२८ असार २०८३, आईतबार
सुर्खेतः कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सुर्खेतले ‘डिजिटल हेल्थ’ सेवा प्रवाहसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
भौगोलिक विकटता, प्रशासनिक दुर्गमता, गरिबी, स्वास्थ्य र शिक्षाबाट पहुँचविहीन यहाँका नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा प्रवाहको कार्यलाई तदारुकताका साथ लागु गर्ने हेतुले मन्त्रालयद्वारा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका बरिष्ठ स्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो ।
कार्यक्रममा बिरामीको नाम दर्ता, कागजात अपलोड, बिरामीको समस्या, लिईरहेको औषधि, त्यसको प्रभावका आधारमा सम्बन्धित रोगको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले परामर्श दिने तथा जटिल प्रकृतिको रोग भएका बिरामीलाई प्रेषणको सिफारिस दिने सम्बन्धमा जानकारी गराइएको छ ।
मूलतः कर्णालीका नागरिकहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले डिजिटल हेल्थ तथा टेलिमेडिसन सेवा प्रवाहको कार्यक्रमलाई अगाडि बढाएको महाशाखा प्रमुख शाहीले बताउनुभयो । प्रशिक्षण कार्यक्रम असार २९ गते सोमबारसम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख, चिकित्सक तथा स्वास्थ्यकर्मी र तथ्याङक कर्मचारीलगायत पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।




