OnlinePana

आज : २०८१ पौष १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २९, २०७६ सुर्खेत
४४३ पटक

सुर्खेत, २९ मंसिर ः शुक्रबार नेपालभरिको मौसममा निकै गडबढी थियो । पहाडी र तराई भागमा पानी परिरहेको थियो । उच्च हिमाली भेकमा भने भारी हिमपातले जनजीवन निकै कष्टकर बनेको थियो । हिमपातले कतै खुशी त कतै बेखुशी देखिन्थ्यो ।
अबिरल वर्षा र हिमपात भईरहेका बेला अकस्मात त्यही दिन साँझ ६ः०० बजे चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख अप्सरा न्यौपाने (महत) कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित भाडामा बसेको घर नजिक लोपोन्मुख राउटे समुदायका दुईजना महिला थरथर काँप्दै पुगिन् । त्यो समयमा पानीसँगै हिमपात बेजोडले परिरहेको थियो ।
अधबैंसे अवस्थाका दुवै राउटे महिला दिदीहरुको बेहाल अवस्था देखेर उपप्रमुख न्यौपानेले उहाँले घरमै बोलाउनुभयो । हतपत फलामको चुलोमा आगो बालेर उनीहरुलाई आफुसँगै मुढामा बसालेर न्यानो लिन आग्रह गर्नुभयो । यद्यपि उनीहरुसँग केही संवाद गर्न खोज्दा बोलेका भाषा उपप्रमुखले बुझ्न सक्नु भएन ।
उपप्रमुख न्यौपानेले भन्नुभयो, “मैले भिजेर आएका दुवै राउटे दिदीलाई नामसहित कहाँबाट आएको भनेर सोधे तर जवाफ पाइन । मेरो भाषा उनीहरुले धेरै बुझेनन् जस्तो लाग्यो । उनीहरुको खाँम्ची (भाषा) केही मात्र बुझेपनि मैले पनि बेसी बुझ्न सकिन । कल्पना नै नगरेको लोपोन्मुख राउटे महिला निर्मम् चिसोले कठ्याङ्ग्रिको अवस्थामा भेट्दा मलाई निकै दया लागेर आयो । तुरुन्त आगो नजिक बसालेर चिया र तातोपानीसँग रोटी खान दिए ।”
उहाँले अगाडि भन्नुभयो, “मैले उनीहरुलाई हिउँ परिरहेको छ । साँझ परिसक्यो दिदी, यतै बसौ भने आग्रह गरे । उनीहरुले अपुष्ट भाषामा मुखियाले गाली गर्छन् बजार आउनु भनेका छन् भनेर जवाफ दिए । बसाल्न धेरै कोशिस गरे । जतिसुकै गरेपनि उनीहरुले बस्न मानेनन् ।” केही नलागेपछि उनीहरुलाई स्वीटर, धोतीसहितका लुगाको साथै सानो आर्थिक सहयोग पनि गरेर पठाएको उहाँले कोरपाटीलाई बताउनुभयो ।
कोरपाटीसँग कुरा गर्दै उपप्रमुख महतले भन्नुभयो,“ बेलुकाको कहाली लाग्दो अवस्थामा उनीहरु दैलेखको गुराँस गाउँपालिकामा जाने अपुष्ट कुरा गर्दै थिए । गुराँसेमा भने हिमपात भईरहेको थियो । गाडी पनि थिएन । हिडेर गुराँसे पुग्न संभावना नै थिएन । कतै यिनी दुवैजना रातको बाटोमा बलात्कारको सिकार त हुने होइनन् भन्ने कुरा मनमा खेल्दा झन् बढी पिडा भयो ।”
न उनीहरुसँग फोन थियो नत बुझिने भाषा नै ? भनेको पनि नमान्दा रहेछन् । उनीहरुको ईमान्दारिताको ढिपीले मलाई निकै अप्ठ्यारो बनायो । त्यस्तो विषम परिस्थितिमा म जस्तै तिनी दिदीहरुसँग छुट्नुपर्दा मलाई त्यो क्षण निकै अमिलो लाग्यो । मनमा कुरा खेलिरह्यो । खान नै मन लागेन । नत निन्द्रा नै लाग्यो । निर्वाध मन पिरोलिरह्यो ।
“राती ओछ्यानमा पल्टे र म आफैले आफैलाई प्रश्न गरे कि ः त्यो कालो रातमा म जस्तै मेरो राउटे दिदीहरु कहाँ गए होलान् ? कता पुगे होलान् ? कहाँ बास बसे होलान् ? के खाए होलान् ? के उनीहरुले मुखियालाई भेटे होलान् र ? के त्यो क्रुर जाडोले साँच्चिकै उनीहरुलाई न्यायो ग¥यो होला र ? किन हामी मानवबीच असमानता छ, यस्तै यस्तै कुरा खेलाउँदै भुसुक्क निदाएछु,” उहाँले भन्नुभयो ।
कठै बरा ! मसँगको भेटपछि फर्केकी राउटे दिदीहरु आफ्नो गन्तव्य पुगिन् या पुगिनन्, त्यो कहिँकतैबाट आजसम्म खबर आएको छैन । हिम वर्षासँगै कालो रातको बीचमा हिडेका उनीहरु हाम्रो सरकारी संयन्त्र नजिक पुगेको भए केही जानकारी पाउन सकिन्थ्यो होला । अहिले पनि घोत्लिएर सोच्छु, ‘कहाँ गए होलान् तिनी राउटे दिदीहरु……?’ उनीहरुको अवस्था आजको दिनसम्म पनि अज्ञात छ ।
सूचना र प्रविधिको चरम विकाससँगै आजको मानवले नयाँ संसारको खोजी गरिरहेको बेला लोपोन्मुख राउटे जातिहरुको सभ्यता, संस्कृति र स्वभावले अहिलेपनि राउटे महिलामाथिका जातिय बन्धनले पारेको प्रभाव आफ्ना लागि झनै असह्य भएको उहाँले बताउनुभयो । उनीहरुको जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याउन सबै पक्ष, तह र क्षेत्र लाग्नुपर्ने उहाँको सुझाव छ ।
उपप्रमुख न्यौपानेका अनुसार मानवबीचको जिउने असमानता हटाउन सम्बन्धित नजिकका स्थानीयसहित प्रदेश र संघीय सरकार बढी जिम्मेवार हुनुपर्छ । अर्काको घरमा नबस्ने, आफ्नै पहिरन, भाषा र संस्कृति जिउने राउटे जातिमा आएको विकृत परिवर्तनका विषयमा समेत सरकार संवेदनशील हुनुपर्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्