७ असार २०७८, सोमबार
‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशाला आज सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा सम्पन्न राष्ट्रिय कार्यशालामा राजनीतिक नेतृत्व, शिक्षाविद्, शैक्षिक अभियान्ता, शिक्षासँग सम्बन्धित सरोकारवालाहरुले नमूना विद्यालय निर्माणमा राष्ट्रिय बहस थालनी भएको बताएका छन् ।
नेपालको शिक्षा नीति, नमूना विद्यालयको अवधारणा, ती विद्यालयहरुले गरेका सफल अभ्यासहरु, शैक्षिक नेतृत्व, मुलुक संघीय संरचनामा गएपश्चात् तीन तहका सरकारको दायित्व, समुदायको जिम्मेवारीका बारेमा उक्त कार्यशालामा सघन बहस भयो । त्यसमा शिक्षाविद्, अभियान्ता तथा शिक्षासम्बन्धी जानकारहरुले हालसम्म घोषणा गरिएका नमूना विद्यालय सफल अभ्यास भन्दा शक्ति र पहुँचका आधारमा नमूना विद्यालय बनाउने काम भएको बताए ।
शैक्षिक अभियान्ता श्रीमन्त भट्टराईले नमूना विद्यालय निर्माणको विषयमा अवधारणपत्र समेत सार्वजनिक गर्नुभएको थियो । उहाँले देशभरमा शुरु गरिएका नमूना विद्यालयमा धेरै व्यवस्थित हुन नसकेको बताउनुभयो । अभियान्ता भट्टराईले सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक अवस्था, भौतिक पूर्वाधार, जनशक्ति, राजनीतिले पारेको प्रभावका विषयमा प्रष्टचित्र प्रस्तुत गर्नुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले कार्यपत्रमा सफल अभ्यास र तस्विरहरुले नमूना देखाउने बताउनुभयो । “मोडल भएन मात्रै होईन, मोडल के हो त ? भन्ने विषयमा निष्कर्ष निकाल्नुपर्छ,” महानिर्देशक अर्यालले भन्नुभयो, “सामुदायिक विद्यालय शिक्षण पक्रिया राम्रो छैन, नेपालका विद्यालयको काम छैनन भन्ने बुझाईमा पनि भ्रम छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले विद्यार्थीको रोजाईको विद्यालय हुनेगरी नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयको आकर्षण बढाउने र उच्च संभावना भएका विद्यालयहरुलाई रोलमोडल बनाउने योजना अगाडि सार्नुपर्ने प्रवक्ता शर्माको भनाई थियो ।
कार्यशालाको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले दुनियाँलाई व्याख्या, विश्लेषण गर्ने भन्दा बदल्ने कुरा ठूलो भएको बताउँदै स्पष्ट विचार, सोच र दृष्टिकोणसहित निष्ठापूर्वक काम गर्ने ईच्छाशक्ति नेतृत्वमा हुनुपर्ने जनाउनुभयो । शिक्षाको बहुआयमिक नमूनाका विषयमा बहस आवश्यक भएको औंल्याउनुभएका उहाँले अब शिक्षा नीतिको राष्ट्रिय दृष्टिकोण बनाउनुपर्नेमा जोड दिनुभयो ।
पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गंगाधर तुलाधरले संवैधानिक र नीतिगत व्यवस्थाका लागि गरिएका प्रयासहरुलाई पछिल्ला सरकारहरुले लागु गर्नतर्फ चासो नदिएको जिकिर गर्नुभयो । धेरै लामो प्रयासमा ल्याएको शिक्षा नीति अगाडि बढ्न नसकेको भन्दै पूर्वमन्त्री तुलाधरले अबको १० वर्षमा शिक्षामा प्राथमिकता दिए नीजि विद्यालय आफै कम हुँदै जाने जिकिर गर्नुभयो ।
नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पूर्वाधारले बनेको विद्यालय भन्दा सिकाईमा योगदान दिन सक्ने विद्यालय मात्र नमूना हुन सक्ने बताउनुभयो । “नेपालको संविधानले हामीलाई देखाएको सम्मुनत बाटो अंगाल्न नसक्दा आज शिक्षामा यस्तो खालको समस्या आएको हो,” नेता थापाले भन्नुभयो, “अहिले सामुदायिक विद्यालयको विश्वसनीयता बढाउन नमूना विद्यालयतर्फ जोड दिईएको छ ।”
‘पढ्दै, कमाउँदै’ नाराको संस्थागत गरौं
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले शिक्षा क्षेत्रको नीतिगत सुधार नै मुख्य कुरा भएको बताउनुभयो । शिक्षकहरुको क्षमता अभिवृद्धि र सिकाईमा नयाँ सोच विकास गर्नुपर्ने बताउनुभएका नेता शर्माले ‘पढ्दै, कमाउँदै’ भन्ने नारा संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो
