OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहआश्विन ७, २०८१ सुर्खेत
२९७ पटक

७ असोज २०८१, सोमबार

पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको पहिचान हो भन्दा फरक नपर्ला । फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरु करिब अलग्गिएका नै हुन्छन् । सहरमा नवीन सोच, प्रविधि र शैली प्रयोग हुँदै जाँदा गाउँले आफ्नै मौलिकता अंगालेको देखिन्छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर पनि प्रदेशकै एक मात्र सहरका रुपमा परिचित र सम्पन्न नगरपालिका हो जो उपमहानगरोन्मुख अवस्थामा छ । दश जिल्लाका सदरमुकामहरु सहरोन्मुख अवस्थामा छन् । पालिकाका केन्द्रहरु बजारमा रुपान्तरण हुँदैछन् । क्रमिकरुपमा हुँदै गएको विकासले हाम्रा परम्परागत संरचना, अभ्यास र कामगर्ने शैलीमा पनि बदलाव आएको छ ।

यही बदलावको समयमा पनि राजधानी सहर वीरेन्द्रनगरमा परम्परागत प्रविधि र अभ्यासको पुनरावृति भएको छ । गाउँमा हराउँदै गएको परम्परागत पानी घट्ट वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतस्थित सहिद पार्कको गेट नजिक सञ्चालनमा छ । यो देख्ने धेरैले अनौठो मान्दै प्रश्न गर्ने गर्छन्, ‘ओहो ! यहाँ पनि पानी घट्ट ?’ कसले चलाएको हो ? घट्टमा अन्न पिस्न मान्छेहरु आउँछन् र ? कहिलेदेखि घट्ट सञ्चालनमा आएको हो ? छिटो छरितो हुने मिलमा नपिसेर किन मान्छेहरु पानी घट्ट धाईरहेका छन् ?

अचेल गाउँका मान्छे कोदो, मकै, गहुँलगायतका रैथाने अन्न पिस्न मिलमा जाने गर्छन् । उनीहरु त्यसैमा बढी आकर्षित छन् यद्यपि त्यही रैथाने अन्न पिस्नका लागि सहरका मान्छेहरुको आकर्षण पानी घट्टमा छ । ठीक उल्टो छ । मिलमा जाने रोजगारविहिन गाउँका नागरिक पैसा तिरेर अन्न पिस्छन् तर रोजगारी तथा प्रतिव्यक्ति आय राम्रै भएका सहरका नागरिकहरु पैसा होइन, चार भाग अन्न पिसेमा सम्बन्धित घट्ट धनीलाई एक भाग पिठो दिएर फर्कछन् ।

घट्टमा पिसेको खाद्य वस्तु स्वादिलो, खँदिलो र शरीरका लागि पथी (हितकर) हुने भएकोले मान्छेहरुको आकर्षण यसतर्फ बढ्दै गएको मार्सी होटल सुर्खेतका सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिनुभयो । “सुर्खेतमा परम्परागत पानी घट्ट थियो भन्ने मलाई यस अघि थाहा थिएन,” उहाँले भन्नुभयो, “जब थाहा पाए त्यसपछिका दिनहरुमा मैले कोदो, जौं गहुँ र मकै पिस्न यही ल्याउँछु । किनकी मेरो होटलमा आउने आन्तरिक र बाह्य पाहुनाहरुलाई निरन्तर अर्गानिक खाना खुवाउनपर्छ ।”

उहाँका अनुसार परम्परागत घट्टमा पिसेर आगोमा पकाएको खाना मानव स्वास्थ्यका लागि निकै लाभदायक हुने भएकोले पनि अहिले मान्छेहरुले त्यसरी बनाएको भोजन खोजिरहेका छन् । सहरमा बनाएका भड्किला र पूर्वतयारी एवं कवाडी (पत्रु) खानाले अस्वस्थकर दिनचर्या बढ्नुका साथै मान्छेहरु नसर्ने रोगले बढी थलिन थालेका छन् । तर पानी घट्टमा पिसेको अन्नबाट बनेका परिकार अर्गानिक, पोषिलो र मानव उपयोगी दुवै हुने पाको पुस्ताले बताउँदै आएको छ ।

