OnlinePana

आज : २०८१ मंसिर ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

किरण गजमेर : देश खोज्दै गुञ्जिरहेको आवाज…

तारा श्रीष मगर : जो परिवारको गर्जो टार्न गायिका बनिन्

कोरपाटी संवाददातासाउन २३, २०७८काठमाडौं
१११९ पटक

२३ साउन २०७८, शनिबार

सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भूटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण ज्यायजेथा मात्र होइन, जीवनका योजना र सपनाहरु पनि उतै छाडिन्छ । भाग्दै, लुक्दै मातृभूमीसम्म आइपुग्दा उनीसँग सुदूर अतितका स्मृतिहरु मात्र बाँकी रहन्छ । रित्तो हात, रित्तो जीवन, रित्तो सपना ।

झापाको खुदुनाबारी शिरिरबाट अब नयाँ जीवनको थालनी गर्नुपर्ने हुन्छ । शरणार्थी शिविरमै उनको घरजम हुन्छ । त्यही शिविरमा जन्मन्छन्, किरण । कस्तो विडम्बना ! जन्मदै अनागरिक ।

एउटा अबोध बच्चाको न भूगोल छ, न भविष्य । न स्थायी चिनारी छ न त दिगो जीवन । उनका लागि त्यो शिविर नै सम्पूर्ण संसार । त्यही संसारमा खेल्छन्, हुर्कन्छन् ।

आफु जन्मिएको घर, खेलेको आँगन र आफुसँग रमाउने दौतरीमध्ये धेरैजसोलाई छाडेर हिड्नपर्ने क्षण पनि आउँछ एकदिन । उनी आमाबुवासंग अमेरिका पुग्छन् । अमेरिका, जसले उनलाई भौतिक सुख–सयल दिन्छ, तर चिनारी दिदैन । आखिर त्यहाँ पनि उनी परदेशी हुन् ।

उनी आफ्नो असली चिनारी पर्गेल्न जन्मभूमी फर्कन्छन् । गायनले उनलाई आत्मासम्मानबोध गराएको छ । उनले नेपाली संगीतकै आलोकमा यश कमाउने मनासय राखेका छन् । यतिबेला ‘भ्वाइस अफ नेपाल’को स्टेजबाट आप्mनो चिनारी बनाइरहेका छन् उनी ।

संगीत : नेपाली भाइचारा बढाउने शक्ति

कति रात भोकै सुतेर त कति दिन खाली खुट्टा हिडेर किरण गजमेरले १४ बर्ष झापाको शरणार्थी शिविरमा बिताए । न उनी आफूलाई गर्वका साथ नेपाली भन्न सक्थे न त भुटानी नै ।

एक दशकअघि भुटानी शरणार्थी शिविरवासीको नियतीमा नयाँ मोड आयो । अमेरिका र युरोपका सात देशले संरक्षण दिने भनेपछि शरणार्थीहरु त्यतै लागे ।

युरोप–अमेरिका पुगेपछि सबैको जीवनशैली फेरियो, जीवनस्तर अर्कै भयो । किरण पनि मेडिकल शिक्षाको विद्यार्थी बने । गला गतिलो थियो, फुर्सदमा गिटार फिट्दा फिट्दै गीतसंगीत कम्पोज गर्न थाले । मन भने सूदुर पुर्वको नेपालतिरै उडिरहन्थ्यो ।

‘नेपाल र नेपालीको माया सधै मेरो शिरमा छ’, उनी भन्छन्, ‘त्यो मायाले मलाई नेपाली गीतसंगीत आत्मासात गरेर हिड्न सिकायो । यो बाटोमा मलाई आनन्दको अनुभुती हुन्छ ।’

‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि सार्बजनिक ध्यानाकर्षको पात्र बनिसकेका किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमा पनि गाए । इमेज, कालिका एफएम लगायत चर्चित अवार्डहरु पाए ।

‘भ्वाइस अफ नेपाल’को ब्लाइन्ड अडिसनमा उनले ‘देखेर तिमीलाई’ बोलको गीत गाए । त्यसपछि पाएको प्रशंसा र साथले आफुलाई धेरै उत्साहि बनाएको उनी बताउँछन् ।

‘अहिले विश्वका हरेक ठाउँमा नेपाल छ । संसारभरका नेपाली भाषीको आवाज बन्ने मेरो उद्देश्य हो’, उनी भन्छन्, ‘हामी एउटै नेपाल आमाका सन्तती हौं । मैले नेपाली भाइचारा बढाउने शक्ति संगीतमा पाएको छु । त्यसैको लागि अहिले ‘भ्वाइस अफ नेपाल’को स्टेजमा आएको हुँ । ’
‘विदेशी हो, विदेशमै भाग्छ !’

