OnlinePana

आज : २०८३ साउन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ९, २०८३काठमाडौं
४८ पटक

९ साउन २०८३, शनिबार

मुगुः कार्मारोङमा गाउँपालिका ५ मुगु पुलु बजारमा गएको ढुंगासहितको पहिरोबाट एक जना बालकको मृत्यु भएको छ ।

रारा छायाँनाथ नगरपालिका १३ तिर्प मुगु घर भइ पुलु बजारस्थित पेमा लामाको घरमा होटल व्यवसाय गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवालको छोरा ३ वर्षीय रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ४ः०० बजे गएको पहिरोमा च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी नायब निरीक्षक बीरबहादुर चन्दको नेतृत्वमा गएको पाँच जना प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । नजिकैको स्वास्थ्य चौकीमा उपचारको क्रममा ५ः४५ बजे बालकको मृत्यु भएको उहाँले बताउनुभयो ।

उक्त पहिरोबाट जगनाथ बडुवाल र उहाँको श्रीमती सिर्जना बडुवाललाई सामान्य चोटपटक लागेको छ । लामाको घर पूर्णरुपले क्षति भएको र अन्य आठ घरहरु जोखिममा रहेकोले ती घरका परिवारहरुलाई आफन्तको घरमा र बाँकी आठ जनालाई पुलु स्वास्थ्य चौकीमा राखिएको प्रहरी नायब उपरीक्षक थपलियाले जनाउनुभयो ।

घटनाको थप अनुसन्धान तथा उद्धारका लागि मुगुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा पाँच र प्रहरी चौकी छायलबाट प्रहरी हवल्दार गोपाल सार्कीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल डोल्फु पुलुमा पठाइएको छ । पुलु मुगु सदरमुकामबाट सात घण्टा पैदल हिड्नुपर्छ ।

 

प्रतिकृया दिनुहोस्