गाउँले एकातिर आफ्नो कामको भार कम गर्न चाहान्छ भने अर्कोतिर प्रकृति प्रदत्त वस्तु मानव जीवनका लागि कति हितकर भन्नेप्रति महत्व दिएको पाइदैन । त्यसको पहिलो कारण गाउँ आफूले उत्पादन गर्ने वस्तु उपभोगबाट हुने किफायतीका बारेमा सचेत छैन भने दोस्रो कारण हो गरिबी ।

गरिबीका कारण उनीहरुलाई भिटामिन, प्रोटिन, कार्बोहाईड्रेड, आइरन, मिनरल्सलगायत सबै मिलेको क्यालोरीयुक्त भोजन भन्दा पेट भर्न पाए हुन्थ्यो भन्ने छ । यसले गर्दा आयतित र त्यसमा पनि सस्तो चीज किनेर उपभोग गर्छन् अनि आफूले उत्पादन गरेका औषधीय गुणयुक्त जैविक उत्पादन बेच्ने गर्छन । कम उत्पादनमा बढी मूल्य पाउनमै उनीहरु आफूमा खुसी र सन्तुष्टि मिलेको महसुस गर्दछन् ।

यसो हुनुमा गाउँले आधुनिक विकासले मानव जीवनशैलीलाई सरल बनाएको अनभूति गरेको तर मानव अस्तित्वमाथि संकट र चुनौति थपिरहेको मनन्योग्य कुरा नबुझेको मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख तथा जलवायु परिवर्तनसम्बनधीका विज्ञ खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । परम्परारगत घट्ट हराउँदै जानुमा हिमालमा पानीको स्रोत घट्नु र विपद् कारण भएको उहाँले बताउनुभयो ।

“घट्ट परम्परागत प्रविधि मात्र होइन, वातावरण संरक्षणको एउटा राम्रो उपयोग र आधार दुवै हो,” विज्ञ अधिकारीले भन्नुभयो, “परम्परागत प्रविधिको अस्तित्व काय रहिराख्नु भनेकै वन, वातावरण, वन्यजन्तु र पानीका स्रोतहरुको संरक्षण हो । मानव अस्तित्वको रक्षा गर्नु हो । जलवायु परिवर्तन रोकथाममा सहयोग पु¥याउनु हो । जसले मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रगाढ बनाउन सघाउँछ ।”

पानी घट्ट वातावरण संरक्षणमैत्री भएकोले यसको संरक्षण तथा प्रवद्र्धन हुनुपर्ने राससलाई बताउँदै उहाँले बरु यसलाई सुधारिएको घट्ट अर्थात् आधुनिकरण गर्न सकिने प्रतिक्रिया दिनुभयो । डिजेट, पेट्रोलको खर्च, घटाउने र त्यहीबाट बिजुली निकाल्न सकिने भएकोले परम्परागत घट्ट सञ्चालन प्रविधि तथा त्यसबाट प्रशोधन हुने खाद्य पदार्थ मानव स्वास्थ्यका लागि हितकर हुने हुँदा पछिल्लो समयमा आफ्ना अन्न बाली पिस्न मिलमा भन्दा घट्टमा जानेको आकर्षण बढ्दो रहेको उहाँको भनाई थियो ।

जहाँ हरेक मान्छे बिगत भन्दा गाउँमा पानी घट्ट खोज्नुपर्ने परिस्थितिमा सहरमा घट्ट पाउनुलाई दुर्लभ कुरा नै मान्न सकिन्छ । सडक पूर्वाधार जोडिएसँगै पछिल्लो समयमा हिमाली तथा पहाडी भेकमा परम्परागत पानी घट्टहरु हराउँदै गएका छन् । सडकसँगै बिजुली जोडिएपछि त्यहाँका स्थानीयहरु आधुनिक मिलमा आफूले उत्पादन गरेका अन्नबाली पिस्दै आएका छन् ।

