OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ११, २०७८काठमाडौं
५७३ पटक

११ भाद्र २०७८, शुक्रबार

गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् ।

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन् । थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।

कुन मन्त्रीको सम्पत्ति कति ?

सम्पति विवरणमा मुख्यमन्त्री पोखरेलले दुई वर्षअघि २०७६ सालमा कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएको जनाएका छन् । उनको नाममा काठमाडौं र तनहुँमा जग्गा छ । नवलपुर गैंडाकोटमा ०.३ रोपनी, ४ आना डेढ पैसा जग्गामा साढे दुईतले पक्की घर छ । उक्त घरजग्गा पैतृक सम्पत्ति बेचेर खरिद गरेको उनले जनाएका छन् ।

पोखरेलको नाममा काठमाडौंमा १५ आना २ दाम जग्गा छ । सो जग्गा बैंकबाट ऋण लिएर १५ लाख रुपैयाँमा खरिद गरेको उनले बताएका छन् । साथै ५ तोला सुनसमेत रहेको उल्लेख छ । श्रीमती लताको नाममा २० लाख रुपैयाँको घर छ । तलबबाट आएको ५ लाख एभरेस्ट बैंकमा रहेको भनी आम्दानी देखाएका छन् ।

सार्वजनिक सम्पत्ति विवरणमा सबैभन्दा धनी विन्दुकुमार थापा देखिएका हुन् । उनी कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री हुन् । उनले पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा देखाएका छन् । पोखराका घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायत व्यवसायीसमेत रहेका थापाको यसअघि नियुक्तिमै विवाद उत्पन्न भएको थियो । शपथ खान तनहुँबाट पोखरा आउँदै गरेका डोबाटे विकलाई पछि पार्दै मन्त्री बनेका थापाको पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वर्ग मिटरमा घर छ । नयाँ बजारमै ४ हजार ९ सय ९४ वर्ग मिटरमा अर्को घर छ ।

यस्तो छ अर्ब पति मन्त्रीको सम्पति
– पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा
– पोखरामा घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायतमा करोडांै लगानी
– पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वमीमा घर छ ।
– नयाँ बजारमै ४ हजार ९ सय ९४ वमीमा अर्को घर छ
– यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटलमा मुख्य लगानी
– पर्यटकीय स्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्टको स्वामित्व
– ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ ।
– विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद
– आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर
– ५ बैंकमा ३१ करोड ३ लाख ७० हजार ऋण तिर्न बाँकी
– दुई गाडी

यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटल पनि रहेको छ । उनले आम्दानीको स्रोतमा पैतृक सम्पत्ति भनी दाबी गरेका छन् । पर्यटकीयस्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्ट पनि उनको सम्पत्ति हो ।

उनले २ गाडी, ५ बैंक तथा वित्तीय संस्थामा ऋण रहेको उल्लेख गरेका छन् भने उनको घरमा नगद ५५ हजार रुपैयाँ, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ । विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद छ भने आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर छ । उनले सम्पत्ति विवरणमा ५ बैंकबाट ३१ करोड ३ लाख ७० हजार ऋण लिएको उल्लेख गरेका छन् ।

यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ भने १ किलो बढी सुन रहेको बताउँछन् । उनको १ किलो १९ तोला सुन छ । गृहजिल्ला स्याङ्जा भिरकोटसहित काठमाडौं नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा जग्गा रहेको देखाएका छन् । साथै १५ लाख नगद, ७ किलो २ तोला चाँदी र एक थान हिराको औंठी रहेको उल्लेख गरेका छन् ।

माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका रामजीप्रसाद बरालले छोराबुहारीको नाममा मोटरसाइकल र स्कुटर, आफ्नो नाममा ६० कित्ताको निफ्राको सेयर, एभरेस्ट बैंकमा ३ लाख नगद उल्लेख गरेका छन् । उनले गत वर्ष एनआईसी एसिया बैंकबाट १ करोड ऋण लिएको जनाएका छन् । श्रीमतीसहित आफ्नो नाममा जग्गा छ भने चार तोला सुन विवरण देखाएका छन् ।

वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवामा ५० हजार रुपैयाँबराबरको घर किनेको बताएका छन् । उनले पोखरा १४ मा ४० लाखको जग्गा किनेका छन् । उनीसँग सुन र चाँदी क्रमशः ३० र २० तोला छ । उनले ऋण काढेर चर्ती नर्सरी उद्योग सञ्चालन गरेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले ९५ तोला सुन, विभिन्न संस्थामा १ करोड बढी नगद, ५६ लाखको सेयर देखाएका छन् । उनको पोखरा १६ मा ३ सय ८२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर छ भने बैंक तथा वित्तीय संस्थामा ८५ लाख ऋण रहेको उल्लेख गरेका छन् ।

यसैगरी, पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलको सम्पत्ति बागलुङमा छ । त्यहाँको काठेखोलामा ६ स्थानमा उनको जग्गा रहेको छ । साथै उनको नाममा चितवनमा ५, रुपन्देहीमा ९ र श्रीमती इन्द्रकलीको नाममा चितवनमा ३ स्थानमा जग्गा छ । उनले बागलुङ बजारमा झन्डै ५० लाखमा घर किनेका छन् । उनको २५ तोला सुन र १ किलो चाँदी छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले लमजुङ दुधपोखरीमा घर उल्लेख गरेकी छन् । उनको लमजुङ, चितवन र मकवानपुरमा गरी ४ स्थानमा जग्गा छ । साथै उनको नाममा साढे ८ लाख नगद मौज्दात र ३ तोला सुन छ ।

ऊर्जामन्त्री हरिशरण आचार्यको स्थायी घर गोरखाको पालुङटारमा आफ्ना बाबु र श्रीमतीको नाममा घरजग्गा रहेको भनेका छन् । उनले बैंक तथा वित्तीय संस्थाबाट ५० लाख ऋण लिएको बताएका छन् । साथै ८ तोला सुन र ५ तोला चाँदी रहेको छ ।

मन्त्रिपरिषद् विस्तारको दुई महिनापछि मात्र सार्वजनिक सम्पत्तिमा युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने अझै सम्पत्ति विवरण बुझाएका छैनन् । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्