‘द भ्वाइस अफ नेपाल’ यात्रामा किरणले आरोपहरु पनि खेप्न परेको छन् । उनलाई ‘विदेशी हो, विदेश भागिहाल्छ नि’ भन्दै खसाल्नेहरु पनि छन् । तर, उनी भन्छन्, ‘संगीतको माध्यमबाट नेपाली भाषा–संस्कृतीको सेवा गर्नु, नेपाली भाइचार बढाउनु मेरो सपना हो । यो सपनाबाट म कहिल्यै विचलित हुन्न ।’

किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । लगातार यती लामो समय नेपाल बसेको मुल्य आफुले अमेरिकामा चुकाइरहेको उनी बताउँछन् । यो अवस्थामा ‘यो विदेशी हो, विदेशमै भाग्छ’ भन्नेजस्ता कुरा सुन्दा स्वभाविक रुपमा दुःख लाग्ने गरेको उनी सुनाउँछन् ।

तर, लामो यात्रा गर्न चाहने यात्रीले बाटोमा थुप्रै हण्डर सहनुपर्ने कुरा उनले बुझेका छन् । यात्राको सुरुतिरैको हण्डरबाट थकान महशुश गर्नेवाला देखिदैनन् किरण । ‘फजुल आरोप लाग्दा दुःख त लाग्छ’, उनी भन्छन्, ‘तर, मैले त्यस्तो सोच र आरोपलाई गलत साबित गर्ने हो ।’
प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका छन्, किरण । गायन शैली मिल्ने भएकाले प्रमोदलाई कोच बनाएको किरण बताउँछन् ।

‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए । उनलाई ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई…’ गाउन लगाउने कर्ण नै थिए । यसक्रममा धेरै प्राविधिक कुरा पनि थाह पाएको किरणको अनुभव छ ।

‘मैले जित्दा प्रमोदको टिमले जित्छ’

प्रमोदकै टिमबाट लाइभ राउन्डमा पुगेका रवि गहतराजसंग किरणको चर्को प्रतिस्पर्धा चल्यो । दुबै फाइनलमा पुग्न सक्ने भन्दै सामाजिक संजालमा बहस चलिरहँदा रवि बाहिरिन पुगे ।

‘यसमा मलाई पनि दुःख लागेको छ’, किरण भन्छन्, ‘बाहिर जस्तो चर्चा चलेपनि हामी धेरै मिल्ने साथी हौं । हामीबीच कहिल्यै कुनै समस्या भएन । अब मैले जित्दा रविले जितेको हुनेछ । मैले ट्रफी जिते भने त्यसको हकदार टिम प्रमोदका सोह्रै जना हुनेछन् ।’
किरणले विश्वभरका नेपालीबाट समर्थन पाएका अनुभव गरेका छन् । आफु पनि सबै नेपाली भाषीको आवाज र सपना बोकेर आएको यी भावूक स्वभावका गायकको भनाई छ । ‘देशले नै निकालिदिएको विरुवामा लागेको फल हुँ म’, उनी भन्छन्, ‘मलाई प्राप्त मायाका लागि सम्पुर्ण नेपाली भाषीप्रति हार्दिक आभार र खुशी व्यक्त गर्न चाहन्छु ।’

हरेकपटक गाउदा आफूमाथि रहेको विश्वभरका नेपालीको आशालाई निराशामा अनुवाद हुन दिनु हुदैन भन्ने सोच्ने गरेको किरण बताउँछन् । ‘मलाई अब नेपाली नागरिकता पाउँछु भन्ने आशा छैन’, उनी भन्छन्, ‘गाएर विश्वभरका नेपालीलाई जोड्न सकेँ भने त्यो पाए सरह हुनेछ ।’
देश विनाका नागरिक