हिजो नदी तथा खोला किनारमा निर्मित परम्परागत घट्टहरु एकाद बाहेक आजभोलि देखिन छोडेका छन् । धेरै घट्टहरु प्राकृतिक विपत्ति जस्तोः बाढी पहिरोका कारण बगेर भत्किएर गए । सडक पूर्वाधार जोडिएसँगै पछिल्लो समयमा गाउँ–गाउँमा मिल सञ्चालनका कारण पनि परम्परागत पानी घट्ट विस्थापित हुँदै गएको तथ्यलाई आधार मान्न सकिन्छ ।

घट्ट धनी तिलाराम चालिसेले पानी नियमित नहुँदा बाह्रै महिना सेवा दिन नसकिएको बताउनुभयो । “मान्छेहरु कोदो, मकै, गहुँ, जौं र भट्ट लिएर अन्न पिस्न आइरहन्छन्,” चालिसेले भन्नुभयो, “भदौ र असोज महिनामा अति घुईंचो हुन्छ । घट्टमा पिसेको अन्नको पिठो राम्रो हुन्छ भनेर स्थानीयहरु यहाँ आइराख्छन् ।” यहाँ आउनेहरुले रैथाने अन्न ल्याएर पिस्न आउने गरेको उहाँले जनाउनुभयो ।

स्थानीय ललिता रिजालले घट्टमा पिसेको खाँदा जस्तो अरुमा स्वाद नमिल्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “घट्टमा पिसेको पिठोको स्वाद जस्तो राम्रो अरुमा तयार गरिएको कुनैपनि हुँदैन । मिलमा पिसेको स्वादरहित हुन्छ । हामीले पानी घट्टमामा अन्न पिसेर दाउरा भएसम्म आगोमा नै पकाएर खाँदै आएका छौं ।” यसरी खाँदा खाना स्वादिलो, खँदिलो र पाचनयोग्य हुने गरेको रिजालले जनाउनुभयो ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले हिजोको पुस्ताले प्रयोग गर्ने प्रविधिहरु मानवमैत्री भएको जिकिर गर्नुभयो । प्रकृतिको काखमा बसेर त्यसले प्रदान गरेका चीजको सदुपयोग गरी साझा प्रयासबाट गरिने उतिबेलाका कर्मले मौलिकता, मान्छेहरुको बीचको सम्बन्ध, आयु र आरोग्य सबै सन्तुलन कायम राखेको उहाँले बताउनुभयो ।

“मानव निर्मिति साधन, उपकरण र संरचनाले कामको बोझ घटाएको छ,” जानकार आचार्यले भन्नुभयो, “तर प्रकृति विरुद्धका कार्यहरुले मानव अस्तित्व त्यत्तिकै खतरामा पुगेको छ । आधुनिकताको अनुसरण गर्दै गरेको भन्दा यसको चरम स्वाद लिएको हरेक मान्छे र देश अब प्रकृतितर्फ फर्कनुको विकल्प छैन भन्ने निष्कर्षमा पुग्न थालेका छन् ।” जलवायु परिवर्तन अनुकूलनमा पानी घट्टको ठूलो महत्व रहेको उहाँको भनाई छ ।

अन्न पिस्ने परम्परागत घट्ट, तेल पेल्ने कोल तथा दुनो, धान कुट्ने ढिकी, दाल पिस्ने जाँतोलगायतका पुराना प्रविधिहरु कम खर्चमा प्रयोगमा ल्याउन सकिने र त्यसबाट प्रशोधितले चीजले मानव स्वास्थ्य र प्रकृति संरक्षणमा ठूलो योगदान पुर्याउने भएकोले ती साधन र प्रविधिहरु उपयोगमा ल्याउनुपर्ने विज्ञहरुले सुझाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्