OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ४, २०७६सुर्खेत
४०४ पटक

सुर्खेत, ४ पुस ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा प्रतिष्ठानका डा.निरेश थापा ल्याउने तयारी भएको छ ।
प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएका डा.थापाको कार्यसम्पादन शैलीलाई मूल्याङ्कन गर्दै यस अघि नै प्रतिष्ठानले उहाँलाई शिक्षाध्यक्ष पदमा नियुक्ति गर्ने आन्तरिक गृहकार्य अघि बढाएको थियो । निवर्तमान शिक्षाध्यक्ष डा.धर्मराज श्रेष्ठको कार्यावधि जेठ २५ गते सकिएपछि सात महीनादेखि प्रतिष्ठान हालसम्म शिक्षाध्यक्षविहिन् छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्रराज वाग्लेले उक्त पदको नियुक्तिका लागि डा.थापा प्रा.डा.भरतमणि पोखरेल र प्रा.डा.बद्री बडुलाई सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार शिक्षाध्यक्ष नियुक्तिको लागि सिफारिश गर्नुभएको थियो । प्रतिष्ठानमा नै योग्य जनशक्ति भएको र कार्यरत जनशक्तिलाई स्थान दिँदा काम गर्ने उर्जा मिल्ने भएकोले डा.थापालाई पहिलो नम्बरमा सिफारिस गरिएको उपकुलपति डा.राजेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार डा.थापा शिक्षाध्यक्षका पक्का उम्मेदवार हुनुहुन्छ । “प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को (१) बमोजिम उपकुलपतिबाट सिफारिश हुने तीन जनामा सहकुलपतिले चार वर्षीय कार्यकालका लागि एकजना शिक्षाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ,” उहाँले भन्नुभयो, “अब केही दिनभित्र सहकूलपतिले शिक्षाध्यक्ष नियुक्ति गरेसँगै प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक गतिविधि सञ्चालनमा सहजता आउनेछ ।”
विशेषगरी चिकित्सा क्षेत्रमा ठूला तथा साना दर्जनौ शल्यक्रियागरी कर्णालीको कमजोर स्वास्थ्य अवस्थामा सुधार ल्याएर कर्णालीबासीको मन जित्नुभएका उहाँलाई शिक्षाध्यक्ष बनाउन जुम्ला प्रतिष्ठान परिवारसहित सेवा क्षेत्रका नागरिक तथा जिल्लास्थित सम्पूर्ण सरोकारवालाहरुको एकमत देखिएको छ ।
प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले कर्णालीको भूगोल र यहाँका नागरिकहरुलाई सहज, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा दिएर मन जितेकोले पनि शिक्षाध्यक्षमा डा.थापाको सुनिश्चितता बढेको बताउनुभयो । “यो पदका लागि उहाँ उर्जाशील, मेहनती, लगनशील योग्य उम्मेदवार हुनुहुन्छ,” रजिष्ट्रार काफ्लेले भन्नुभयो, “कार्यरतलाई नै कामगर्ने स्थान दिए त्यसले व्यक्ति, संस्था र समाज सबैलाई हित हुन्छ ।”
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा प्रतिष्ठानका सिनेट सदस्य लालबहादुर सार्कीले प्रतिष्ठानमा रहेर कर्णालीका नागरिकहरुको स्वास्थ्यमा दिल दिएर काम गर्ने डा.थापाको जिम्मेवारी बढाउने प्रतिष्ठानको योजना प्रशंसनीय रहेको बताउनुभयो । “डा.थापा प्रतिष्ठानका संस्थापक डाक्टर जस्तै नै हुनुहुन्छ । जसको विश्वास र कामले प्रतिष्ठानको उचाई बढेको छ,” प्रमुख सार्कीले भन्नुभयो, “यहाँको स्वास्थ्य विकासमा सघाउन कर्णालीलाई माया गर्ने व्यक्तित्वलाई प्रतिष्ठानले अघि सानुपर्दछ ।”
डा.थापाको योगदानलाई मध्यनजर गर्दै उहाँलाई शिक्षाध्यक्ष बनाउन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सकरात्मक देखिनुभएको छ । कार्यरतलाई स्थान दिँदा प्रोत्साहन हुने र आर्थिक भारसमेत कम पर्ने भन्दै उहाँले काठमाडौंमा बसेर कर्णाली दोहन गर्ने संस्कार र पात्रलाई पूर्ण निरुत्साहित पार्न यहाँका नागरिकको स्वास्थ्य क्षेत्रमा जीवन समर्पण गर्ने व्यक्तिलाई सो पदमा ल्याउन जोड दिईएको बताउनुभयो ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रतिष्ठान पहल समितिका संयोजक नरेश भण्डारी र पूर्व पर्यटन राज्यमन्त्री एवं प्रतिष्ठानका सहसंयोजक बलबहादुर महतसमेत डा.थापालाई शिक्षाध्यक्ष बनाउँदा प्रतिष्ठानको विकासमा सहयोग पुग्ने बताउँदै आउनुभएको छ । जुम्लाका युवा मनोज बुढाथोकी मगरले डा.थापा योग्य र समर्पित भएकोले उहाँको शिक्षाध्यक्ष नियुक्तिले कर्णालीबासीलाई लाभ हुने तर्क गर्नुभयो ।
को हुन् डा.थापा ?
