OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २९, २०७८सुर्खेत
६७९ पटक

२९ साउन २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारका विभागीय मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आज आयोजित ‘मुख्यमन्त्रीसँग मन्त्रीहरुको कार्यसम्पादन समारोह’मा मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । चालु आव.०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई प्रभावकारी र प्रतिफलमुखी बनाउन मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

“सरकारले गर्ने कार्यसम्पादनमा निकै गाह्रो र चुनौति भएकोले यसबारे हामीले गहिरो समीक्षा गर्यौं । वित्तिय अनुशासन कायम गर्न यो सम्झौता गरेका छौं” उहाँले भन्नुभयो, “बिगतमा तत्काल काम गर्ने संरचना र जनशक्तिले अपेक्षित काम गर्न सकिएन । प्रदेश सरकारलाई यस अघिको भुक्तानी दिन अँझै बाँकी छ । हामीले बहुवर्षीय ठेक्का गरेकोमा आर्थिक दायित्व रु.आठ अर्ब छ भने अहिले हामीले रु.सात अर्ब बजेट विनियोजन गरेका छौं ।”

कर्णालीमा भौतिक प्रगति राम्रो भएको तर वित्तिय प्रगतिलाई मात्र ध्यान दिएर विकास हुन नसकेको भनेर बाहिर प्रचारबाजी भएको उहाँले टिप्पणी गर्नुभयो । आव.०७६÷०७७ मा संगठन तथा जनशक्ति व्यवस्थापन गर्नुपरेको र आव.०७७÷०७८ मा कोरोना महामारीका कारण अपेक्षाकृत बजेट खर्च हुन नसकेको मुख्यमन्त्री शाहीको प्रतिक्रिया थियो ।

अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशको विकास प्रगति राम्रो भएको दावी गर्दै उहाँले चालु आव.०७८÷०७९ शतप्रतिशत बजेट खर्च गरिने धारणा राख्नुभयो । सोही सन्दर्भमा उहाँले आमसञ्चार प्रतिष्ठान ऐनमार्फत ल्याउन लागिएकोले ढिला भएको यद्यपि त्यसलाई पूर्ण बनाउन पत्रकारहरुको आवश्यक राय सुझाव दिएर अघि बढ्ने जनाउनुभयो ।

यो कार्यसम्पादन सम्झौता प्रमुख सचिवसँग विभागीय सचिवहरु र सचिवसँग मातहतका शाखाका प्रमुखहरुबीच सम्झौता हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । कार्यसम्पादन समारोहमा उद्योगमन्त्री नन्दसिंह बुढा, भौतिकमन्त्री अम्मरबहादुर थापा, कानूनमन्त्री सीताकुमारी नेपाली, आर्थिक मामिलामन्त्री गोपाल शर्मा, जलस्रोत तथा उर्जामन्त्री दीनबन्धु श्रेष्ठ र कृषिमन्त्री कुर्मराज शाही, प्रमुख सचिव गणेशप्रसाद पाण्डेय तथा मन्त्रालयका सचिवहरुलगायत पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको रहेको थियो ।

प्रतिकृया दिनुहोस्