OnlinePana

आज : २०८२ चैत्र १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १४, २०८२
२२ पटक

 

१४ चैत, काठमाडौं । जेनजी आन्दोलनदेखि नै नेपालको राजनीतिक घटनाक्रमलाई चासोपूर्वक कभर गरिरहेका अन्तर्राष्ट्रिय मिडियाले शनिबार केपी शर्मा ओली पक्राउको घटनालाई पनि उच्च प्राथमिकतासाथ कभर गरेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएको घटना जिम्मेवार रहेको आरोपमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

बालेन शाहको राजनीतिक उदयलाई पहिलेदेखि नै विशेष चासोको रूपमा लिएका अन्तर्राष्ट्रिय मिडियाले उनको यस प्रारम्भिक कदमलाई नियालिरहेको देखिन्छ ।

प्रधानमन्त्रीको शपथग्रहणको नयाँपनलाई समेत रुचिका साथ कभर गरेका अन्तराष्ट्रिय मिडियाले नवनिर्वाचित सरकारको यस कदमलाइ ‘दक्षिण एसियाकै एउटा विरलै देखिने राजनीतिक साहस’का रूपमा व्याख्या गरेका छन् ।

बीबीसीले नेपालको राजनीतिक घटनाक्रमलाई ‘ऐतिहासिक न्यायको मोड’ का रूपमा चित्रण गर्दै विशेष रिपोर्ट प्रकाशित गरेको छ । ‘नेपाल्स एक्स–पीएम एरेस्टेड ओभर फेटल प्रोटेस्ट क्र्याकडाउन’ शीर्षकको उक्त रिपोर्टमा बीबीसीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई गत वर्षको जेनजी आन्दोलनमा भएको निर्मम दमन र रक्तपातको जवाफदेहितासँग जोडेर प्रस्तुत गरेको छ ।

रिपोर्टको पृष्ठभूमिमा बीबीसीले सेप्टेम्बर २०२५ को त्यो भीषण आन्दोलनलाई स्मरण गरेको छ, जहाँ ७७ जना युवाहरूको ज्यान गएको थियो । सोही हिंसात्मक दमनका कारण ओली सरकारको पतन भएको र त्यसपछिको निर्वाचनमा बालेन्द्र शाह (बालेन) ले झापा–५ मा स्वयं ओलीलाई पराजित गर्दै हासिल गरेको ऐतिहासिक चुनावी जितलाई बीबीसीले ‘युवा विद्रोहको सफलता’ का रूपमा व्याख्या गरेको छ ।

विशेषगरी सोही आन्दोलनको अग्रपङ्तिमा रहेका र हाल बालेन सरकारका नयाँ गृहमन्त्री बनेका सुदन गुरुङको आधिकारिक धारणालाई पनि बीबीसीले प्रमुखताका साथ समेटेको छ । मन्त्री गुरुङले आफ्नो इन्स्टाग्राममार्फत व्यक्त गरेको मन्तव्य उद्धृत गर्दै बीबीसीले लेख्छ, ‘कानुनभन्दा माथि कोही छैन.. यो कसैप्रतिको प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’

अघिल्लो रिपोर्टमा (बालेन शाह : एक्स–र्‍यापर स्वर्न इन एज नेपाल्स् प्राइम मिनिस्टर) बीबीसीले बालेनलाई ‘भ्रष्टाचारविरोधी युवा प्रतीक’ भनेको थियो र आयोगको सिफारिसलाई ‘नयाँ सरकारको जिम्मेवारी’ को रूपमा प्रस्तुत गरेको थियो ।

यस रिपोर्टले यो कदमलाई न्याय र जवाफदेहिताको दृष्टिकोणबाट सकारात्मक देखाए पनि नेपालको राजनीतिक अस्थिरताको जोखिम पनि औंल्याएको थियो । यो कोणले पश्चिमी मिडियाको ‘डेमोक्रेटिक ट्रान्जिसन र ह्युमन राइट्स’ फोकसलाई प्रतिबिम्बित गर्छ ।

बीबीसी हिन्दीमा प्रकाशित सामग्रीले भने ओलीको कार्यकाल र नेपाल – भारत सम्बन्धको विषयमा पनि आफ्नो दृष्टिकोणले प्रकाश पार्न खोजेको छ ।

नेपाल र भारतबीचको सम्बन्ध ‘रोटी–बेटी’ रहेपनि केपी शर्मा ओलीको कार्यकालमा यस सम्बन्धमा दूरी देखियो ।

उनले पटक–पटक भारतलाई असहज बनाउने खालका अभिव्यक्तिहरू दिए । उनलाई सामान्यतया नेपालको यस्तो नेताका रूपमा हेरियो, जो चीनको बढी नजिक थिए ।

