OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ५, २०७८सुर्खेत
७०५ पटक

 ५ भाद्र २०७८, शनिबार

ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेन्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

बैंकले कर्णालीका व्यवसायिक कृषकहरुलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा अनुदान दिनेगरी दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । कृषि मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्र र सेन्चुरी बैंकका कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रबन्धक प्रविनकुमार दाहालले बिहीबार समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

मन्त्रालयको ‘व्यवसायिक कृषि तथा पशुपालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि, २०७६’ अनुसार कृषि कर्जामा ब्याज अनुदान दिन चालु आव.०७८÷०७९ मा बजेट विनियोजन गरिएसँगै बैंकसँग समझदारी गरिएको मन्त्रालयका सचिव डा.मिश्रले जानकारी दिनुभयो । ब्याजमा अनुदान दिन प्रदेश सरकारले रु.१० करोड बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

“बैंकले मापदण्ड पुरा गरेर आएका व्यवसायिक कृषक तथा समुहलाई रु.पाँच लाखदेखि रु.एक करोडसम्म कर्जा प्रवाह गर्नेछ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले कर्जा लिने सबै कृषक व्यवसायीहरुको वार्षिक ब्याजमा सात प्रतिशत अनुदान दिने भने २.५ व्यवसायी आफैले तिर्नुपर्नेछ ।” यस अघि कृषि विकास, राष्ट्रिय बाणिज्य, ग्लोबल आईएमई र नेपाल बैंकसँग सम्झौता भएर रु.४७ करोडको ऋण (कर्जा) प्रवाह भईसकेको उहाँले बताउनुभयो ।

गत आव.०७७÷०७८ मा प्रदेश सरकारले रु.८० लाख व्यवसायीहरुलाई ब्याजमा अनुदान दिएको सचिव डा.मिश्रले जनाउनुभयो । समझदारी भए अनुसार मन्त्रालय र बैंकका प्रदेश तथा जिल्ला कार्यालयमार्फत कृषक एवं कृषि व्यवसायीहरुलाई प्रवाह गरिने कर्जामा कार्यविधिले तोकेबमोजिम ब्याजमा अनुदान प्रदान गरिने उहाँले जनाउनुभयो ।

उहाँका अनुसार कर्णालीमा प्रदेशमा व्यवसायिक किसानहरुलाई ब्याजमा अनुदान कार्यक्रम सञ्चालन गरी व्यवसायिक कृषि तथ पशुपालन र सो सम्बन्धी व्यवसाय विकासमार्फत कृषकहरुको रोजगारी वृद्धि गर्दै उनीहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यले मन्त्रालयले ‘व्यवसायिक कृषि तथा पशुपालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि, २०७६’ लागु गरेको हो ।

मन्त्रालयले गरेको अनुगमन अनुसार कार्यक्रमको राम्रै प्रभाव देखिएको बताउँदै उहाँले ब्याज अनुदान लिएका अनुदानग्रहीको परियोजनाको सदुपयोगिता र प्रभावकारिता आदिलाई अध्ययन गरी प्रवाह कार्यलाई निरन्तरता दिईने वा तुरुन्त कर्जा असुलीमा जाने लगायतका विषयमा राय सुझाव दिने प्रदेश र जिल्लास्तरमा अनुगमन समिति रहने व्यवस्था गरिएको बताउनुभयो ।

कृषकलाई बचत गर्ने बानीको विकास गर्न, परियोजनामा स्वलागत वृद्धि गर्न, अनुदान रकमको सदुपयोगिता एवं पारदर्शिता लागि सम्बन्धित कृषक तथा कृषक समुहको खाता शून्य मौज्दातमा खोल्न दुवै पक्षले सहजीकरण गर्ने शर्त पनि राखिएको छ । समझदारी पत्र हस्ताक्षर भएको मितिले एक वर्षसम्म लागु गर्ने र दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिकृया दिनुहोस्