OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १८, २०७७काठमाडौं
९२३ पटक

 १८ चैत २०७७, बुधबार

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि ‘हाम्रो चासो र अबको बाटो’ के हुने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको छ ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ‘अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनस्र्थापना सेवामा पहुँच अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा आज वीरेन्द्रनगर सुर्खेतमा प्रदेशसभा सदस्यहरुलगायत अन्य सरोकारवालाहरु माझ अपाङ्गता अधिकार विषयमा छलफल भएको हो ।

अन्तरक्रियामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले मुलुकमा अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक, आर्थिक, साँस्कृति र स्वास्थ्य अधिकार अवस्था र तथ्याङ्कीय कार्यपत्र प्रस्तुत गर्नुभयो । जनगणना २०६८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या पाँच लाख १३ हजार २३९ जनसंख्या (१.९४ प्रतिशत) र त्यसमा दुई लाख ५० हजार ५९८ जनाले मात्र परिचय पत्र पाएको बताउनुभयो ।

उक्त तथ्याङ्क सार्वजनिक गर्दै उहाँले भन्नुभयो, “मुलुकमा ७० देखि ९० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु सेवाको पहुँचमा छैनन् । केवल आठ जनामा एक जनाले मात्र सहायक सामग्री प्राप्त गरेका छन् । रोग बिरामबाट ३८.३, जन्मजात ३३.६, खसेर १०.५ र दुर्घटनाबाट ८.३ प्रतिशत व्यक्ति अपाङ्गता छन् ।” गर्भवती हुँदाका बखत हरेक आमाको पूर्णरुपले स्वास्थ्यमा ध्यान दिन सकियो भने ५० प्रतिशत अपांगता घट्ने उहाँको दावी थियो ।

सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले तथ्याङ्क उल्लेखित निर्वाचन, सूचना तथा सञ्चार, आर्थिक एवं सामाजिक र परिवारिक निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरुको न्यून सहभागिता, पुरुषको तुलनामा अँझ बढी महिला अपाङ्गताको संलग्नता कम, पहुँचयुक्त एवं मैत्रीपूर्ण व्यवहारको कमी रहेको जस्ता समस्याको समाधानमा चासो देखाएर सोही अनुसारको बाटो तय गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि दोभाषेको व्यवस्थापनका लागि सरकारलाई निर्देशन दिने जनाउनुभयो । अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्यहरु सीता नेपाली, कृष्णा शाह, झोवा विक, मिनासिंह रखाल, पद्मा खड्का, सोशिला शाही, पदमबहादुर रोकाय, राजु नेपाली र अमृता शाही अपाङ्गता भएका व्यक्तिहरुलाई तीन तहका सरकारहरुको समन्वय, सहकार्यमा पहुँचयुक्त सेवाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले अपाङ्गताको बुझाईमा ७९ पालिका र अपाङ्गताका १० प्रकार र गम्भीरताका आधारमा ४ प्रकारको छ भन्ने कुरा सचेतना कार्यक्रम आवश्यक रहेको बताउनुभयो । जन्मेदेखि मर्ने बेलासम्म कुनै न कुनै बेला हामीमा अपाङ्गता आउने भन्दै उहाँले पहुँचयुक्तता सम्बन्धी सर्वव्यापी सिद्धान्त अनुरुप सेवा दिने नीति तथा कार्यक्रमहरु सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्