OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०७८सुर्खेत
८५८ पटक

४ असार २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सरकारका लागि सबैभन्दा ठूलो चुनौति भनेकै ‘कार्यान्वयन’ भएको बताउनुभएको छ ।

आर्थिक मामिला मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुका जिज्ञासामाथिको जवाफ दिँदै योजनामन्त्री शर्माले भन्नुभयो, “सरकारले बर्सेनि जनअपेक्षा अनुसारको सार्वभौम संसदबाट अनुमोदित नीति तथा कार्यक्रम र बजेट ल्याउँदै आएको छ यद्यपि त्यसको समुचित कार्यान्वयन हुन सकेको छैन । चालु आव.को कुल रु.३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट यस वर्षको जेठ मसान्तसम्म पनि मात्र २६ प्रतिशत बजेट खर्च भएको छ ।”

बजेट तथा योजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा लक्ष्य अनुसारको प्रगति नभएको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “पहिलो वर्ष खरिदार र सुब्बाको भरमा सरकारले चल्यो र संघीय सरकारले पनि आवश्यक जनशक्ति दिएन ।” दोस्रो र तेस्रो वर्षमा कोरोना महामारीले प्रभाव पार्यो । त्यति हुँदाहुँदै पनि कर्णाली प्रदेशको ३.७७ प्रतिशत आर्थिक वृद्धि रहेको उहाँको भनाई थियो ।

अब बजेट कार्यान्वयनका सवालमा अकस्मात आईपर्ने विपद्बाहेक जतिसक्दो छिटो अख्तियारी दिने भन्दै मन्त्री शर्माले कोरोना महामारी नियन्त्रण, कृषि कार्यक्रममार्फत रोजगारी र पूर्वाधारमा बढी जोड दिईएको बताउनुभयो । उहाँका अनुसार ‘प्रत्येक घर, स्वरोजगार’ नीति अनुरुप आगामी आवमा कर्णालीका एकलाख घरपरिवारलाई स्वरोजगार दिने योजना सरकारले बनाएको छ ।

सरकारले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना, प्रत्येक सामुदायिक विद्यालयमा नर्सिङ सेवा, पूर्णसाक्षर कर्णाली प्रदेश घोषणा, ‘एक स्थानीय तहः एक नमूना विद्यालय’को पूर्वाधार निर्माण, कोरोनाबाट ज्यान गुमाएका परिवारलाई रु.एक लाख प्रदान गर्ने गरी बजेट ल्याईएको मन्त्री शर्माले बताउनुभयो ।

सल्यान र रुकुमपश्चिमलाई राजधानी सुर्खेतसँग जोड्न कालोपत्र गर्ने, सबै गाउँपालिकालाई प्रदेशका प्रमुख शहर र जिल्ला सदरमुकाम जोड्नेगरी बजेट ल्याईएको बताउँदै उहाँले हुम्ला र डोल्पाका दुई नाका चीनसँग जोड्नेतर्फ पनि सरकार केन्द्रित रहेको जनाउनुभयो । त्यस्तै, एक जिल्ला एक आर्थिक शहरको लागि अध्ययन गरिने उहाँले बताउनुभयो ।

मन्त्री शर्माका अनुसार सडक पूर्वाधार तथा यातायात सेवा सुदृढीकरणमा रु.सात अर्ब २३ करोड, प्रत्येक घर स्वरोजगार बनाउन ब्याज अनुदानमा रु.एक अर्ब, निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमतर्फ रु.९६ करोड, खेल पूर्वाधार निर्माणमा रु.५९ करोड, कोेरोना महामारी तथा नियन्त्रणतर्फ रु.५३ करोड ५८ लाख पर्यटन पूर्वाधार कार्यक्रममा रु.२३ करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।

छाउगोठमुक्त गर्न ‘किशोरी क्लब’

प्रदेश सरकारले कर्णालीमा भएको छुवाछुत र भेदभावमुक्त समाज निर्माणको अभियान सञ्चालन गर्ने भएको छ ।

सरकारले छुईगोठ प्रथा अन्त्यका लागि ‘किशोरी क्लब’ गठन गर्ने र जातिय तथा लैङ्गिक विभेद हटाउन वडाध्यक्षको संयोजकत्वमा साँस्कृतिक एवं सामाजिक रुपान्तरणका कार्यक्रम सञ्चालन गर्ने योजनाका साथ नीति तथा कार्यक्रम र बजेट ल्याएको आर्थिक मामिलामन्त्री शर्माले बताउनुभयो । यस क्रममा सरकारले घरवारविहिन सम्पूर्ण बादी तथा गाईने समुदायको घर निर्माण, लोपोन्मुख तथा सीमान्तकृत समुदायको आयआर्जन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्