OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १५, २०७७काठमाडौं
१४९८ पटक

काठमाडौं। किसान र माझीहरुलाई बाँधेर उनीहरुको घाँटी रेटेर मारिएको डरलाग्दो आतंकवादी घटना सार्वजनिक भएको छ । अफ्रिकी देश नाइजेरीयामा बोको हराम सम्बद्ध आतंकवादीहरुले कम्तीमा ११० जना किसान र माझीहरुलाई मारेका हुन् । नाइजेरीयाका बोर्नो राज्यमा ती सर्वसाधारणलाई बाँधेर उनीहरुको घाँटी रेटिएको थियो । डेलीमेलको रिपोर्टअनुसार यो क्रुर घटना बोको हरामले गरेको मानिएको छ तर उनीहरुले अहिलेसम्म यसको जिम्मेवारी लिएका भने छैनन् । गाउँलेहरुले आइतबार मृतकको शव सामूहिक रुपमा गाडेका छन् ।

‘कम्तीमा १ सय १० जना सर्वसाधारणलाई निर्दयतापूर्वक मारिएको छ र आक्रमणमा अन्य कैयौं घाइते भएका छन्’ नाइजेरियाका लागि संयुक्त राष्ट्रसंघका मानवीय संयोजक एडवार्ड कालोनले एक वक्तव्यमा भनेका छन् । प्रारम्भिक रुपमा ४३ जना मारिएको पाइएको थियो । पछि शनिबारको नरसंहारमा अन्य ७० जना मारिएको पाइएको छ । ‘यो घटना निर्दोष सर्वसाधारणमाथि यस वर्ष भएको सबैभन्दा क्रुर घटना हो’ कालोनले भनेका छन् ।

बोर्नो राज्यको राजधानी माइदुगुरी नजिकै कोशोबे गाउँमा यो क्रुर घटना केन्द्रित रहेको रिपोर्टमा जनाइएको छ । हत्याराहरुले धान खेतमा काम गरिरहेका किसानहरुलाई लक्ष्य बनाएको र उनीहरुलाई बाँधेर उनीहरुको घाँटी रेटेको बताइएको छ । आतंकवादीहरु हतियार बोकेर मोटरसाइकलमा आएका थिए । बोर्नो राज्यका गभर्नर बाबागनन उमरा जुलुम आइतबार भएको अन्त्येष्टिमा सहभागी भएका थिए । उनले खोजी अभियानका क्रममा अन्य लाशहरु पनि फेला पर्ने बताएका छन् ।

मारिनेहरुमा दर्जनौंको संख्यामा नाइजेरियाको सोकोतो राज्यबाट मजदूरीका लागि करिब १ हजार किलोमिटर टाढा आएका दर्जनौं मजदूरहरु भएको बताइएको छ । आक्रमणमा ६ जना घाइते भएका छन् र ८ जना बेपत्ता छन् । कालोनका अनुसार कैयौं महिलाहरु अपहरित भएका छन् । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले यो आक्रमणको निन्दा गर्दै यो हत्याले सिंगो देश आहत भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्