OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १८, २०७८सुर्खेत
३८८ पटक

१८ भाद्र २०७८, शुक्रबार

वीरेन्द्रनगर नगरपालिका कोरोना संक्रमणको रेड जोनमा भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले बताएको छ । कार्यालयका अनुसार भेरीगंगा तथा गुर्भाकोट नगरपालिका पहेलो जोनमा छन् । यहाँका छ वटा स्थानीय तह भने ग्रीन जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परेपनि जोखिम उठाएर आगामी सातादेखि विद्यालय खुलाउने तयारी भईरहेको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अंकभार ६५ भन्दा माथि कोभिड संक्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने जनाएको छ । यस हिसाबले वीरेन्द्रनगर नगरपालिकामा यतिबेलासम्म पनि कोरोना संक्रमण अपेक्षित रुपमा घट्न सकेको छैन ।

जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अंकभार भन्दा माथि कोभिड संक्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताउनुभयो । अधिकृत वाग्लेले भन्नुभयो, “वीरेन्द्रनगरको अंकभार ६६ छ । भेरीगंगा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अंकभारका लागि दिइएका सूचकहरुमा दुई हप्तामा कोभिड नयाँ संक्रमणको वृद्धि दर, मृत्युदर, वेड क्षमतालगायत रहेका छन् ।”

उहाँले सुर्खेतका विद्यालयहरु खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको जनाउनुभयो । पञ्चपुरी, लेकबेसी नगरपालिका साथै सिम्ता, चिंगाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना संक्रमण न्यून भएकोले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने उहाँको भनाई छ ।

मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । जसमा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याव्सन, एनप्याव्सन, शिक्षक महासंघ र शिक्षक अभिभावक संघ सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा पेश गर्नेछ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको विहीवार बसेको बैठकले स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आगामी सातादेखि सुर्खेतका सबै सामुदायिक र संस्थागत विद्यालयहरु खुल्ने बताउनुभयो

स्वास्थ्य संक्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने प्रजिअ रिजालले बताउनुभयो । दुई÷तीन दिनभित्र मापदण्ड निर्माण गरी प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उहाँको भनाइ छ ।

विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था हेरिनेछ । सुर्खेतका नौ मध्ये छवटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ग्रीन जोनमा परेकोले भौतिक रुपमा विद्यालय खुलाउन सकिने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्