पूर्व गृहमन्त्रीसमेत रहेका नेता शर्माले भन्नुभयो, शिक्षा क्षेत्रबाट आत्मनिर्भर नागरिक बन्ने नेपाली मोडेलको शिक्षा नीति बनाउनुपर्छ । सरकारले नमूना विद्यालय बनाए पनि व्यवहारिक विद्यालय बन्न सकेका छैनन् । तहगत रुपमा नमुना विद्यालय बनाएर लैजानुपर्नेमा नेता शर्माको सुझाव थियो ।
पूर्वसभामुख कृष्णबहादुर महराले शिक्षालाई राज्यको दायित्वभित्र लिनुपर्ने बताउनुभयो । शिक्षालाई जीवनोपयगी बनाउने उद्देश्य राखिएपनि कार्यान्वयनमा आउन नसकेकोले यसमा सरकारले जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कोरोना महामारीको चुनौतीलाई अवसरमा बदलेर वृहत् शैक्षिक बहस गर्न योगदान पुर्याएको भन्दै उहाँले आयोजक संगठनप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
राष्ट्रिय कार्यशालामा देशैभरिका नमूना विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आफ्नो विद्यालय, पालिकामा शिक्षा क्षेत्रमा भएका सफल अभ्यासहरु बारे जानकारी दिनुभएको थियो । उनीहरुले प्रस्तुतिहरुमा सिकाउने, विकाउने र टिकाउने शिक्षामा जोड दिईएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका जगत्ज्योति मावि बाँकेका शिक्षिका गणेशाय कार्कीले नमूना विद्यालयका लागि प्रधानाध्यापक, समुदाय र स्थानीय तहको विशेष योगदान हुने बताउनुभयो । यो कार्यशालाबाट शिक्षामा नयाँ विद्रोह शुरु भएको प्रतिक्रिया दिँदै शिक्षिका कार्कीले नीतिविनाको शिक्षा लगाम विनाको घोडा जस्तै हुने भएकोले सरकारले यसमा विशेष जोड दिनुपर्ने जनाउनुभयो ।
पद्मोदय मावि काठमाडौंका प्रधानाध्यापक नारायण गौतमले नमूना विद्यालयको अवधारणा, सञ्चालन, सामुदायिक विद्यालयको अवस्था र शिक्षा नीतिका बारेमा कार्यशालाले आगामी रोडम्याप तयार पार्न मार्ग प्रशस्त पारेको तर्क गर्नुभयो । नमूना घोषणा गरेर भन्दा नमूना भएका विद्यालय घोषणा गर्नुपर्ने सुझाउँदै अहिले पूर्वाधार विनाका विद्यालयहरुलाई शक्ति, पहुँच र पदका आधारमा नमूना बनाईएको टिप्पणी गर्नुभयो ।
उक्त कार्यक्रममा हाम्रो शिक्षा अर्थात् पढाईलाई प्रविधिसँग मात्र नभई संस्कारसँग अधिकतम जोड्नुपर्ने र त्यसो नभए आयतित शिक्षाले हाम्रो मौलिकतालाई विस्थापन चिन्ता व्यक्त गरिएको थियो ।
डा.चन्द्रकान्त पौडेलले २१औं शताब्दीमा शिक्षासँग सम्बन्धित चुनौतीको समाधान खोज्नुपर्ने र नेतृत्वदायी संस्थाको रुपमा नमूना विद्यालय विकास गर्नुपर्ने धारणाबाट राख्नुभयो । बेलायती नागरिक लर्ड मेकालेले निकालेका अवधारणाबाट नेपाललगायतका देशहरु औपनेवेशिक शिक्षाको शिकार भईरहेका अब आफ्नै मौलिकताको शिक्षालाई उत्पादनसँग जोड्ने शिक्षा नीति आवश्यक रहेको औंल्याउनुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष शंकर अधिकारी तीन दिनसम्म सञ्चालन भएको राष्ट्रिय कार्यशालाले श्रम, उत्पादन, सीप, बजार, आचारणसँग जोड्ने शिक्षालाई जीवनसँग जोडेर लैजाने निष्कर्षसहित ‘उत्कृष्ट विद्यालय निर्माण’को राष्ट्रिय बहस थालनी गरेको बताउनुभयो ।
“सबै क्षेत्रमा काम गर्ने नेतृत्वको आचारण र दायित्वबारे कार्यशालाले बोलेको छ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “शिक्षकहरु माउ पार्टीको झोला बोकेर राजनीतिक गर्छन भन्ने आरोपलाई समेत यो कार्यक्रमले खण्डन गरेको छ ।”
नेपाली माटो, हावापानी सुहाँउदो शिक्षामा निरन्तर लागिरहने प्रतिवद्धताका साथ डिजिटल घोषणा पत्र जारी गरिएको उहाँले जानकारी दिनुभयो । तीनसम्म सञ्चालन भएको उक्त कार्यशालामा दुई हजारको सहभागिता भएको आयोजक संगठनले बताएको छ ।