किरणसंग अमेरिकाको पासपोर्ट छ । तर, उनलाई यसले सन्तुष्टी दिएको छैन । हजारौंका लागि ‘सपना’ बनेको अमेरिकामा उनको घर छ, तर देश नहुनुको छटपटी उनमा छ ।

भुटानका राजाले गोरखाका राजा राम शाहलाई भनेर नेपालीलाई भुटान लैजान थालेको इतिहास छ । कालान्तरमा नेपाली मूलका नागरिकहरुको प्रभाव बढ्दै गयो । नेपाली भाषीहरुले आप्mनो भाषा–संस्कृती, भेषभुषाको सम्बर्धन गर्दा भुटानी शासकहरुले ‘थ्रेट’ महसुस गरे । अनि झिके पोशाक र भाषा बिबाद ।

भुटान सरकारले गरेको ‘नेपालीपन निषेध’ नेपाली भाषीहरुको लागि मान्य हुने कुरै थिएन । त्यसपछि सुरु भयो दमन र रातारात देश निकाला । त्यसरी करिब एक लाख नेपालीभाषी भुटानी नागरिक पुर्वी नेपालको झापा र मोरंग जिल्लाका खोला किनार र गौचरनवासी बन्न वाध्य भए ।
केही समयपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय पहलमा भुटानी शरणार्थीहरुका लागि फरक–फरक ठाउँमा शिविरहरु बने । गोलदाप शिविरकी आमा र खुदुनाबारी शिविरमा रहेका बाबुको बिहे भएपछि किरणको जन्म भयो ।

खुदुनाबारी शिविरको स्कुल पढ्दा किरणले पहिलो पटक अरुलाई सुनाउन गीत गाएका थिए । ‘सबैले राम्रो भने’, उनी सम्झन्छन्, ‘त्यसपछि सन् २००५ मा बाल गीत रेकर्ड भयो । एउटा संस्थाले त्यो बालगीत गाउन खुदुनाबारी शिविरबाट मलाई छानेको थियो ।’

हामीले सुरुमा भने जस्तै, किरण गजमेर हजारौ चोट र ताप सहेर बनेको एउटा धारिलो हतियार हो, जसको परख अहिले देशकै चर्चित ‘रियालिटी शो’मा भइरहेको छ । र, देश खोजिरहेको उनको आवाजले लक्ष भेट्ने सम्भावना बलियो देखिन्छ ।

तारा श्रीष मगर : जो परिवारको गर्जो टार्न गायिका बनिन्

कस्तो रमाइलो, विद्यालयमा गृहकार्य नगरेको बखत वा केही गल्ती–कमजोरी हुँदा उनलाई सजाय हुन्थ्यो, गीत गाउने । अर्थात् तारा श्रीष मगरले सजाय भुक्तान गर्न गीत गाउनुपर्ने ।

यस्तो सजाय नै उनको जीवनको धुन बनिदियो । उनी स्वर खिपेर गाउन थालिन् । तर, छोरी यसरी गीत–संगीतमा लहसिएको कुराले आमाबुवा खिन्न थिए । आखिर कुन गरिब आमा-बुवा मञ्जुर हुन्छन् छोराछोरी गिताङ्गे बनेर बरालिएको ?

गुजाराका लागि बुवा वैदेशिक रोजगारीमा थिए । उनका साथी–संगतीहरुले सुनाइदिएछन्, ‘तिम्रो छोरी त असाध्यै राम्रो भाका हालेर गाउँछिन् ।’ अब पो बुवाको मन पग्लियो । उनले छोरीलाई हौसला दिए । तर, बुवा अचानक पक्षघात भएर थलिए । परिवारको आड–भरोसा नै ओछ्यान परेपछि परिवारको बेहाल हुने नै भयो । ताराको अघिल्तिर दुःख र कष्टको चाङ थुप्रियो । रोगी बुवा स्याहार्नुपर्ने, भाइहरुको पालनपोषण गर्नुपर्ने, घरको चुल्हो बाल्नुपर्ने ।