सन् २०२४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा नेपाल पुगेका एस जयशंकरले नेपालको नेतृत्वसँग ‘धम्कीपूर्ण शैली’ मा कुरा गरेको कुरा बीबीसी हिन्दीले उल्लेख गरेका थिए ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले आज प्रकाशित गरेको विशेष रिपोर्टमा नेपालका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको गिरफ्तारीलाई प्रत्यक्ष रूपमा ‘छानबिन आयोगको सिफारिस’ र ‘कानुनी जवाफदेहिता’ सँग जोडेर विश्लेषण गरेको छ । ‘नेपाल्स एक्स–पीएम ओली एरेस्टेड ओभर डेथ्स ड्यूरिङ जेन जी प्रोटेस्ट्स’ शीर्षकको उक्त सामग्रीमा रोयटर्सले गत भदौ २३ मा भएको भ्रष्टाचार विरोधी जेनजी आन्दोलनका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु रोक्न असफल भएको र पदीय लापरवाही गरेको अभियोगमा प्रहरीले अनुसन्धान सुरु गरेको उल्लेख गरेको छ ।

रोयटर्सले आफ्नो रिपोर्टमा आयोगको निष्कर्षलाई उद्धृत गर्दै आन्दोलनको पहिलो दिन कम्तीमा १९ जना प्रदर्शनकारीहरूको ज्यान जाने गरी घण्टौँसम्म भएको घातक गोलीबारी रोक्न कुनै प्रभावकारी कदम नचालेकोमा तत्कालीन प्रधानमन्त्री ओली मुख्य रूपमा जिम्मेवार भएको कुरा लेखेको छ ।

यसअघि नै रोयटर्सले ‘प्यानल वान्ट्स प्रोसिक्युसन अफ आउस्टेड नेपाल पीएम ओभर भायोलेन्स इन जेन जी प्रोटेस्ट्स’ शीर्षकमा एक खोजमूलक सामग्री सम्प्रेषण गर्दै छानबिन टोलीले ओलीलाई लापरवाहीको अभियोगमा कडा कारबाही गर्न सिफारिस गरेको खुलासा गरेको थियो ।

रोयटर्सले यो कदमलाई नेपालमा ‘विधिको शासन’ स्थापना गर्ने एउटा साहसिक परीक्षाका रूपमा चित्रण गरेको छ ।

ओली गिरफ्तार प्रकरणबारे खास केही नलेखे पनि अलजजिराले मार्च २७, २०२६ मा ‘नाउ इन पावर, नेपाल्स र्‍यापर–पोलिटिसियन बालेन शाह फेसेस न्यू च्यालेन्ज’ आलेखले मध्यपूर्वी तथा दक्षिण एसियाली दृष्टिकोणबाट नेपालको ट्रान्जिसनल पोलिटिक्स (संक्रमणकालीन राजनीति) र युवा माग लाई गहन विश्लेषण गर्दछ । रिपोर्टले बालेनलाई जेनजी आन्दोलनको उत्तराधिकारीको रूपमा प्रस्तुत गरेको छ र आयोगको रिपोर्ट कार्यान्वयनलाई उनको पहिलो ठूलो परीक्षा भनेको छ ।

रिपोर्टले बालेन र आरएसपी सभापति रवि लामिछानेबीचको सम्बन्धलाई ‘सुविधाको विवाह’ भनेको छ । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर गेहेन्द्र लाल मल्ल को उद्वरण साभार गर्दै रिपोर्टले चुनावताका बालेनलाई आवश्यक पार्टी र रविलाइ आवश्यक लोकप्रियताले शक्तिको द्वैधतालाई देखाएको र पछि गएर मतभेद देखिनसक्ने कुरातर्फ पनि संकेत गरेको थियो ।

भारतीय मिडियाले नेपालको घटनालाई सबैभन्दा विस्तृत, तत्काल र गहन रूपमा कभर गरेको छ । छिमेकी देश भएकाले नेपालको अस्थिरताले भारतको सीमा सुरक्षा, व्यापार, जलस्रोत, आप्रवासन र भूराजनीतिक प्रभावमा पर्न सक्ने प्रभावलाई विशेष जोड दिइएको छ । ओली र लेखकको पक्राउलाई ब्रेकिङ न्यूजको रूपमा कभर गर्दै अधिकांश आउटलेटले ‘जेनजी क्रयाकडाउन’, ‘राजनीतिक प्रतिशोध’, ‘जवाफदेहीता’ र ‘पुस्तान्तरण’ लगायतका कोणमा प्रस्तुत गरेका छन् ।

टाइम्स अफ इन्डियाले ‘एज न्यू नेपाल पीएम टेक्स चार्ज, प्यानल सिड्स प्रोसिक्युसन अफ ओली ओभर डेड्ली जेन जी प्रोटेस्ट्स’ शीर्षकमा प्रकाशित सामग्रीमा यसमा ओली सरकारको पतन, जेनजी आन्दोलनमा ७७ जनाको मृत्यु, छानविन आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गोली रोक्न नसकेको लापरवाहीको आरोप लगाएको विषयहरूलाई प्राथमिकताका साथ उल्लेख गरेको छ ।

