटै गाउँमा बस्नु पर्ने भयो । एउटा घरमा दाल पकाउन लागियो र अर्को घरमा ढिडो बनाउन लागियो । क. महरा दाल पकाउदै आगो ताप्न र जनतासंग अबेरसम्म कुराकानी गर्न लाग्नु भयो । वन टाढै थियो । मैले घरमूलीलाई सोधें– “हामीले गर्दा दाउरा सकियो । तपाईलाई दुःख हुने भो ।” घरबेटीले जवाफ दिए– “हामीले आगो बाल्न लागेको दशवर्ष हुन लाग्यो । दाउरा सकिए अरु खोजौंला । कुनै दुःख छैन । आगो देशमा बल्नु पर्छ ।” हुन पनि हो । रोल्पा रुकुमबाट एक दशक अघि बल्न लागेको क्रान्तिको ज्वालाले अहिले सिंगो देशलाई ताप र प्रकाश दिइरहेको छ । देशभर सल्किएको छ ।

रोल्पामा यात्रागर्दा कमरेड महराको जुत्ताले अगाडिबाट जीब्रो निकाल्दै थियो । मेरो जुत्ताको पनि हालत त्यस्तै थियो । उहाँले झोलाबाट सुपर ग्लु निकाल्नुभयो र जुत्ता टालियो । वार्ताकालमा काठमाण्डौंमा जुलुशमा कमरेड महराले लगाउने यी जुत्ता अँझै केही महिना थेग्ने अनुमान गर्नुहुन्छ । “हामी कम्ब्याट पोशाकमै शहीद हुन पाउनुपर्छ ।” भन्ने जनसेनाका सदस्यको माग बमोजिम पार्टीले भर्खरै सवै जनसेनाका लागि नयाँ कम्ब्याट पोशाक र जुत्ता वितरण गरेको थियो तर कपिलवस्तुमा भेट हुनुभएका गत वार्ता टोलीका सदस्य तथा पोलिटब्युरो सदस्य मातृका यादव र रोल्पामा भेटिनु भएका प्रवक्ता महराले वार्ताकालीन पोशाक र उही पुराना जुत्ता लगाउनु भएको थियो ।

एक ठाउँ घना जंगलको बाटो यात्रा हुँदै थियो । उकालोमा पसिना बगाउँदै कमरेड महराले भन्नुभयो– “हाम्रो जनयुद्ध कस्तो अचम्म को भयो ।” उहाँ आफैले जनयुद्धलाई अचम्मको भन्ने संज्ञा दिएपछि जिज्ञासा थाम्न नसकी मैले साधें– “कस्तो अचम्मको ?” उहाँको जवाफ थियो– “कहिले १२ मिनेटको यात्रा हेलिकोप्टर चढ्नु पर्ने । कहिले १२ घण्टा हिड्दा पनि थकाई मेट्ने फूर्सद नहुने ।” उहाँले पछिल्लो वार्ताका अनुभवहरु पुरानो सत्ताका वार्ता टोली सदस्यहरुको नौटंकी, दासता र नीरिहता बारे पनि सुनाउनुभयो ।

एउटा चौतारीमा सुस्ताउदै कमरेड दिवाकर र महरा वारिपारिका बस्तीहरुका बारेमा कुरा गर्दै हुनुहुन्थ्यो । त्यहाँबाट प्यूठानको स्वर्गद्वारी र दाङको भालुवाङको टेलिफोन टावर समुद्रको छितिजमा देखिने दुश्मन सैनिकका पानी जहाजका मस्तुल जस्ता देखिन्थे । नजिकैको घना जंगल देखाउँदै कमरेड महरालाई मैले सोधैं– “कमरेड त्यो कुन शहर हो ?” धेरैले मेरो प्रश्न बुझेनन् । कमरेड महरा मरी मरी हाँस्न थाल्नु भयो– मेरो प्रश्नको जवाफ नै नदिईकन । क. दिवाकर “यो प्रश्न शहरी विकास मन्त्रीलाई सोध्नु होला भन्दै हुनुहुन्थ्यो । तर मैले प्रवक्ताबाटै जवाफ लिन प्रेसलाई सजिलो हुन्छ भनें । वार्ता कालमा उहाँहरुले अब हामी शहर पसियो जंगल फर्किदैनौं भन्दै गर्नु भएका भाषणलाई स्मरण गराउँदै मैले त्यो जंगललाई ‘कुन शहर हो ?’ भनेको थिए ।