यतिबेलासम्म उनको परिवार बागलुङ, छिस्तीबाट पोखरा सरिसकेको थियो । पोखरामा उनीहरु भाडाको कोठामा बसेर गुजारा चलाइरहेका थिए । सो बखत तार १४ बर्षकी थिइन् । ९ कक्षामा पढ्दै थिइन् ।

आयआर्जनका लागि काम गर्नैपर्ने बाध्यता भयो । जानेको काम त्यही हो, गीत गाउने । पोखराका रात्रिकालिन बार, गजल रेष्टुरेन्टहरुमा गाउन थालिन् । विद्यालयबाट फर्केपछि भाइहरुलाई खाजा, नास्ता खुवायो । अनि दौडियो कामतिर । घर फर्कदा झन्डै मध्यरात भइसक्ने । छोरी मान्छे हुनुको पीडा ! छिमेकीहरु उनीमाथि शंकाको दृष्टि विच्छ्याउँथे ।

‘निकै गाह्रो भयो’ तारा ती दिनहरु सम्झिन्छिन्, ‘विद्यालयबाट फर्किएपछि साथीहरु खेल्न निस्कन्थे । म खाजा बनाएर भाइहरुलाई खुवाएर काममा निस्किनुपर्थ्यो । कामबाट फर्किँदा राति ११ बजिसक्थ्यो । छरछिमेकले राम्रो नजरले हेरिदिँदैनथे ।’

नेपाल टेलिभिजनबाट ‘भ्वाइस अफ टिन’ नामक सांगीतिक रियालिटी शो प्रशारणको तयारी थियो । पोष्टरहरु पोखराका भित्ताहरुमा टाँसिएका थिए । तारालाई सहभागी हुने रहर जाग्यो । परिवार, साथीभाइले सहभागी हुन सुझाव दिए । तारा त्यसमा भाग लिन काठमाडौं आएकी थिइन् । तर, उत्कृष्ट २५ बाट अगाडि आउन सकिनन् ।

सोही समयदेखि आफू गायिका बन्छु भन्ने अठोट लिएको तारा सुनाउँछिन् । त्यसमा अगाडि आउन नसके पनि उनले हरेश खाइनन् । पोखरामा लोकप्रिय गायन रियालिटी शो ‘बीग आइकन’मा भाग लिइन् । त्यसमा तारा उत्कृष्ट ४ मा पुग्न सफल भइन् । सोही समय अमित गुरुङको शब्द, संगीतमा ‘फूल सम्झे फूल तिमी’बोलको गीत गाउने अवसर पाएकी थिइन् ।

गजल रेष्टुरेन्ट, डान्सबारहरुमा गाउने, रियालिटी शोहरुमा भाग लिने, पढाइलाई निरन्तरता दिने क्रम चलिरहेको थियो । छोरीको संगीतप्रतिको लगाव र गायकीलाई बुवाले बुझिसकेका थिए । प्यारालाइसिसबाट थलिएका बुवाले एकदिन छोरीलाई भने, ‘संगीतमा राम्रो गर्ने हो भने पोखरामा बसेर हुँदैन । ठाउँमै गएर संघर्ष गर्नुपर्छ ।’

अनि संगीतमा राम्रो गर्ने संकल्प बोकेर तारा २०७१ सालमा काठमाडौं आइन् । गामबेसी दोहोरी साँझ, त्यहाँ मोर्डन सिंगरका रुपमा काम सुरु गरिन् । सुख–दुःख दैनिकी चलिरहेको थियो ।

एकदिन ग्राहकका रुपमा मालिंगो गजल एण्ड वारमा पुगेकी थिइन् । सो निकै चलेको गजल एण्ड बार थियो । उनी आफूले ‘रिक्वेस्ट’ गरेर एउटा गीत गुनगुनाइन् । ‘त्यहाँ मेरो स्वर मन परेपछि कामको अफर गर्नुभयो’ उनी भन्छिन्, ‘त्यसपछि आर्थिक रुपमा केही सहज हुँदै गयो ।’ त्यहाँबाट आफूले संगीतसम्बन्धी धेरै ज्ञानहरु सिकेको समेत ताराले बताइन् ।

