

११ कात्तिक २०८२, मंगलबार
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनः निर्माण कार्य सुरु गर्न निर्देशन दिनुभएको छ ।
गत भदौ २२ र २३ गते जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेशसभाको पुनः निर्माण कार्य सुरु गर्न सुझाव दिनुभएको हो । प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको भवनलाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै त्यसको पुनः निर्माण र सरसफाइ अभियान सुरु गर्नुपर्ने उहाँको भनाई थियो ।
आज सभामुख नन्दा गुरुङ र प्रदेशसभा सचिव जीवराज बुढाथोकीसँग प्रदेशसभामा भएको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले सभाको हल बाहेकका अन्य संरचनाको पुनःनिर्माण कार्य नियमित बजेटबाटै सुरु गर्न सुझाउनुभयो । उहाँले भन्नुभयो, “बजेटको अभावलाई कारण नबनाई तत्काल काम सुरु गर्नुस् । आवश्यकता अनुसार प्रदेश सरकारले थप बजेटको व्यवस्था गर्छ ।” सुरुवाती चरणमा आवश्यक आधारभूत व्यवस्थापन जस्तै प्लास्टिकका कुर्सी, सामान्य सरसफाइसहित दश दिनभित्र प्रशासनिक भवनको पुनःनिर्माण व्यवस्थापन गर्न उहाँले निर्देशन दिनुभयो ।
भाद्र २४ गतेको आन्दोलनपश्चात् करिब ५० दिन बितिसक्दा पनि प्रदेशसभा परिसरमा सरसफाइ र पुनःसंरचना सुरु नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “कर्मचारी हुनुहुन्छ तर ढलेका बोर्ड, फोहोर र क्षतिग्रस्त वस्तुहरू उठाउने काममा पनि ध्यान दिइएको छैन । यो सामान्य काम हो । अब परिस्थिति सामान्य बनाउन सबै अग्रसर हुनुपर्छ ।”
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको प्राथमिकतामा प्रदेशसभा भवनको पुनःर्निर्माण, प्रशासनिक सेवा सहज बनाउने र सभाको नियमित बैठक सञ्चालन सुनिश्चित गर्ने विषयहरु रहेको बताउनुभयो । भेटघाटमा सभामुख गुरुङ र सचिव बुढाथोकीले पनि मुख्यमन्त्रीलाई भवन पुनःर्निर्माणका लागि आवश्यक सहयोगका लागि अनुरोध गर्दै निर्माण कार्यको प्रक्रिया अघि बढाउने प्रतिबद्वता जनाउनुभएको थियो ।