एक पटक घण्टौं सम्म एउटै खोलैखोला हिड्नु प¥यो । पचासौं चोटी तर्दा र ढुङ्गा ढुङ्गा हिड्दा हामी सबै थाकेका थियौं । थकित अवस्थामै प्रश्न गरें– “कमरेड अब यस्तो बाटो कति छ ?” उहाँ व्यङ्गात्मक जवाफ दिंदै हुनुहुन्थ्यो– “सोझो बाटो हिड्ने र गाउँ पस्ने हाम्रो पार्टीको नीति नै छैन । अब खोलै खोल, खोलाको मुहान सम्मै । यात्रामा रहेका सबै हाँस्नु भयो । यात्रा रमाइलो भयो । यात्रामासंगै हुनुभएका कपिलवस्तु जनसरकार प्रमुख वाला थापा र दाङ्ग जनसरकार प्रमुख कुवेर वलीलाई क.दिवाकरले सुझाव दिनु भयो– “पार्टीमा पूर्णकालिन हुने सबै भाईबहिनीलाई पार्टीले दैनिक पढ्ने व्यवस्था गरिदिनु पर्छ । यो हामी अविभावकहरुको कर्तव्य हो । हाम्रो पार्टी पंक्ति भविष्यमा ल्याप्चे नबनोस् ।”

एउटा गाउँमा रात बस्दा ओछ्याउने कपडा थिएन । भूईमा प्रशस्तै धूलो जमेको थियो । कमरेड दिवाकरले कुचो खोजेर भूई बढार्नु भयो । स्थानीय जनतासँग पराल मागेर ओछ्याईयो र सुतियो । यो दिनको सुताई न्यानो भयो । भोलिपल्ट ओछ्याईएको पराल भूईमा एक त्यान्द्रो पनि नराखेर कमरेड दिवाकरले उठाउनु भयो । र, जनसेनाले बुझाई दिए । एक साँझ खाना पकाउन शुरु गर्दा कमरेड दिवाकर दाउरा खोज्न थाल्नु भयो । हामी बसेको घरमा तरुल ल्याइएका थिए । यात्रामा रहेका केही साथीले तरुल पकाएर खाने योजना बनाए ।

क.दिवाकरले सल्लाह दिनु भयो कि– “तरुल कोर्ने बहिनीले पैसा लिने भए खाउँ नत्र नखाऔं ।” तरुल कोर्ने महिला पनि के– कम । उनी भन्दै थिइन– “यो हाम्रो बगाल हो । हाम्रो बगलासँग पैसा लिन्न ।” जनताको एक त्यान्द्रो पराल पनि जोगाउन चाहने र तरुलको पनि मूल्य तिर्न चाहने माओवादी नेता कार्यकर्ता तर उनीहरुलाई आफ्नै मान्छे भएकाले पैसा लिन नचाहने जनता बीचको रमाइलो द्वन्द्व एकताको दृष्य मैले मष्तिस्कमा खिंचे ।

एक दिन अपरान्ह तिर कमरेड दिवाकर, पासाङ र अरु केही नेता कार्यकर्ताहरु एउटा गाउँ छोडेर अर्को गाउँतिर लाग्दै हुनुहुन्थ्यो । यात्रा संयोगवश फेरी सँगसँगै भयो । डिभिजन कमाण्डर पासाङले पुरानो तर मजबुत झोला बोक्नु भएको छ । झोलाका दाहिने देब्रे गोजीमा एउटा सानो स्टीच मेसिन र सियो धागो छ । जुत्ता र कपडा पुराना छन् । बाटोमा गुराँस फुलेका भेटिन्छन् । वारिपारि डाँडामा सेताम्य हिउँ फुलेको छँदैछ । कमरेड पासाङ दिवाकरलाई वार्ता भंग लगत्तै भीषण भीडन्त भएको भावाङको जंगल देखाउँदै त्यो भीडन्तको वर्णन गर्नुहुन्छ । ‘हाईटप’ कब्जा गरेको ‘घेराबन्दी गरेर सरकारी फौजलाई हायल कायल पार्दै लखेटेको र हजारौं राउण्ड आधुनिक हतियारका गोली कब्जा गरेका घटना विवरण सुनाउनु हुन्छ ।