‘गाह्रो निकै थियो । अलिकति बिग्रेपनि गाली खाइन्थ्यो’ उनले अगाडि भनिन्, ‘तर त्यो गालीले गर्दा नै धेरै कुराहरु सिकेँ ।’ सोही समयमा उनले थुप्रै गीत रेकर्डिङका अवसरहरु पाइन् । ‘सर्भाइभ हुनका लागि पनि आएका गीतहरु गाएँ । तर, अधिकांश गीत लाइटमा आएनन्’ उनले सुनाइन् ।

चलचित्र, कौरा, सालैजो, गुरुङ, मगर भाषाका गीतहरु गरी ५ देखि ६ सयसम्म गीत रेकर्ड गराएको उनले बताइन् । त्यसमध्ये चलचित्र ‘शिरफूल’को शीर्षगीत लगायतका केही गीतलाई स्रोता एवं दर्शकले रुचाएका थिए ।

ताराले मालिंगो गजल एण्ड बारमा झण्डै चार वर्ष काम गरिन् । त्यसपछि सो गजल एण्ड बार बन्द भयो । अर्को गजल साँझमा काम गरिन् । नाम थियो, आलिसान गजल । तीन महिनाका कतार पनि पुगिन्, दोहोरी साँझमा गजल गायिकाका रुपमा । यो कोरोना महामारी आउनु केही अगाडिको कुरा थियो ।

बुवाको इच्छा पूरा गर्न ‘भ्वाइस’मा आएँ

गजल साँझमा गाइरहेकी थिइन् । कमाइ ठिकै भइरहेको थियो । परिवारले भनेको समयमा पैसा पठाउन सक्ने भएकी थिइन् । धेरै गीत गाए पनि चिनारी बनिसकेको थिएन । जुन कुराले उनलाई पिरोलिरहन्थ्यो ।

‘यति धेरै काम गर्यौ तर आफ्नो नाम पनि हुनुपर्यो । तिमीलाई भ्वाइस अफ नेपालको स्टेजमा हेर्ने ठूलो इच्छा छ’ एकदिन बुवाले भने ।

‘भ्वाइस अफ नेपाल’को दोस्रो सिजनमा सहभागी हुन पनि धेरैले आग्रह नगरेका होइनन् । तर, त्यतिबेला उनी आफैंलाई सहभागी हुन इच्छा लागेन ।

तेस्रो सिजन आउने तयारी भैरहँदा बुवाले सहभागी हुन आग्रह गरे । साथीसंगीले पनि भन्थे, ‘त्यहाँ जानुपर्छ, तिमीलाई धेरै प्लस प्वाइन्ट हुन्छ । तिमीले गाएको गीतले भन्दा त्यो स्टेजले तिमीलाई माथि लैजान्छ ।’ अनि ताराले ‘भ्वाइस अफ नेपाल’को तेस्रो सिजनमा सहभागी हुने निधो गरिन् । डिजिटल फर्म भरिन् । प्रि–अडिसनका लागि फोन आयो । प्रि–अडिसनमा पुगेर गीत गुनगुनाइन् । ‘ब्लाइन्ड अडिसन’का लागि फोनको प्रतिक्षा गरिरहेकी थिइन् ।

आज फोन आउला, भोलि आउला, धेरै दिन बित्यो तर फोन आएन । ‘आशा मारिसकेकी थिएँ । म छनोट भइनँ होला भन्ने सोचिसकेकी थिएँ’ उनले भनिन्, ‘२० दिनभन्दा पछि फोन आयो । निकै खुसी लाग्यो ।’

‘ब्ल्याइन्ड अडिसन’मा गाइन्, ‘तिमी नै हौ…’ । चारैजना कोचको मन जितिन् । चारै कोचहरु ‘टर्न’ गरे । आँखा चिम्लिन् र कोचमा राजु लामालाई रोजिन् ।

नसोचेको चर्चा पाएँ

जब तारा ‘भ्वाइस अफ नेपाल’मा प्रस्तुत हुन थालिन् । उनले सोचेकी थिइनन्, यात्रा यहाँसम्म आइपुग्ला भनेर । ब्याटल, नकआउट, लाइभ राउण्ड हुँदै उनी फाइनल राउण्डमा आइपुगेकी छिन् । त्यसमाथि ‘भ्वाइस अफ नेपाल’मा फाइनलमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन् । यसले उनलाई थप खुसी मिलेको छ ।

