OnlinePana

आज : २०८३ जेठ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ६, २०८१सुर्खेत
९७६ पटक

६ बैशाख २०८१, बिहीबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भोलिदेखि एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश सरकारको निर्माणाधिन रंगशालामा यही बैशाख ७–२० गतेसम्म एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । उक्त प्रतियोगितामा सातै प्रदेशका खेलाडी र अफिसियल गरी डेढसय भन्दा बढीको सहभागिता हुने सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य रविन्द्र चन्दले जानकारी दिनुभयो ।

“कर्णालीमा पहिलो पटक हुन थालेको एन्फा महिला लिग शीर्ष तहको ऐतिहासिक प्रतियोगिता हो,” उहाँले भन्नुभयो, “पहिलो चरणमा छनोट हुनेहरु दोस्रो चरणका लागि छनोट हुनेछन् ।” छनोट प्रतियोगिताको खेल भएकोले यसमा पुरस्कार राशी नहुने केन्द्रीय सदस्य चन्दले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता सिङ्गल राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ ।

शीर्ष ३ टोली एन्फा महिला लिग–२०२४ को दोस्रो चरणमा प्रवेश गर्ने र दोस्रो चरणमा प्रवेश गर्ने टोलीले आर्मी फुटबल क्बल, सशस्त्र फुटबल क्लब र पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने उहाँले बताउनुभयो । केन्द्रीय सदस्य चन्दका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु.२० लाख र राष्ट्रिय खेलकुद विकास परिषद्बाट रु.२५ लाख बजेट विनियोजना भएको छ । यो उनीहरुको खान र बस्नको लागि भएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्