छितिजमा देखिने सेतो रंग लगाएको एउटा भवन देखाएर पासाङ भन्नुभयो– “मैले पढाएको स्कुल त्यही हो । कहिले काहीं अहिले पनि सपनामा म स्कुलमा पढाइरहेको हुन्थे।” पत्रकारितामा एउटा भनाई छ– प्रश्न गर्ने मान्छे पाँच मिनेटका लागि मुर्ख हुन्छ । तर, प्रश्न नगर्ने मान्छे जीवन भर मूर्ख हुन्छ । मलाई जिज्ञासा जागि हाल्यो , डिभिजन कमाण्डर पासाण्ङलाई सोधें– स्कुलमा कुन विषय पढाउनु हुन्थ्यो ? उहाँको जवाफ थियो– “गणित, भूगोल, सामाजिक ।” त्यतिबेला क.पासाङ पश्चिमी नेपालका करीब चालीस जिल्लामा कार्यरत् जनमुक्ति सेनाका गुरु हुनुहुन्थ्यो । उहाँ जनमुक्ति सेनालाई युद्ध रणनीतिका जोड घटाऊ, भूगोल र समाजशास्त्र युद्धकै क्रममा सिकाई रहनु हुन्थ्यो । उहाँले तयार गरेका सैन्य विज्ञान सम्बन्धि आधा दर्जन पुस्तक अहिले विभिन्न स्तरका जनमुक्ति सेना सदस्यका हात–हातमा पाइन्छ । यहाँबाट इरिवाङको सुकिदह देखाउँदै बिगतमा सैन्य प्रशिक्षणका बेला त्यहाँ आफ्नो तिर नोक्सानी भएको स्मरण पनि गर्दै भन्नुभयो– ती तीन वटा टाकुरा र ती बीचको भूगोल ब्यारेक बनाउन निकै उपयुक्त छ ।

त्यहाँबाट राङसीको डाँडागाउँ माथिको टाकुरामा ठुल्ठुला चौरहरु देखिन्छन् । कमरेड पासाङ क्रान्ति सम्पन्न भएपछि त्यो चौरलाई हवाई मैदान बनाउन उपर्युक्त हुने बताउनु हुन्थ्यो। म विश्लेषण गर्छु– युद्ध लडिरहेको एउटा जनसैनिक कमाण्डर, बिगतमा आफूले पढाएको विद्यालयमा अहिले पनि पढाइ रहेको सपना देखिरहन्थे । र, क्रान्ति सम्पन्न भएपछि यही विकट बस्तीमा हवाई सेवा पु¥याउने भविष्यको परिकल्पना पनि गरिरहन्थे। दाउरा, घाँस गर्न बन आएका गाउँलेहरु र गोठालालाई कमरेड पासाङ अभिवादन गर्नुभयो । नमस्कार फर्काएर एउटी बुढी आमैले सोध्नु भयो– “ओहो † मैले बल्ल चिने । अब घर कहिले फर्कने बाबु र?” पासाङले हाँस्दै भन्नुभयो– “अब जितेपछि फर्कौला । तपाईहरुले आशिष दिनुहोस् आमै ।” ती बुढी आमा आशिष दिदैं हुनुहुन्थ्यो– “दुश्मनको नाश होस् बाबै तिम्रो जीत होस् ।”

पासाङ फूर्सद भएमा जनसेनासँग भलिवल खेल्नु हुन्थ्यो । क्यारेमवोर्ड र चेस पनि जनमुक्ति सेनाहरुले मनपराएर खेल्ने खेल हुन् । यात्राका क्रममा बाटोमा भेटिएका स–साना बजारमा जनमुक्ति सेनाका सदस्यहरु क्यारेमवोर्ड खेलिरहेका हुन्थे । क. दिवाकर क्यारेमवोर्ड खेलिरहेका जनसेनाको झुण्ड नजिकै गएर केही समय भूल्नु हुन्थ्यो । चिन्नेले आश्चार्य मान्दै अभिवादन गर्थे । कमरेड दिवाकर चेस खेल पनि निकै मन पराउनु हुन्थ्यो ।

एकदिन जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर जीत र वटालियन कमाण्डर जोहार बीच चेसमा चर्काचर्की परिरहेको थियो । सबै ठाउँमा कमजोरहरुको पक्ष लिन चाहने क.दिवाकर यहाँ पनि खेलको अन्ततिर हार्नै लागेका जोहारको पक्ष लिन थाल्नु भयो । तर भेरी–कर्णालीका जनसैनिक कमाण्डर जीतले विशेषका जनसैनिक कमाण्डर जोहारलाई हराइदिनु भयो । यसपछि जनमुक्ति सेनाका मंगलसेन पहिलो बिग्रेड कमिशार सुनिल र इन्चार्ज क.दिवाकर बीच चेस भिडन्त जारी थियो । खेलकुद पत्रकारितामा कुनै पनि दखल नभएकाले म त्यहाँबाट विदा भए ।

१७ वर्ष अगाडिको जनादेशमा प्रकाशित

प्रतिकृया दिनुहोस्