स्रोता एव दर्शकको निकै माया पाएको तारा बताउँछिन् । ‘मैले सोचेकी थिइन् । यतिधेरै दर्शक–स्रोताहरुले मेरो स्वरलाई मन पराउनुहुन्छ, माया गर्नुहुन्छ भनेर । भ्वाइसबाट मैले नसोचेको नाम पाएकी छु’ उनी भन्छिन्, ‘त्यति धेरै गीत गाउँदा नपाएको चर्चा अहिले पाएँ । एकदमै खुुसी छु ।’ यस अगाडिको यात्राबारे थाहा छैन । तर, यहाँसम्म आउन सकेकोमा निकै सन्तुष्ट छिन् तारा । सायद, त्यो भन्दा खुसी होलान्, प्यारालाइसिसबाट थलिएका उनका बुवा ।

‘आप्पा’को सपना पुरा गर्न संगीतमा होमिएका आर्यन तामाङ

कक्षा १ मा पढ्दा नै आफ्नो आप्पाले संगीत सिकाउन पढाएपछि आर्यन तामाङ दुःखी भए । उनको संगीतमा लाग्ने चाहना फिटिक्कै थिएन । यसैले, संगीत अध्ययन गर्न जाँदा उनी कैयौं पटक रोए ।

उनका आप्पा दार्जिलिङका राम्रा कलाकार थिए । तर, दार्जिलिङ संगीतका लागि सानो बजार हुँदा आर्यनका आप्पाले आफूलाई ठूलो बजारमा चिनाउने मौका नै पाएनन् । सायद, उनको आप्पाको चाहना थियो, अब आर्यनले ठूलो बजारमा आफूलाई चिनाओस् । तर, म्यूजिकमा रुची नै नभएका आर्यनले सुरुमा दिक्क मानेका थिए ।

अहिले आएर आप्पाले सानोमै म्यूजिकको कोर्ष सिक्न पठाउनुको अर्थ आर्यनले वुझेका छन् । उनले भने–‘सायद, मेरो आप्पाले सानैमा मेरो प्रतिभा चिनेर संगीतको शिक्षा लिन मलाई पठाउनुभएको रहेछ । अहिले संझदा खुशी लाग्छ । तर, त्यो बेलामा भने म निक्कै रोएँ ।’

कक्षा ५ मा पुगेपछि भने आर्यनलाई आफू गाउनकै लागि जन्मिएको जस्तो लाग्न थाल्यो । स्कुलमा आयोजना भएको कार्यक्रममा जब उनले धेरै दर्शकमाझ आफ्नो स्वर सुनाए, नसोचेको माया पाए । आर्यनले यसपछि भने संगीतमा नै जीवन जिउने सपना बोके र अगाडि बढे ।

आर्यनसँग संगीतमा लाग्ने सपना त थियो तर स्टेज कम थिए । दार्जिलिङको सानो बजारबाट ठूलो बजारमा पुग्ने उनको चाहना पनि थियो । अवसर खोज्दै थिए उनी । कैयौं पटक उनी भारतका विभिन्न स्थानमा हुने रियालिटी शोमा पनि पुगे । तर, विशेषगरि नेपाली गीत गाउन नपाउने नियमको परिवन्धले उनलाई समस्यामा पारेको थियो ।

दार्जिलिङमा आयोजना भएको ‘दार्जिलिङ राइजिङ स्टार’मा उनी चौथो स्थान हासिल गर्न सफल भए । गुरु प्रदिप क्षेत्रीसँग संगीतको ज्ञान सिक्दै गर्दा उनले आफूलाई निखारेका थिए ।

