OnlinePana

आज : २०८१ पौष २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहपौष १६, २०८१सुर्खेत
८७ पटक

 

१५ पुस, २०८१, आइतबार

कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेल हो देउडा । यसलाई डेउडा पनि भन्ने गरिन्छ । यसले साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्त गर्दछ । बिगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ ।

यसको लोकप्रियता पछिल्लो समयमा बढ्दै गएको छ । बिगतमा माथिल्लो कर्णालीमा विशेषगरी चाडपर्व, मेलामालिका, बिबाह, व्रतबन्ध, जन्मदिन र शुभसाईत खेलिने देउडाको विस्तार सहरसम्म हुँदै जाँदा देउडा खेल लगाउन अहिले औंसी या पूर्णिमा कुनै तिथि, मिति र अवसर कुर्न पर्दैन तथापि कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते भने देउडा सञ्चालन हुने गर्दछ ।

देउडा कार्यक्रम सञ्चालनको एउटा अचम्म पक्ष छ जसमा स्थानीय, प्रदेश तथा संघ सरकार सबैले गर्व गर्नुपर्दछ । कुनैपनि कार्यक्रम तय गर्दा स्रोत साधन र जनशक्तिको आवश्यक पर्दछ तर यसका लागि बजेट तर्जुमा अर्थात् जोहो र जनशक्ति प्रबन्ध गर्नुपर्दैन । शून्य बजेटमा हरेक महिनाको दुई दिन अनिवार्य देउडा गुञ्जिन्छ कर्णालीमा ।

मूलतः कार्यक्रममा गर्दा सामान्यतः बजेट अनिवार्य शर्त जस्तै हुन्छ र यसका लागि आयोजक चाहिन्छ । कार्यक्रममा प्रयोग हुने सामग्री तथा उपकरण, समय व्यवस्थापन र आवश्यक जनशक्ति पनि नभई हुँदैन । खाना, खाजासाथै भत्ता नभए सहभागिता पनि घट्ने अवस्था हुन्छ र कार्यक्रम नै खल्लो भइदिन जान्छ । यद्यपि देउडा कार्यक्रम भने फरक विशेषताबाट सञ्चालन हुँदै आएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरु विना दबाब, तनाव र रोकतोक स्वतन्त्र तरिकाले हजारौंको संख्यामा खुला मैदानमा जम्मा हुन्छन् । यहाँ कोही आयोजक भएर प्रस्तुत हुँदैन । स्वतः तवरले मैदानमा जम्मा हुनेहरु समुहमा परिणत भएर सहभागीहरु नै आयोजकको स्वरुप जस्तो बन्छन् ।

अनि एकपछि अर्को जोडिएर गोलो घेरा बनाउँछन् । यसमा दुई समुह भने अनिवार्य हुनुपर्छ । यो पुरुष–पुरुष र महिला–महिला या महिला पुरुष दुवैले समुह बनाए खेल्छन् । खेलमा दुवै समुहमा एकजना गीत भट्याउने हुन्छ जसले आफ्नो समुहको दरिलो नेतृत्व गरिरहेको हुन्छ । यसमा तर्क गर्ने र शीघ्राती सवाल जवाफ गर्न सक्नेले नेतृत्व गर्छ ।

खेलमा सँधै एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन । ईच्छुक जो सुकैले आफ्नो सो समयमा प्रभाव राख्न सक्छ । खुट्टा अगाडि पछाडि एकवद्ध गर्दै विभिन्न भाकामा गीत मिलाएर खेलिने देउडा खेल्ने भन्दा हेर्नेले बढी मज्जा र मनोरञ्जन लिन्छन् । गीतमा माया–पिरती, सुख–दुःख, राजनीति, सामाजिक, साँस्कृतिक अवस्था, विद्यमान वा परिवर्तित परिवेशबारे व्यक्त गरिन्छ ।

आज पुस १५ गते पनि हो अर्थात् यसलाई कर्णालीको खस भाषामा ‘पुसा पुन्वा’ पनि भन्ने गरिन्छ । कर्णालीवासीहरुले आजको लामो रात मिठा–मिठा परिकार खाएर मात्र बिताउँदैनन् यस अवसरमा नसुतेर गाउँ खाने कथा हाल्ने वा देउडा खेलेर रमाईलो लिइरहेका छन् । आजको दिनमा पुस १५ को महत्व र यसपछि बदलिने समय, रैथानेबाली, यसको संरक्षण, प्रवद्र्धन र बजारीकरणका बारेमा पनि देउडा गीत गाउने गरिन्छ । जस्तैः

पोर आईथी पुसका पुन्न अहिले पनि आईगै ।
उमेर घटाई जोवन लैगै आफू फेरि बाईगै ।।

रुपमा जस्तो देखिएपनि सारमा देउडाले यहाँका नागरिकहरुको जीवन बोल्ने गरेको जुम्ला निवासी देउडाकर्मी हरिबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “देउडामा समाज बोल्छ । यसमा सृष्टि, प्रकृति, विश्व जगत्देखि मायाप्रेम, हाँसो, रोदन, आवेग, रोष, व्यंग्य, आलोचना, टिप्पणी, गुनासो, सुझावलगायतका सबै कुराको समावेश छ । जसले खेल्नेलाई जोश जगाईरहेको हुन्छ भने हेर्नेलाई उत्साह र उमंग दिन्छ ।”

त्यस्तै, कालीकोट निवासी देउडा गायिका कमला धामीले देउडा सामाजिक र साँस्कृतिक पहिचान भएको बताउनुभयो । “देउडा भन्ने बित्तिकै कर्णाली या सुदूरपश्चिम भनेर चिनिन्छ । यो हाम्रो झल्किने पहिचान हो,” उहाँले भन्नुभयो, “मनोरञ्जन र सामाजिक, आर्थिक, राजनीतिक समस्यालाई सरल ढंगबाट सरोकारवाला निकायलाई सुनाउने र सम्बोधन गर्न लगाउने माध्यम एवं शैली हो ।”

विभिन्न परम्परागत प्रथा, संस्कृति र संस्कार संरक्षणका लागि राज्यले करोडौंको खर्च गरिरहँदा देउडा संस्कृतिको संरक्षण एवं जगेर्नाका लागि भनेर ठूलो लगानी गरेको पाईदैन । तथापि यसको निरन्तरतामा क्रम भंगता छैन अपित, आधुनिकतासँगै देउडाले आफ्नो मौलिकतालाई विस्तार गर्दै लगेको छ ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य देउडा संस्कृति सिञ्जा सभ्यताको परिचय भएको बताउनुहुन्छ । उहाँका अनुसार देउडाले सिंजा सभ्यता एवं कर्णालीको समुल कथा र मर्म बोल्दै आएकोले यसको जीवन्तता रहिआएको छ । कर्णाली प्रदेश सरकारले देउडा खेल र संस्कृतिको महत्व हृदयमगम गरी यसको संरक्षण एवं सम्वद्र्धन गर्ने हेतुले हरेक वर्षको साउन १ गते ‘साउने संक्राति अर्थात् देउडा पर्व’का रुपमा सार्वजनिक विदा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्