

२६ असोज, काठमाडौं । हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको इजरायलले विश्वास गरेको छ ।
वासिङ्गटन पोस्टले समाचार संस्था एपीको सहयोगमा प्रकाशित गरेको एक समाचारमा विपिनसहित २२ बन्दीहरू जीवितै रहेको विश्वास इजरायलको रहेको उल्लेख गरेको छ । समाचारमा २२ जना बन्दीहरूको संक्षिप्त परिचय पनि उल्लेख गरिएको छ । इजरायलको तेल अभिभबाट एपीका रिपोर्टर रहेका मेलानी लिडम्यानले अर्का पत्रकार स्याम मेट्जको सहयोगमा तयार पारेको समाचारमा २४ वर्षीय नेपाली विपिन पनि जीवितै रहेको इजरायली विश्वासका केही आधारहरूलाई प्रस्तुत गरिएको छ ।
यसअघि हमासले सार्वजनिक गरेको बन्दीहरूको बिदाइ सूचीमा पनि विपिनको तस्वीर समावेश गरिएको थियो । गत विहीबार इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना जीवित युद्धबन्दीको नामावलीमा भने विपिन जोशीको नाम छैन ।
गाजामा पछिल्लो युद्धविराम शुक्रबारदेखि सुरु भएको छ । यो युद्धविरामले करिब दुई वर्ष लामो विनाशकारी युद्धको अन्त्यतर्फ महत्त्वपूर्ण कदम चाल्यो। यो युद्ध हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो, जसमा करिब १,२०० जनाको मारिएका थिए भने २५१ जनाको अपहरण भएको थियो।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले गरेको आक्रमणमा परी ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। मन्त्रालयले मारिनेमध्ये आधा महिला र बालबालिका रहेको उल्लेख गरेको छ । करिब २० लाख जनसंख्या भएको गाजामा ९० प्रतिशत भन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र स्वतन्त्र विशेषज्ञहरूले पनि यस मन्त्रालयका तथ्याङ्कलाई गाजामा युद्धका वास्तविक क्षतिको सबैभन्दा भरपर्दो अनुमान मान्छन् । हाल गाजामा ४८ जना बन्धकहरू छन्, जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश छ। इजरायलले कम्तीमा २५ जना बन्धकहरू ७ अक्टोबर २०२३ मा मारिएको वा बन्दी अवस्थामा मृत्यु भएको पत्ता लगाएको छ । बाँकी करिब २० जनामध्ये कति जीवित छन् र फर्कनेछन् भन्ने स्पष्ट छैन। इजरायलले प्राप्त गरेको सूचना अनुसार, बाँकीमध्ये एक महिला बन्धक बन्दी अवस्थामा मारिएकी छन् ।
शुक्रबार युद्धविराम सुरु भएपछि बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ । यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । युद्धविराम सहमति अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेभित्र नेपाली समय अपराह्न २ः४५ सम्म विपिन लगायत ४८ जनालाई रिहा गरिसक्नुपर्ने उल्लेख छ । यद्यपि हमासले भने उक्त अवधिमा सबै बन्धकहरूलाई हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ । हमासले अहिलेसम्म जीवित बन्दीहरूको नामावली दिइसकेको छैन । केही दिन अघि विपिन अपहरणमा परेपछि हमासको कब्जामा रहेको अवस्थाको उनको पुरानो भिडियो सार्वजनिक भएको थियो । आज विपिन अपहरण परेको ३३७ दिन पुगिसकेको छ ।
प्रतिवेदन यस्तो छ ।
विपिन जोशी आक्रमण हुनु एक महिना अघिमात्र आफ्नो जन्मभूमि नेपालबाट इजरायल आएका थिए। उनी गाजामा अझै जीवित रहेको विश्वास गरिएका एकमात्र गैर–इजरायली बन्धक हुन्। उनी विद्यार्थी आदान–प्रदान कार्यक्रमअन्तर्गत गाजाको सीमा नजिक रहेको किब्बुट्ज अलुमिममा कृषि अध्ययन र काम गर्न इजरायल आएका थिए ।
आक्रमणका क्रममा उक्त कार्यक्रममा सहभागी १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो । जोशीले लुकेर बसेको सुरुङबाट केही नपड्किएको ग्रिनेड बाहिर फ्याँक्न सफल भए पनि घाइते हुँदै अपहरणमा परेका थिए।
जोशीकी १७ वर्षीया बहिनी पुष्पा जोशी आफ्ना दाजुलाई मुक्ति दिलाउन सरकारी अधिकारीहरूसँग भेट गर्न पश्चिम नेपालस्थित आफ्नै घरबाट हप्तामा नियमित रूपमा बस चढी आठ–आठ घण्टा यात्रागरी काठमाडौं पुग्छिन् । गत अगस्टमा उनका परिवारले इजरायलको राष्ट्रपतिसँग भेट गर्न र तेल अवीवस्थित “होस्टेज स्क्वायर” मा अन्य परिवारसँगै प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा गरेका थिए ।