सैनामैना ६ रुपन्देही निवासी ४० वर्षीय डा.निरेश थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका एशोसियट प्रोफेसर हुनुहुन्छ । उहाँले सन् (२०१५–२०१९) चीनको उहान विश्वविद्यालयबाट गाईनोकोलोजी, अन्कोलोजीमा विद्यावारिधि गर्नुभएको छ ।
क्रिश्चियन मेडिकल कलेज भिल्लोर भारतबाट सन् २०१२–२०१४ डिस्ट्यान्स फेलोसिप इन डाइबेटिज म्यानेजमेन्ट, सन् २००९–०१२ मा त्रिभुवन विश्वविद्यालयबाट एमडीजिपी र चीनकै उहान ९ध्गजबल० विश्वविद्यालयबाट सन् २०००–२००६ मा उहाँले एमबिबिएस गर्नुभएको थियो । विसं.२०७१÷०७२ सालदेखि डा.थापा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ ।
प्रतिष्ठानमा विसं.२०७२ सालमा साविकको महावैपाथरखोला गाविसका जनकबहादुर शाहीको पेटबाट चारवटा फलामका राला (घण्टको डण्डा)को ‘मिराकल अपरेसन’ गरेपश्चात् लोकप्रिय हुनुभएका उहाँले दुर्गममा पनि जटिल खालका शल्यक्रिया हुन सक्दो रहेछ भन्ने कुराको बलियो सन्देश दिनुभएको थियो । जसले प्रतिष्ठान र स्वास्थ्य सेवालाई उचाईमा पु¥याउन मद्दत गरेको थियो ।
शाहीका साथै आङ खस्ने समस्याबाट आजित हुम्ला दार्मकी टुल्की नेपाली र जुम्ला चन्दननाथ ४ सिमखाडाकी बिष्णुकन्या उपाध्याय, सुत्केरी हुन नसकेर उच्च रक्तस्रावले करिब मृत्युको मुखमा पुगेकी रुकुमपूर्व भूमे गाउँपालिका १, लुकुमकी ४१ वर्षीया मनमाला घर्तीलाई डा.थापाले पुनर्जन्म दिनुभएको थियो ।
उहाँका राष्ट्रिय तथा अन्तराष्ट्रियगरी १५ जर्नलमा विभिन्न अध्ययन तथा अनुसन्धान सम्बन्धी लेख प्रकाशित भएका छन् । कोरियाबाट सञ्चालित जर्नल अफ गाईनाकोलोजीक अनकोलोजी जर्नलमा प्रकाशित डा.थापाको लेख अनुसार जुम्लामा एक सय महिलामा ३–४ जनालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुने देखिन्छ ।
यस्तै अन्तराष्ट्रियस्तरको विएमसि ईन्फेक्सियस डिजिज जर्नलमा प्रकाशित उहाँको लेख अनुसार पाठेघरको मुखको क्यान्सर गराउने एचपिभि भाईरस जुम्लाको महिलामा देशको अन्य ठाउँभन्दा बढी हुने गरेको देखिन्छ । अत्यन्तै महंगो मानिने एचपिभि जाँच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुसन्धानको क्रममा सम्भव गरिएको उहाँ बताउनुहुन्छ । अन्तराष्ट्रियस्तरको नेचर जस्ता जर्नलमा १३ भन्दा बढी लेख प्रकाशित भईसकेका छन् ।
कर्णालीमा बसेर सेवा गरेवापत ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड २०७५’ बाट उहाँ पुरस्कृतसमेत हुनुभएको छ । पाठेघरको मुखको क्यासर विषयमा चीनको प्रसिद्ध उहान विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको डा.थापाले अमेरिककाको हार्वर्ड विश्वविद्यालयबाट अनुसन्धानसम्बन्धी विशेष तालिमहरु लिईसक्नु भएको छ ।

प्रतिकृया दिनुहोस्