OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १७, २०७८काठमाडौं
११८९ पटक

१७ भदौ २०७८, बिहीबार

यही भदौ १५ गते सदरमुकाम जुम्ला बजारमा राति ८÷९ बजेतिर ‘जुवातास खेल्दै गरेको र पैसा लुटेको काण्ड’ बाहिर आयो । बजार र त्यस आसपासका स्थानीयहरुले घरमै बसेर थोरै रमाईलो गर्दै गरेको अवस्थामा एकजना बर्दीधारी प्रहरीले तिनीहरुबाट करिब दुई लाख बराबर रुपैयाँ उठाएको भनेर हल्लाखल्ला गरियो ।

स्थानीय केही बुज्रुकहरुले पैसा लुटिएको भन्दै राति जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापालाई खबर गरे । प्रहरी नायब उपरीक्षक थापाले पैसा लुटिएको हो भने किटानी जाहेरीसहित प्रहरीमा निवेदन दिन आग्रह गरे । प्रहरी प्रमुखसँग उनीहरुले त्यही अनुसार अघि बढ्ने कुरा त गरे तर बुधबार बेलुकासम्म उनीहरुले जाहेरी दिएनन् ।

पैसा लुटेको आरोप लगाईएका प्रहरीले जुवातास खेलेको अवस्थामा घरभित्र पुगेर रु.१० हजार पैसा लिएको स्वीकार्दै बाँकी लिएको छ भन्ने लागे आफूविरुद्ध उजुरी दिनपनि ढाडस दिए । उनका अनुसार पैसा लुटेको आरोप लगाउनेहरु आफै तास खेलिरहेको थिए । त्यही अवस्थामा ती प्रहरी पुगेर पैसा उठाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ती प्रहरी जवानलाई त्यस कार्यमा खटाईएको थिएन । बरु आफूहरु तास खेलिरहेको भन्न नसक्नेहरुले नै आफ्नो पैसा लुटिएको खबर गर्दा प्रहरी प्रमुख थापालाई जानकारी गराईएको थियो । आरोपितले तास खेल्नेहरुबाट केही पैसा उठाएको कुराले घटनामा संलग्न थिए भन्ने पुष्टि भईसकेको छ । यद्यपि आफू लुटिएको भनेर खबर गर्नेहरुले नै ती प्रहरीविरुद्ध उजुरी दिएका छैनन् ।

उनीहरुले बिहीबारसम्म पनि प्रहरीमा उजुरी दिएनन् । यसले के प्रष्ट पार्छ भने प्रहरीले पैसा लुटेको भन्नेहरु नै जुवाखालमा थिए । प्रहरीमा उजुरी दिँदा आफूहरु नै जुवाखालमा भएको कुरा पर्दाफाँस हुने हो कि भन्ने डरले भित्रभित्रै मिलाउने प्रयासमा लागेको स्रोतबाट खुलेको छ । उनीहरुलाई अहिले आफ्ना कर्तुत कसरी लुकाउने भन्ने मामला हम्यहम्य छ ।

यता प्रहरी नायब उपरीक्षक थापाले कोरपाटीसँग कुरा गर्दै प्रहरीले लुटेको भनेर आरोप लगाईसकेपछि प्रमाणसहित सनाखत गरी जाहेरीसहित निवेदन दिन भनिएको बताए । दोष मात्र लगाएर जाहेरी निवेदन नदिए प्रहरीले लुटेको आरोप लगाउनेका विरुद्धमा मुद्दा चलाउने पनि उनले चेतावनी दिएका छन् । घटनामा संलग्नलाई कारवाहीका लागि प्रहरीले हिरासतमा राखेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक युवन चौधरीले लुटेको आरोप लगाउनेहरुलाई निवेदन दिन भनिएको तर सम्पर्कमा नआएको बताए । सो प्रकरणमा संलग्न एक स्थानीयले नाम उल्लेख नगरिदिने शर्तमा कोरपाटीलाई भनेः हामी घरमै रमाईलो गरिरहेको ठाउँमा म प्रहरी हुँ भन्दै एकजना आएर व्यक्ति व्यक्तिबाट गरी करिब डेढदेखि दुई लाख रुपैयाँ लुटेर गएका थिए ।

मूलतः घटनाको प्रकृतिलाई अध्ययन गर्दा पैसा उठाउने प्रहरी जवान र त्यस घटनामा रहेकाहरुको गलत छ नै । यदि जिल्ला प्रहरी कार्यालय जुम्लाले ती जवानलाई कारवाही गर्छ भने उजुरी विना के आधारमा कारवाही गर्छ ? यदि उसलाई कारवाही हुने हो भने जवानले पैसा लुटेको प्रमाणसहितको निवेदन खै ? पैसा लुट्ने बेला उनीहरु कुन अवस्थामा के गर्दै थिए ?

पैसा लुटियो भन्नेहरुले अहिले निवेदन किन दिएनन् ? के उनीहरुले लुटिएको पैसा पाए ? पाएका हुन् भने कुन माध्यम वा तरिकाबाट पाए ? कि उनीहरुले आफ्नो बदनाम्बाट बच्ने बाटो अपनाए ? यस विषयमा प्रहरीले गहिरो अनुसन्धान गर्नै पर्दछ । गलत गरेकै आरोपमा प्रहरीले कारवाही भोग्नुपर्ने तर आफू गलत कार्यमा लागेर विना उजुरी प्रहरीले पैसा लुट्यो भनेर आरोप लगाउनेविरुद्ध प्रहरी किन उद्धार बन्यो ? यो पनि खोजीकै विषय बनेको छ ।

यस अघि पनि जुम्ला चन्दननाथ नगरपालिकाका एक जना सुन व्यापारीको पसलबाट केही परिमाणमा सुन चोरी भयो । त्यहाँ लागुऔषध दुर्व्र्यसनीमा फसेका युवाहरुले चोरेको आरोप लगाईएको थियो । अफसोच ! त्यही चोरी भएको सुन पुनः त्यही सुन पसलमा एक जना महिलाले गहना बनाउने भनेर ल्याईन् ।

सुन पसलेले महिलाले गहना बनाउन ल्याएको सुन आफ्नो पसलबाट चोरी भएको र त्यो पुनःप्राप्त भएको दावी गरे । सुन ल्याउने ती महिला भने प्रहरीकै श्रीमती भएको ती सुन व्यापारीले बताए । तरपनि त्यो काण्ड पनि त्यसैगरी मिलेको पाईएको छ ।

लागु औषध प्रयोगकर्ताहरुले सुन चोरी गरेको आरोप लगाईनु तर त्यो सुन प्रहरीकै पत्नीबाट भेटिनुले को कस्को संलग्नतामा घटना घट्छन् र अन्तमा गएर ती कसरी मिलेमोतोमा टुङ्गिन्छन् भन्ने कुरा लगभग बुझ्नेलाई काफी छ ।

बिडम्बना ! यी यस्ता कार्यले प्रहरी संगठनको संगठनात्मक कार्य र निर्देशित जिम्मेवारीमाथि नैतिक प्रश्नहरु खडा गरेका छन् नै । त्यसभन्दा अँझ बढी घिनलाग्दो कार्यशैली त आफूलाई सामाजिक सेवामा समर्पित गरेको ढ्वाङ् फुक्ने कथित नेतृत्वको दलाल प्रवृति दुगन्धित समाज निर्माणको कुरुप तस्वीर बन्दै गईरहेको नागरिकहरुले अनुभूति गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्