बालेन शाहको नयाँ सरकारलाई ‘नयाँ युगको सुरुवात’ भनेर सकारात्मक अर्थ दिइएको छ । ओलीको चीनप्रति झुकाव र सामाजिक सञ्जाल बन्द गर्ने कदमलाई आन्दोलनको ट्रिगर भनेर उल्लेख गरिएको छ । ओली र लेखकको पक्राउलाई बालेनको शपथग्रहणको भोलिपल्ट भएको ‘तत्काल कार्यान्वयन’ को नाम दिएको छ ।

हिन्दुस्तान टाइम्सले पनि प्रधानमन्त्री बालेन र उनको क्याविनेटले चलेको यस कदमलाइ जेन्जी आन्दोलनसँग जोडेर हेरेको छ । आयोगले तात्कालीन प्रधानमन्त्री ओलीलाई प्रदर्शनकारीहरूमाथि भएको गोली प्रहार रोक्न नसकेको अकर्मण्यताको आरोप लगाएको कुरा हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

गोली चलाउने आदेश दिइएको प्रमाणित नभएको तर गोली रोक्न वा नियन्त्रण गर्न कुनै प्रयास नगरिएकाले तात्कालीन नेतृत्वको लापरवाहीपूर्ण व्यवहारका कारण नाबालिगहरू मारिएको कुरा उक्त सामग्रीमा लेखिएको छ ।

द गार्डियनले आज नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘स्थापित अभिजातहरू’ विरुद्ध युवा शक्तिको उदयको रूपमा चित्रण गर्दै विशेष रिपोर्ट प्रकाशित गरेको छ ।

केपी शर्मा ओली: नेपाल्स् फर्मर प्राइम मिनिस्टर एरेस्टेड ओभर एलेज्ड रोल इन डेड्ली प्रोटेस्ट क्र्याकडाउन’ शीर्षकको उक्त समाचारमा गार्डियनले सेप्टेम्बर २०२५ को जेनजी आन्दोलनका क्रममा भएको ७७ जनाको मृत्यु, भ्रष्टाचार र नातावादविरुद्धको जनविद्रोहलाई मुख्य आधार बनाउँदै ओलीको पक्राउलाई ‘दमनको जवाफ’ को रूपमा प्रस्तुत गरेको छ । रिपोर्टमा ओलीले यसलाई ‘प्रतिशोधपूर्ण पक्राउ’ भनी गरेको दाबीलाई स्थान दिए तापनि, गार्डियनले यसअघि नै ओली सरकारलाई ‘दमनकारी’ र युवा विद्रोहलाई ‘भ्रष्टाचारविरोधी ऐतिहासिक आन्दोलन’ भनेर परिभाषित गरिसकेकाले यस कदमलाई न्याय र जवाफदेहिताको कडीका रूपमा विश्लेषण गरेको देखिन्छ ।

वासिङ्टन पोस्टले आज प्रकाशित गरेको ब्रेकिङ रिपोर्टमा नेपालका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको गिरफ्तारीलाई गत सेप्टेम्बरमा भएको ७६ जनाको मृत्यु र त्यसपछिको ‘प्रजातन्त्रिक संक्रमण’ को परिणामका रूपमा व्याख्या गरेको छ । ‘नेपाल पुलिस एरेस्ट फर्मर प्राइम मिनिस्टर एन्ड फर्मर होम मिनिस्टर ओभर सेप्टेम्बर प्रोटेस्ट डेथ्स’ शीर्षकको उक्त समाचारमा पोस्टले यो कारबाहीलाई नयाँ निर्वाचनमा बालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको ‘ल्यान्डस्लाइड’ जित र युवा नेतृत्वको उदयसँग जोडेर विश्लेषण गरेको छ ।

जर्मन सञ्चारमाध्यम डि डब्लुले आज ‘नेपाल: फर्मर पीएम ओली एरेस्टेड ओभर डेड्ली प्रोटेस्ट्स’ शीर्षकमा एक विशेष रिपोर्ट प्रकाशित गर्दै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘नाजुक लोकतन्त्र’मा जवाफदेहिताको परीक्षणका रूपमा चित्रण गरेको छ ।

डि डब्लुले जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको छानबिन गर्न गठित आयोगको सिफारिसलाई आधार मान्दै ओली र लेखकको गिरफ्तारीलाई विधिको शासन स्थापना गर्ने दिशामा एउटा महत्वपूर्ण मोड भनेको छ ।

अनलाईनखबरडटकम बाट साभार 

 

प्रतिकृया दिनुहोस्