OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २७, २०७८सुर्खेत
१३६४ पटक

२७, बैशाख २०७८, सोमबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समयमा चोरीका घटनामा ७५ प्रतिशत कमी आएको बताएको छ ।

अपराध नियन्त्रण कार्य योजना बनाउनुपूर्व कार्तिक मंसिर र पुस महिनामा ३६ चोरीका घटना व्यहोरेको प्रहरीले कार्य योजना बनाएर कार्यान्वयनमा गएपछि माघ, फागुन र चैतमा नौ वटामा झारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“कार्तिक, मंसिर र पुसमा ३६ चोरीका घटना घटेका थिए,” प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “कार्य योजना बनाएर कार्यान्वयनमा गएपछि चोरीका घटना माघ, फागुन र चैतमा नौ वटामा झारिएको छ ।” कार्य योजनाको प्रभावकारी कार्यान्वयनले चोरी घटनामा ७५ प्रतिशत कमी ल्याएको उहाँले बताउनुभयो । उहाँले दोस्रो चरणको लकडाउन कार्यान्वयन भएसँगै वीरेन्द्रनगरका घर तथा पसलहरु बन्द गरी धनीहरु आ–आफ्नो नीजि निवासतिर गएकोले चोरीका घट्नाहरु बढेको पाईएको भन्दै सुर्खेतवासीलाई आफ्नो महत्वपूर्ण मूल्यवान गरगहना र सम्पति सुरक्षामा राख्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले जनाउनुभयो ।

यता प्रहरी निरीक्षक कनक शाहीले कार्यजना निर्माण गरी त्यसलाई कार्यान्वयन गर्ने क्रममा चोरीका घटना ह्वात्तै घटेको जनाउनुभयो । उहाँले कार्ययोजना कार्यान्वयनको चरणमा भए गरेका सुरक्षा र अनुसन्धान क्रियाकलाप अन्तरगत सादा पोशाकमा अनुगमन निरीक्षण गर्दा ३५ जना जनशक्ति परिचालन गरिएको जनाउनुभयो ।

प्रहरी निरीक्षक शाहीका अनुसार रातको समयमा शंकास्पद तरिकाले हिडडुल गरिरहेको ७९ जना व्यक्तिहरुलाई सोधपुछ गरिएको र त्यस मध्ये १२ जनालाई दसी प्रमाणका आधारमा सामानसहित चोरी महलअन्तरगत मुद्दा चलाईएको छ । चोरीएका विभिन्न मोबाईल, ल्याबटप,साईकल र अन्य महत्वपूर्ण सामाग्रीहरु फेला पारी सम्बन्धित २० जना व्यक्तिको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतले बैशाख महिनाको तीन सातामा लागु औषधका सातवटा घटना घटना दर्ता गरेको छ । जसमा प्रहरीले लागु औषध ब्राउन सुगरसहित ११ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा समेत खटिएको सुर्खेत प्रहरीले १३.५ ग्राम लागु औषधसहित ११ जनालाई पक्राउ गरेको हो । लागु औषधमा संलग्न पाँचजना भने फरार रहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक घर्तीले जनाउनुभयो ।

पक्राउ पर्नेहरुमा सुर्खेतका एक महिलासहित आठ, दैलेखको दुई पुरुष र कालीकोटको एक महिला रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । उहाँका अनुसार लागु औषधका पाँचजना अभियुक्तको खोजी कार्य भईरहेको र पक्राउ परेकाहरुको अनुसन्धान थालिएको छ ।

प्रतिकृया दिनुहोस्