
२८ असार २०८३, आईतबार
सुर्खेतः ‘खुला दिसामुक्त अवस्थाको दिगोपनको राष्ट्रिय ढाँचाको रुपरेखा’सम्बन्धी कार्यशाला कर्णाली प्रदेशमा सम्पन्न भएको छ ।
जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेत आयोजना, खानेपानी तथा ढल व्यवस्थापन विभाग पानी पोखरी, युनिसेफ नेपाल र एक्जक्युटिभ कन्सल्टिङ ईन्जिनियरिङ एण्ड प्लानर प्रा.लि. काठमाडौंसँगको सहकार्यमा आज सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रिय ढाँचाको रुपरेखासम्बन्धी कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका बरिष्ठ सिडिई रमेश सुवेदीले कार्यक्रमको उद्देश्यबारे संक्षिप्त जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा खानेपानी तथा सरसफाई विज्ञ कमल अधिकारीले ‘संस्थागत व्यवस्था, सरसफाई प्रविधि, समता, समावेशीकरण, सरसफाई तथा स्वच्छता व्यवहार सुरक्षित व्यवस्थापन’लगायत समसामयिक विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत कार्यपत्र उल्लेख भएका र समेट्नुपर्ने विषयमा पाँच समुहमा विभाजन गरी सरोकारवालाहरुबीच समुहगत छलफल गराउनुभएको थियो ।

पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं समुहको नेतृत्व गर्दै क्रमशः रविन्द्र गोदारले दिसामुक्त अवस्थामा देखिएको विचलन, नवीन शाहीले दिसामुक्त अवस्थाको दिगोपनको राष्ट्रिय ढाँचाको रुपरेखा निर्माण लागि आवश्यक रणनीति, मीन बस्नेतले ढाँचाका सूचक, निराजन श्रेष्ठले समन्वय संयन्त्र र गोविन्द खत्रीले यसको अनुगमन, पुष्ट्याई र प्रमाणीकरणका बारेमा प्रस्तुति राख्नुभएको थियो ।
मन्त्रालयका शाखा अधिकृत कमला खानले संघीयतापश्चात् तीन तहको सरकार हुँदै गर्दा संरचनागत समस्याका कारण खानेपानी स्वच्छता तथा सरसफाईका कोष नभएकोले यसको व्यवस्थापन हुने गरी राष्ट्रिय ढाँचाको रुपरेखामा यसलाई समेट्नुपर्नेमा जोड दिनुभयो । सहभागी मानबहादुर रोकायले कर्णालीका भिरालो बस्तीको सर्वेक्षण गरी त्यहाँको फोहोरलाई उर्जा र मलखादका रुपमा प्रयोग गर्ने नीति र प्रविधि ढाँचामा आउनुपर्ने सुझाव दिनुभयो ।
जलस्रोत मन्त्रालयका इर््ञ्जिनियर सागर आचार्यले कार्यशालामा जलवायु उत्थानशील सुरक्षा व्यवस्थापन प्रणाली र खुला दिसामुक्त अवस्थाको दिगोपनका विषयमा सरकारवालाहरुसँग व्यापक छलफल भएको बताउनुभयो । कार्यशालामा अनुभव आदानप्रदान तथा सुझाव संकलन हुनुका साथै अब निर्माण हुने राष्ट्रिय ढाँचाको रुपरेखामा कर्णालीका दुर्गम बस्तीहरुले लाभ लिने गरी नीति तथा रणनीति बन्नुपर्ने र कार्यान्वयन तह प्रभावी हुनुपर्नेमा जोड दिइएको ईञ्जिनियर आचार्यले जनाउनुभयो ।