आर्यनले ‘द भ्वाइस अफ नेपाल २’को बारेमा सुनेका थिए । तर, यो शोलाई फलो गरेपनि उनले सहभागी हुने हिम्मत भने गरेनन् । तेश्रो अडिसनको समयमा दार्जिलिङमा महामारीका कारण नेपाल बाहिरका प्रतिभाहरुले सहभागी हुन नपाउने भन्ने हल्ला चलेको रहेछ । तर, आर्यनले भने जे सुकै होस् भनेर शोका लागि अडिसन दिए । आयोजकले फोन गरेर बोलाएपछि भने आर्यनले जिन्दगीले नयाँ फड्को मार्न लागेको हो कि भन्ने आभाष गरे ।

टाइटल जित्ने रहर

आर्यन कोच दीप श्रेष्ठको टिमबाट अन्तिम ४ मा पुगेका छन् । आज हुने फाइनलले आर्यन र अन्य तीन प्रतिस्पर्धीमध्ये एक जनाको टाइटल जित्ने सपना पुरा गरिदिनेछ भने अन्य तिन जनाले फेरि नयाँ चिराबाट आफूलाई अगाडि बढाउनुपर्नेछ । आर्यन भन्छन्–‘यहाँसम्म आउनु नै मेरो जित हो जस्तो लाग्छ । यो शोको प्लेटफर्ममा आएपछि गरिएका संघर्ष संझिएर मनमा धेरै कुराहरु खेलिरहेका छन् । यहाँसम्म आएपछि टाइटल जित्न पाए हुन्थ्यो भन्ने त लागेको छ । तर, नहुन पनि सक्छ । म सबै कुराका लागि तयार छु ।’

आर्यन टप ४ मा आइपुग्दा आफूले दर्शक तथा श्रोताबाट अथाहा प्रेम पाएको सुनाउँछन् । टाइटल जितेपनि वा नजितेपनि आफूले संगीतलाई नै अगाडि बढाउने उनको सोच छ ।

सुरुमा त आर्यनले ‘ब्लाइन्ड अडिसन’ मात्र भएपनि पार गर्न पाए हुन्थ्यो भन्ने सोचेका थिए । तर, हरेक खुड्किलोमा पुग्दा त्यसलाई पनि पार गर्ने रहर उनमा पलाउथ्यो । लाइभ शोमा आएर पाएको मायाले भने आर्यन पुलकित छन् । फाइनलसम्म पुग्दा नै आर्यनले यो शो जितिसकेको महशुश गरेका छन् ।

दीप श्रेष्ठलाई नै कोच रोज्नुको कारण ?

आर्यनको दिमागमा सुरुमै दीप श्रेष्ठ थिए । भने–‘कोच दीप घुम्नु भयो भने उहाँलाई नै रोज्छु भन्ने सोचेको थिएँ । किनकी, उहाँ र मेरो संगीतको जनरा मिल्छ । म सेमी क्लासिकल गाइरहेको मानिस हुँ । मलाई दीप सरले अझै निखार्न सक्नुहुन्छ भन्ने लागेको थियो । यहाँ आएपछि थाहा पाए कि मसँग त संगीतको निकै कम ज्ञान रहेछ । दीप सरसँग मैले धेरै कुराहरु सिक्न पाएँ । यसका लागि त म आफूलाई भाग्यमानी नै ठान्छु ।’

आर्यन संगीतलाई मानिसले हरेक समयमा सुन्ने भएकाले पनि यो दुःख र सुख व्यक्त गर्ने माध्यम रहेको बताउँछन् ।

आर्यनको करिअर नै म्यूजिकमा बनाउने सपना छ । उनले आफू सानो उमेरको भएकाले पनि हरेक वर्गका दर्शकले रुचाएको बताए । दर्शक तथा श्रोताले दिएको यो मायालाई आफूले निराश नबनाउने वाचा गर्छन् उनी ।

दार्जिलिङको संगीतको बजार सानो भएकाले नेपालमै संगीतमा केही गर्ने इच्छा बोकेका यी ठिटो आफ्नो स्वरले दर्शक तथा श्रोताको मन छोएकाले पनि यति धेरै माया पाएको बताउँछन् । आफूलाई नेपालीहरुले कहिले पनि दार्जिलिङको भनेर पक्षपात नगरेको भन्दै उनले यो मायाका लागि सधै ऋणि रहेको बताए । अनलाईन खबरबाट

 

 

प्रतिकृया दिनुहोस्