

२२ जेठ २०७८, शनिबार
जनता सामाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री भएलगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने भनि दिएको अभिव्यक्ति अहिले विवादमा तानिएको छ । महतोको उक्त अभिव्यक्तिप्रति विभिन्न दलका नेता र जनस्तरबाट समेत विरोध हुँदै आएको छ । यस क्रममा एमालेका पूर्वप्रधानमन्त्री तथा एमाले पूर्व महासचिव माधव कुमार नेपालसहितका १५ नेताले पनि चर्को विरोध गरेका छन् ।
आज एमालेका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको प्रति आपत्ति जनाएका छन् ।व संयुक्त वक्तव्यमा भनिएको छ, ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने विषयलाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।’