OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७६ सुर्खेत
५५३ पटक

सुर्खेत, १ माघ ः हरेक वर्ष माघ १ गतेलाई थारुहरुले माघी र मगर समुदायले मकर सकरातीका रुपमा मनाउँछन् । दुवै जातिले यसलाई आ–आफ्नो संस्कारको रुपमा विभिन्न गतिविधिका साथ विशेष महत्व दिएर मनाउने गर्दछन् ।
आज सुर्खेतबासी थारुहरुले वीरेन्द्रनगर नगरपालिका ९ को कालीमाटी, १० कुन्ती, नौवस्ता र नयाँ गाउँमा विभिन्न साँस्कृतिक झाँकी, नृत्यसहित माघी पर्व मनाए । त्यस्तै, माघी पर्वको अवसरमा मगर समुदायले नगरपालिकाका खजुरा, लाटीकोईली, ईत्राममा विभिन्न साँस्कृतिक कार्यक्रम गरे ।
पुसको अन्तिम रातमा जाग्राम बसेर माघ १ गते नयाँ वर्षलाई स्वागतगरी आज विभिन्न साँस्कृतिक कार्यक्रमसहित कार्यक्रम सम्पन्न गरिएको थारु कार्यकारिणी सभा सुर्खेतका अध्यक्ष बेचुलाल चौधरीले जानकारी दिए । उहाँका अनुसार थारु संस्कृति, सभ्यता र यसको ईतिहासलाई जीवन्त बनाई राख्न वर्सेनि साँस्कृतिक महोत्सवको आयोजना गरिन्छ ।
आजको माघीमा राजधानी सुर्खेतका विभिन्न ठाउँमा थारु तथा मगरका विभिन्न कार्यक्रम भईरहँदा खुलामञ्चमा भने कर्णालीको भाषा, संस्कृति र सभ्यतासँग जोडिएको देउडाको रौनक पनि त्यत्तिकै आकर्षक थियो । देउडा पारखी महिला पुरुषहरु देउडामा जोडिएका थिए भने दर्शकहरुको भिड पनि खचाखच थियो ।
देउडामा एकातिर महिला, अर्कोतिर पुरुषहरु लामवद्ध रहेर गोलाकारमा लागेको दृश्यहरु निकै मनमोहक थिए । देउडाकर्मीहरुले कर्णालीको ईतिहाँस, वर्तमान नेपालको समसामयिक गतिविधिका विषयमा उठाएको सवालले दर्शकदीर्घालाई मोहित बनाएको थियो ।
देउडा खेलिरहकै क्रममा महिला देउडाकर्मी कालीकोटबासी बलु शाही सवाल उठाउँदै भन्नुभयोः
भ्रष्टाचारले छालो हान्यो, उब्जियो बेथिति ।
व्यक्ति धनी, राज्य गरिब कस्तो आयो नीति ?
राज्यकोष सिध्याउने कन डाङनै (सजाय दिन) त पडला (पर्ला)ं ।
क्यागरी समाज हाम्रो सहि बाटो हँडला (हिड्ला) ?
त्यस्तै पुरुष देउडाकर्मी जुम्लाबासी मणिकुष्ण उपाध्यायले शाहीको सवालको जवाफ दिदै भन्नुभयोः
बेइमानीले बेकार ग¥यो, समाजको नाम गयो ।
तिम्रो हाम्रो गलत सोचले झन् बेथिति भयो ।।
ईमान, ईज्जत खोला फाल्दा, बिग्रियो पिरती ।
जरैदेखि फाल्नुपर्छ, समाजका कुरिती ।।
सुर्खेतको खुलामञ्चमा गाईएका यस्तै खाले दर्जनौ देउडा गीतले नेपाली समाजको वर्तमान अवस्थालाई चित्रण गरेको थियो । समाजमा भएको अनियमितता, भ्रष्टाचार, चोरी, लुटपाट, हिंसा र मानव अधिकार हनन् र राज्यप्रति नागरिकका अनुभूति र धारणाहरु देउडाबाटै स्पष्ट गरिएका थिए ।
मुगुका महिलाहरुले परम्परागत आफ्नै मौलिक शैलीको देउडा प्रस्तुत गरेका थिए । विभिन्न भाषा, लवज र शैलीमा गाईने देउडाले मानव जीवनको भाव, तर्क र अर्थ प्रदान गर्दै आएको देउडा पारखी लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो । स्थानीय मानबहादुर शाहीले देउडा विशेषगरी भाषा, संस्कृति, साहित्य, कला र सभ्यता संरक्षण गर्ने प्रमुख माध्यम बनेको तर्क गर्नुभयो ।
यसको संरक्षण गर्न सकेमात्र नेपाल र नेपालीको अस्थित्व र स्वाभिमान रक्षा हुने शाहीको भनाई थियो । संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य कर्णालीको ईतिहास र मौलिकता बोकेको देउडा संस्कृतिको संरक्षणमा सरकार स्वयं लाग्नुपर्ने सुझाउनु हुन्छ ।
कुनैपनि महिनामा प्रतियोगिता नहुने भएपनि सुर्खेतको खुलामञ्चमा दुई वर्षदेखि स्वतःस्फर्तमा कर्णाको देउडा मेला लाग्ने गर्दछ । यद्यपि कर्णाली प्रदेश सरकार गत कार्तिक १९ गतेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्षको साउन १ गते देउडाको सार्वजनिक विदा दिने निर्णय गरेको ।
सामाजिक उत्सव, मेला, मालिका, जात्रा, पर्व, शुभकार्य, नव दिनजस्ता विभिन्न अवसरमा नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाईने प्रचलित लोक गायनशैलीको देउडा गीत राजधानी सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते विशेष उत्सवका रुपमा सञ्चालन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्