OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०७८ सुर्खेत
५७३ पटक

११ असार २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले असारे विकास संस्कृतिले मुलुकको प्रभावकारी विकास नहुने बताउनुभएको छ ।

तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने परम्पराको विकास गर्न नसकेसम्म अपेक्षित विकास हुन नसक्ने बरु प्रक्रिया पुरा गर्ने प्रवृतिको विकास हुने उहाँले जनाउनुभयो । “असारको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने विद्यमान संस्कृतिको अन्त्य गर्न सबै क्षेत्र लाग्नुपर्दछ,” मन्त्री श्रेष्ठले भन्नुभयो ।

उर्जा मन्त्रालयका सचिव, योजना महाशाखा तथा दशवटै जिल्लाका कार्यालय प्रमुखसँगको भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासको कामको गुणस्तरमा प्रश्न नउठ्नेगरी तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी आव.को बजेट समयमै कार्यान्वयन गर्नेतर्फ अहिलेदेखिनै योजना बनाउन कार्यालय प्रमुखहरुलाई उहाँले निर्देशन दिनुभएको छ । “मन्त्रालयले वितरणमुखी नभएर कार्यान्वयनमुखी बजेट ल्याएको छ,” उहाँले भन्नुभयो, “बेलैमा सम्पन्न गर्ने लक्ष्यका साथ अहिलेदेखिनै योजना बनाउन लाग्नुहोस् ।”

कर्णालीमा विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर रहेको औंल्याउनुभएका मन्त्री श्रेष्ठले बजेट अख्तियारी पाउनेबित्तिकै कार्यान्वयनतर्फ लागे असार कुर्नु नपर्ने र सबै योजना सम्पन्न हुने दावी गर्नुभयो । असारे विकास संस्कृतिलाई सच्याउँदै लैजानुपर्ने र मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने उहाँको भनाई थियो ।

भर्चुअल बैठकमा १० जिल्लाका कार्यालय प्रमुखहरुले आवश्यक प्राविधिक जनशक्ति नहुँदा काममा समस्या हुँदै आएको गुनासो राखेका थिए । उनीहरुले समयमै अख्तियारी नआउने समस्याले पनि तोकिएको समयमा काम गर्न कठिनाई हुने गरेको औंल्याएका थिए ।

प्रतिकृया दिनुहोस्