OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १, २०७८सुर्खेत
५४६ पटक

१ भाद्र २०७८, मंगलबार

पूर्नगठित नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेश कमिटी संयोजक प्रकाश ज्वालाले भूमिहिन किसानलाई जग्गाको मालिक बनाउने गरी तत्काल शक्तिशाली सुकुम्बासी समस्या समाधान आयोग गठन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । जनतालाई भूमिको मालिक बनाउने गरी आयोग गठन गर्न गठबन्धन सरकार तयार हुनुपर्नेमा ज्वालाले जोड दिनुभयो ।

पूर्नगठित नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आज वीरेन्द्रनगरमा सम्पन्न पूर्ण बैठक सम्बोधनका क्रममा केपी ओलीबाट पटक–पटक संविधानमाथि र पार्टीभित्र कु–गरेको गरेको आरोप लगाउँदे उहाँले पार्टीको विधान विपरितका गतिविधि र संविधान विरोधी प्रतिगमनकारी कदम चालेका कारण मुलुक र एमालेभित्र यो अवस्था आएकोले संविधान, लोकतन्त्र र अहिलेको व्यवस्था बचाउनका लागि गठबन्धन निर्माण भएको बताउनुभयो ।

‘राजनीतिक, सांगठनिक, बैचारिक कुराहरुको वस्तुनिष्ठ समीक्षा गरेर अहिले पनि आफुहरु एकीकरणकै पक्षमा रहेका छौं,’ उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्ष ओली आफैले गरेका प्रस्तावबाट पछि हट्ने पटक–पटक जालझेल गर्दै पार्टीभित्र लामो समय योगदान गर्नुभएका नेता तथा कार्यकर्ताहरुलाई अपमान गर्ने, पार्टीभित्र निरन्तर एकलौटी गर्दाको यो अवस्था आएको हो ।’

पूर्नगठित नेकपा एमालेको बैठकले गाउँपालिका÷नगरपालिका र वडा कमिटीहरुको गठन, पुर्नगठन र बैठक, प्रशिक्षण, भेला, अन्तरक्रिया तत्काल सम्पन्न गर्ने, जनसंगठनका कमिटी गठन, पुर्नगठन र बैठक तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय पारित गरेको छ । उक्त बैठकमा जिल्ला कमिटी बैठकमा पालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरुबाट तत्कालिन अवस्थाका बारेमा रिपोर्टिङ गरिएको थियो ।

बैठकले जिल्ला कमिटीको सचिवालय, विभिन्न विभागहरुको जिम्मेवारी दिएर व्यवस्थित रुपमा अगाडी बढाउने, पार्टी कामलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न सबै कमिटीका सम्पर्क कार्यालयहरु स्थापना गर्ने निर्णय भएको कमिटीका सचिव शिवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

पार्टी सदस्यहरुको अभिलेखलाई व्यवस्थित गर्ने, नयाँ पार्टी सदस्यहरुको नामावली तथा सदस्यता संकलन र अध्यावधि गर्ने निर्णय भएको छ । तत्काल सुकुम्वासी आयोग गठन गरेर भूमिहिन किसानहरुलाई जग्गाको मालिक बनाउने प्रक्रिया सुरु गर्न सरकारसंग माग गर्ने निर्णय भएको सचिव उपाध्यायले बताउनुभयो । पुर्नगठित एमालेका नेता तथा कार्यकर्ताहरु माथि भईरहेको अवरोध, दबाब, अनर्गल प्रचारका विरुद्धमा कडारुपमा आपत्ति प्रकट गर्दै लोकतन्त्रमा विचार स्वतन्त्रताको अधिकारलाई कुण्ठित हुने गरी गरिएका यस्ता हर्कत तत्काल रोक्न बैठकबाट चेतावनी दिइएको छ ।

त्यस्तै पूनर्गठित नेकपा एमालले एक विज्ञप्ति पनि जारी गरेको छ । ‘विभिन्न कमिटी, जनवर्गीय संघ, संगठनका विभिन्न जिम्मेवारी, भूमिका रहेका अगुवा नेता तथा कार्यकर्ताहरुलाई आउने जुनसुकै परिस्थितिमा उच्च मनोबल, संयमताका साथ सहज रुपमा सामना गर्न हार्दिक अपिल गर्दछौं’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘स्थानीय तह, प्रदेश तथा संघमा प्रमुख राजनीतिक दलहरुवीच भएको गठबन्धन, सहमित, सहकार्यको भावनालाई आत्मसाथ गरी गठबन्धनको संस्कृतिलाई अवलम्बन गर्न सबैमा हार्दिक अनुरोध गरिन्छ ।’

जिल्ला कमिटी अध्यक्ष मोहनसिंह बडुवालको अध्यक्षतामा भएको बैठकमा सुर्खेती कम्युनिष्ट नेता कुलदीप भट्ट, जनजाति महासंघका अध्यक्ष बीरबहादुर रावत, मुक्ति समाजका प्रदेश कमिटी अध्यक्ष वसन्त विक, अनेम.संघका केन्द्रीय सदस्य धना जिसी, युवा संघका केन्द्रीय सचिव जंग राना, अनेरास्ववियुका सचिवालय सदस्य मिलन बिसीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्